७ जेष्ठ २०८१, सोमबार

 

बागलुङमा सुरक्षा रणनीति तयार

बागलुङ – चुनावलाई स्वच्छ र भयरहित बनाउन यहाँ सुरक्षा प्रबन्ध चुस्त पारिएको छ । मतदान केन्द्रलाई अति संवेदनशील, संवेदनशील र सामान्यमा वर्गीकरण गरी जिल्ला सुरक्षा समितिले सुरक्षा रणनीति तयार पारेको छ ।

विगतका घटनाको विश्लेषण, मतदाता संख्या, भौगोलिक अवस्थिति, मतदान केन्द्रको दुरी र राजनीतिक शक्ति सन्तुलनलाई हेरेर मतदान केन्द्रको वर्गीकरण गरिएको हो । समितिका सदस्य एवं जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीले मतदान केन्द्रको भित्रि सुरक्षामा जनपद र म्यादी प्रहरी खटिने बताउनुभयो ।

बाहिरी सुरक्षा घेरामा भने सशत्र प्रहरी र नेपाली सेना रहने उहाँको भनाइ छ । “जिल्लाभर गरी झण्डै एक हजार जति म्यादी र सात सय बढी नेपाल प्रहरी सुरक्षामा खटिँदैछन्, शनिबारसम्ममा सुरक्षाकर्मी मतदान केन्द्रमा पुगिसक्छन्”, उहाँले भन्नुभयो ।

सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी आठदेखि २२ जनासम्म सुरक्षाकर्मी एउटा मतदान केन्द्रमा परिचालन गरिने जनाइएको छ । समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी रमेश ढकालसहित सुरक्षा निकायका पदाधिकारीले सबै मतदान केन्द्रको स्थगलत अध्ययन गरेपछि चुनावी सुरक्षा योजना बनाइएको बताउनुभयो ।

अहिलेसम्म दलका चुनावी अभियान शान्तिपूर्ण रहेको र चुनाव विरोधी गतिविधि कतैपनि नदेखिएको प्रहरी उपरीक्षक ज्ञवालीले उल्लेख गर्नुभयो । “केही दलले चुनाव बहिष्कार गर्ने निर्णय गरेको सुनिएपनि बागलुङमा त्यस्तो कुनै प्रभाव देखिएको छैन”, उहाँले भन्नुभयो ।

सुरक्षा प्रबन्ध सृदढ पारिएकाले निर्धक्कसँग मतदान केन्द्रमा पुगी आफ्नो मताधिकार प्रयोग गर्न जिल्ला निर्वाचन कार्यालयले सबै मतदातालाई आग्रह गरेको छ ।

जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले मतदान केन्द्र केन्द्रित तयारी सुरु भएको बताउनुभयो । उहाँका अनुसार मतपत्रसहित चुनावमा प्रयोग हुने ५९ प्रकारका सामग्रीहरु जिल्लामा आइसकेका छन् ।

मतदान अधिकृतसहित जनशक्तिको व्यवस्थापन, खटनपटनलगायत चुनावको व्यवस्थापकीय काममा आफूहरु लागिपरेको रिजालको भनाइ छ । जिल्लामा एक सय तीन मतदानस्थल र दुई सय ३० मतदान केन्द्र छन् ।

एक लाख ९३ हजार ६२५ मतदाता छन् । जसमध्ये महिला ९९ हजार ७२८ र पुरुष ९३ हजार ८९७ छन् । आठ दिनपछि स्थानीय तह चुनावको मतदान छ । दल र तिनका उम्मेदवारलाई चुनावी प्रचारमा भ्यानभ्याइ छ । मतदानको दिन नजिकिँदै गर्दा चुनावी माहोल थप गर्माएको छ ।

प्रतिक्रिया दिनुहोस्