२८ बैशाख २०८१, शुक्रबार

 

आइएमई समूहले लियो ‘होटल ले हिमालयन’, हस्पिटालिटी क्षेत्रमा तेस्रो पाइला

काठमाडौं । उदाउँदो व्यावसायिक घराना आइएमई समूहले ‘होटेल ले हिमालय’ लिएको छ । आइएमई समूहले समालेको यो तेस्रो होटेल हो ।

चन्द्रागिरी हिल्स रिसोर्टबाट हस्पिटालिटी विजनेशमा हात हालेको आइएमई समूहले ६ महिनाअघि मात्र पोखरामा लेकसाइड रिट्रिट रिसोर्ट सञ्चालनमा ल्याएको थियो । कोरोना महामारीले थलिएको पर्यटन क्षेत्र विस्तारै लयमा फर्कदैँ गर्दा आइएमई समूहले चलिरहेको होटल लिएर सञ्चालन गरेको हो ।

स्वदेशी र विदेशी सबै पर्यटकलाई लक्षित गरी यो होटल सञ्चालनमा ल्याएको बेस्ट रिजोर्ट नेपाल हस्पिटालिटिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अभिषेक विक्रम शाहले जानकारी दिए ।

उनले ग्राहकहरुलाई सुलभ मूल्यमा फाइभ स्टार होटलको जस्तो सेवा दिइरहेको बताए । ‘आनन्दले घुम्ने योजनाका साथ काठमाडौं आएका आन्तरिक तथा बाह्य पर्यटकहरुलाई होटल ले हिमालयले सस्तोमा फाइभ स्टार होटलको जस्तै उच्च स्तरको सेवा दिन्छ,’ सीईओ शाहले भने ।

सीईओ शाहले सहरी क्षेत्रमा तत्काल सेवा विस्तार गर्ने लक्ष्यका साथ काठमाडौंको केन्द्र विन्दु लाजिम्पाटमा रहेको होटेल लिएको बताए ।’लाजिम्पाट व्यवसायिक हिसावले निकै महत्वपूर्ण स्थान हो, धेरै देशका दूतावासहरु यस क्षेत्रमा छन् , ठूला कर्पोरेट हाउसहरु यसै क्षेत्रमा केन्द्रीत छन्, विदेशी पर्यटकको लागि पनि यो सजिलो गन्तव्य हो’ उनले भने ।

होटल ले हिमालय थ्री स्टार क्याटागोरीको होटल हो । होटल ले हिमालयमा ५० वटा कोठाहरु छन् । एउटा कन्फ्रेन्स (सभा) हल रहेको छ । सभा हलको क्षमता १५० जना भन्दा बढी रहेको छ । साथै, होटल भित्रै एउटा रेष्टुरेण्ट एण्ड बार छ । उक्त होटलमा कर्पोरेट हाउसहरुको लागि भनेर एउटा बोर्ड रुम बनाइएको छ । होटलमा रुफ टप रेष्टुरेन्ट थप्न लागिएको शाहले जानकारी दिए ।

होटल सहरको केन्द्रीय भागमा रहेकोले र प्रयाप्त पार्किङ व्यवस्था रहेको उनले बताए । व्यवसायिक भेटघाट, बैठक, सेमिनार, तालिम, गोष्ठि, पार्टी आयोजना गर्नको लागि होटल ले हिमालय असाध्यै उपयोगि रहेको उनले बताए ।

‘घरमा पाहुना आयो भने खुसी हुने हाम्रो संस्कार हो, हामी ‘अथिति देवो भवः’ भन्छौं, यसलाई आत्मसात गरेका छौं,’ उनले भने, ‘हामी उत्कृष्ट स्वादका परिकारसहित उत्कृष्ट सेवा दिनेछौं ।’ ग्राहकले अफोर्डएवल मूल्यमा फाइभ स्टार होटलको जस्तो सुविधा उपभोग गर्न पाउने उनको दावी छ ।

आइएमई ग्रुपले सञ्चालनमा ल्याएका धेरै जस्तो सेवाहरु आईएमई ब्राण्डमा छन् । तर, होटल क्षेत्रमा भने आइएमई समूहको ब्राण्ड प्रयोग गरिएको छैन । आइएमई समूहको नामबाट नै होटलहरुको नामाकरण गर्नेबारे निर्णय हुन सक्ने शाहले बताए ।

‘एउटा ब्राण्ड त बनाउनै पर्छ, एउटा स्ट्याण्डर्डमा चल्नै पर्छ, यसबारे हामीले गृहकार्य गरिरहेको छौं,’ उनले भने, ‘हामी होटल क्षेत्रमा नेपाली ब्राण्ड सिर्जना गर्न चाहान्छौं, तर नाम अहिले नै फाइनल भएको छैन ।’

विकास न्युजबाट

प्रतिक्रिया दिनुहोस्