५ जेष्ठ २०८१, शनिबार

 

श्रीमेहर गणको निःशुल्क स्वास्थ्य शिविरबाट नागरिक लाभान्वित

श्रीमेहर गण घोडाबाँधेले काठेखोला गाउँपालिका वडा नं को त्रिपुरेश्वर महादेव मन्दिरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।मन्दिर परिसरमा आयोजित ७ दिने बिहुँकोट धार्मिक महोत्सवको अवसरमा बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको नेपाली सेनाको श्रीमेहर गण बागलुङका गणपति देवभक्त माडी श्रेष्ठले जानकारी दिनुभयो ।

बागलुङ सँगै छिमेकी जिल्लाबाट महोत्सव अवलोकन गर्न आएका श्रद्वालु भक्तजनहरुलाई लक्षित गरि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको श्रेष्ठले बताउनु भयो ।

शिविर मार्फत भौगोलिक विकटता अनि स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्येश्यले निःशुल्क स्वास्थ्य उपचार तथा औषधी वितरण गरिएको थियो ।

शिविरमा सामान्य प्रकृतिका २ सय ५८ जना पुरुष, ३ सय ५३ जना महिला, ९८ जना बालबालिका अन्य जटिल प्रकृतिका रोगका विरामीहरु गरी ७ सय ९ जना विरामीहरु लाभान्वित भएको बताईएको छ ।
केहि गम्भीर प्रकृतिका विरामीहरुलाई भनें थप उपचारको लागि रिफर समेत गरिएको थियो । महोत्सव स्थलमा श्रीमेहर गणद्धारा हेलिप्याड निर्माण लगायत अन्य व्यवस्थापकीय कार्यमा सहजीकरण गरिएको थियो ।

श्रीमेहर गणद्धारा आयोजना गरिएको उक्त निःशुल्क स्वास्थ्य शिविरमा डाक्टर अधिकृत सहितको श्री नम्वर २३ फिल्ड एम्वुलेन्स गुल्म, काठेखोला गाउँपालिका स्वास्थ्य शाखा, बागलुङ नगरपालिकाले समन्वय र सहकार्य गरेको थियो ।

नेपाली सेनाको यस प्रकारको कार्यले आम नागरिक माझ नेपाली सेनाप्रति सकारात्मक सन्देश प्रवाह भई समग्रमा नागरिक र सैनिक बिचको सम्वन्ध थप प्रगाढ बनाउन टेवा पुग्ने विश्वास लिईएको छ ।

प्रतिक्रिया दिनुहोस्