१६ बैशाख २०८१, आईतवार

 

दीपिकाले लगाएको बिकिनीको रङ्गका कारण पठान चलचित्र विवादमा

बलिवूड स्टारहरूले अभिनय गरेको एउटा नयाँ चलचित्रमा कलाकारले लगाएको कपडा र त्यसको रङ्गका कारण भारतमा राजनीतिक तरङ्ग उत्पन्न भएको छ।सामाजिक सञ्जालमा “बहिष्कार पठान” ट्रेन्डिङ भइरहेको छ।

शाहरुख खान र दीपिका पादुकोणको मुख्य अभिनय रहेको ‘पठान’ ज्यानुअरीबाट प्रदर्शनमा आउन लागेको चलचित्र हो।गत साता उक्त चलचित्रको एउटा गीत “बेसरम रङ्ग” सार्वजनिक भएसँगै विवाद सुरु भएको हो।आधिकारिक युट्युब च्यानलमा मात्रै सोमवारसम्म ८ करोड ३० लाखले यो गीतको भिडिओ हेरिसकेका छन् भने यसका नक्कल प्रतिहरू पनि सामाजिक सञ्जालमा पाइन्छन्।

विवादको कारण

यो गीत विवादमा ल्याउने एक व्यक्ति भारतको हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टीका नेता नरोत्तम मिश्र पनि हुन्।”बेसरम रङ्ग भन्ने गीतको आशय आपत्तिजनक छ,” मध्य प्रदेशका गृहमन्त्रीसमेत रहेका मिश्रले बुधवार भनेका छन्।

“यो गीत….प्रदूषित मानसिकताले बनाइएको छ, यसमा नायक र नायिकाले आपत्तिजनक तरिकाले हरियो र गेरुवस्त्र लगाएका छन्।”हरियो मुस्लिम समुदायमाझ महत्त्वपूर्ण रङ्ग हो। गेरु हिन्दू संस्कारमा पवित्र रङ्ग मानिन्छ।

कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले वास्तविक रूपमा साहरुखले कालो सर्ट र दीपिकाले सुन्तले रङ्गको कपडा लगाएको दाबी गरे पनि यसले मानिसहरूलाई शान्त पार्न सकेको छैन।हिन्दूवादी समूहले कहिलेकहीँ मुस्लिम युवाले हिन्दू युवतीलाई बाध्यतामा पारेर धर्म परिवर्तन गराउने गरेको आरोप लगाउँदै आएका छन्।

पठान चलचित्रमा पनि नायक वास्तविक जीवनमा पनि मुस्लिम र नायिका हिन्दू हुन्।महाराष्ट्रका अर्का भाजपा नेताले पनि यो चलचित्रको आलोचना गरेका छन्।

निशानामा कलाकार

शाहरुख खान र दीपिका विवादमा आएको यो पहिलो पटक चाहिँ होइन।दीपिका यसअघिका चलचित्रहरूमा पनि बिकिनीमा देखिएकी छिन् र कतिपयमा अन्तरङ्ग दृश्यहरूमा पनि अभिनय गरेकी छिन्।प्राय: गरी परिवारसँग बसेर हेरिने भएकाले मूलधारका बलिवूड चलचित्रहरूमा नाङ्गोपनालाई सकेसम्म स्थान दिइँदैन।

दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयमा आन्दोलनरत विद्यार्थीलाई भेटेपछि दीपिका तिरस्कारको सिकार भएको थिइन्।उक्त विश्वविद्यालयका विद्यार्थीहरू भारतका छिमेकी देशहरूबाट शरण खोज्ने मुस्लिमहरूलाई शरण पाउन कठिन बनाउने केन्द्र सरकारको निर्णयविरुद्ध आन्दोलन गरिरहेका थिए।

जेएनयूमा दीपिका

त्यसअघि पनि उनले अभिनय गरेका पद्मावत र बाजिराओ मस्तानीले राजस्थान र महाराष्ट्रको संवेदनशीलतालाई अपमानित गरेको भन्दै दीपिकाको आलोचना भएको थियोएउटा सानो समूहले उनको नाक काटिदिने धम्की समेत दिएको थियो।

धेरै मुस्लिम भए पनि भारतका पुरातनवादी मुस्लिम संस्थाहरू भारतीय सिनेमामा मुस्लिम मूलका कलाकारहरूको सफलतालाई लिएर खासै उत्साह मनाउँदैनन्।उनीहरू मनोरञ्जन उद्योगलाई आफ्नो विश्वास र प्रणालीसँग अमिल्दो देख्छन्।

अहिले एउटा मुस्लिम धार्मिक इकाई पनि शाहरुख खानको विरोधमा उत्रिएको छ।”पठानहरू सबैभन्दा बढी सम्मानित मुस्लिम समुदाय हुन्,” मध्य प्रदेश उलेमा बोर्डका सभापति शैय्यद अनस अलीले भने।”पठानहरूमात्रै नभएर सम्पूर्ण मुस्लिम समुदाय यो चलचित्रमा अपमानित भएको छ। महिलालाई अश्लील रूपमा प्रदर्शित गरिएको छ र पठानहरूलाई गलत रूपमा चित्रित गरिएको छ,” उनले भने।

उनी मध्यप्रदेशमा यो चलचित्र प्रदर्शन गर्न नहुने पक्षमा छन्।दीपिका र शाहरुखका समर्थकहरू उनीहरूको आलोचनामा उत्रिएका छन्।

धेरै समर्थक भएका कलाकार

धेरै व्यावसायिक चलचित्रहरूमा अभिनय गरेका शाहरुख खानका दक्षिण एशियामा धेरै समर्थकहरू छन्।भारतको विपक्षी कङ्ग्रेस पार्टीको दशकौँसम्म नेतृत्व गरेको गान्धी परिवारसँगको मित्रताबारे उनी पारदर्शी छन्।

दीपिका र शाहरुखयद्यपि उनले निर्वाचनताका कुनै पनि दललाई समर्थन गरेका छैनन्।उनी विवादित राजनीतिक विषयमा पनि बोल्न रुचाउँदैनन्।यो चलचित्रको प्रवर्द्धन सुरु गर्नुअघि हिन्दू महिलासँग विवाह गरेका शाहरुख मक्काको तीर्थयात्रामा गएका थिए।उनले जम्बू-कश्मीरस्थित प्रसिद्ध हिन्दू मन्दिरको पनि दर्शन गरे।

यसअघिका विवाद

शाहरुख पनि विवादरहित अभिनेता चाहिँ होइनन्।कोलकत्तामा बिहीवार २८ औँ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको उद्घाटनमा शाहरुखले “सामाजिक सञ्जालमा सानो चित्त गरेका र नकारात्मक सोच लिएका मानिसहरू हाबी भएको” बताए।तर त्यही मञ्चमा रहेका ८० वर्षे बलिवूड अभिनेता अमिताभ बच्चनले त्यसमा असहमति जनाएपछि यो विषयले समेत राजनीतिक रङ्ग पाएको छ।

सेन्सरसिपको धम्की

यसअघि राजनीतिज्ञहरूले सेन्सरसिपको हतियार प्रयोग गरेर चलचित्रका दृश्यहरू परिवर्तन गर्न लगाएका छन्।कतिपय अवस्थामा चलचित्रका वितरकहरूलाई चलचित्र नै नकिन्न दबाब दिने गरिएको छ।

दीपिका र शाहरुख

धेरैजसो अवस्थामा भने चलचित्र निर्माताहरूले विरोध मत्थर बनाउन निश्चित दृश्यहरू परिवर्तन पनि गर्ने गरेका छन्।सत्तारुढ भाजपाको आलोचना गरेपछि भारतमा अत्यन्तै प्रशंसित नायक आमिर खान अभिनित एउटा चलचित्र गुजरातमा प्रदर्शन गरिएको थिएन।

धेरै क्षेत्रीय भारतीय कलाकारहरूले राजनीतिक महत्त्वाकाङ्क्षा पालेर चलचित्रहरूलाई सन्देश फैलाउने माध्यमको रूपमा समेत प्रयोग गर्ने गरेका छन्।कतिपयले सरकारसँग नजिक हुने माध्यमको रूपमा चलचित्रलाई प्रयोग गर्ने गरेका छन्।

यसअघि कश्मीरका हिन्दूहरूबारेको ‘कश्मीर फाइल्स’ नाम गरेको चलचित्र धेरै भाजपा नेताहरूले प्रवर्द्धन गरेका थिए र कतिपय राज्यमा कर छुट समेत भएको थियो।कतिपय बलिवूड अभिनेताहरू पछिल्लो समय राजनीतिमा समेत प्रवेश गरेका छन्।

बीबीसीनेपालीबाट

प्रतिक्रिया दिनुहोस्