५ जेष्ठ २०८१, शनिबार

 

स्वास्थ्य सहकारी संघ बागलुङको अध्यक्षमा पुनः शर्मा चयन

बागलुङ । जिल्ला स्वास्थ्य सहकारी संघ लिमिटेड बागलुङको छैठौ वार्षिक साधारण सभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । पौष २१ गतेबाट सुरु भएको छैठौ वार्षिक साधारणसभाले शुक्रबार सीता शर्मालाई पुनः अध्यक्षतामा चयन गरेको छ ।

समितिको उपाध्यक्षमा नरप्रसाद शर्मा रिजाल,सचिवमा सीता सापकोटा, सहसचिवमा श्रीकृष्ण पौडेल, कोषाध्यक्षमा शालिकराम सापकोटा रहनु भएको छ । समितिको सदस्यमा चन्द्रराज रेग्मी चयन हुनु भएको छ ।

त्यस्तै गणेश केसी संयोजक रेजिना भण्डारी र सरस्वती कँडेल सदस्य रहेको लेखा समिति चयन गरिएको छ । समितिको सल्लाहकारमा डा राम बहादुर केसी र मुक्तिराम सापकोटा चयन हुनु भएको निर्वाचन समितिका संयोजक विर बहादुर किसानले जानकारी दिनु भयो ।

छैठौ वार्षिक साधारण सभा तथा स्वास्थ्य अभिमुखिकरण कार्यक्रममा बोल्दै बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले सुबिधा सम्पन्न स्वास्थ्य संस्था र गुणस्तरीय शिक्षाको निम्ति मानिसहरु बसाइँ सराइ गर्ने गरेको भन्दै प्रत्यक पालिकामा सुबिधा सम्पन्न अस्पताल र गाउँ गाउँमा गुणस्तरीय शिक्षाको विकास गर्नुपर्नेमा जोड दिनु भयो । गरिवीको कारण पछि परेको समुदायलाई आत्मनिर्भर बनाउन सहकारी उपयुक्त माध्यम रहेको बताउनु भयो ।

कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड नेफ्स्कूनका संचालक चण्डि प्रसाद शर्मा पौडेल, जिल्ला सहकारी संघ बागलुङका सचिव तेज प्रसाद शर्मा, निर्वाचन समितिका संयोजक तथा सिवाइसी नेपालका सचिव विर बहादुर किसान लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

साधारण सभाको अवसरमा सम्पन्न भएको स्वास्थ्य अभिमुखिकरण कार्यक्रममा सहजिकरण गर्दै डा राम बहादुर केसीले पछिल्ला केही वर्ष यता नेपालमा परम्परागत सरुवा रोगहरूबाट भन्दा नसर्ने प्रकृतिका रोगबाट प्रभावितहरूको संख्या वढेकाले जनस्वास्थ्य प्रणालीलाई नै चुनौती दिंदै गएको बताउनु भयो । रहनसहन र जीवनशैलीमा आएका परिवर्तन, प्रकृतिको दोहन जस्ता कारणले नसर्ने रोगको संख्या बढिरहेको केसीको भनाई छ ।

नसर्ने रोगको मुख्य कारण बदलिंदो खानपान र आधुनिक जीवनशैली रहेको भन्दै स्वास्थ्य प्रति सचेत रहन आग्रह गर्नु भयो । अहिले श्वासप्रश्वास, मुटु, उच्च रक्तचाप, मधुमेह, क्यान्सर तथा मिर्गौला रोगहरू प्रमुख कारण बन्न पुग्नु चिन्ताको विषय बनेको केसीले बताउनु भयो ।कार्यक्रम संघका अध्यक्ष सीता शर्माको अध्यक्षता, उपाध्यक्ष नरप्रसाद शर्मा रिजालको स्वागत र सिता देवी सापकोटा कँडेलको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्