३ श्रावण २०८३, आईतवार

 

विश्व चर्चित प्रेम प्रसंगहरु

एन्टोनी र क्लियोपेट्रा

इसापूर्वको अन्तिम शताब्दीको यो प्रेमजोडी समर्पणको उच्च नमुना मानिन्छ। इजिप्टकी रानी क्लियोपेट्रा निकै सुन्दरी महिला मात्र थिइनन्, उनको व्यक्तित्व पनि निकै प्रभावशाली थियो, जसबाट मै हुँ भन्ने पुरुषसमेत कायल हुन्थे।

उनी पहिले रोमका राजा जुलियस सिजरकी प्रेमिका थिइन् तर इसापूर्व ४४ मा सिजरको हत्या भएपछि उनको प्रेमकथाले रोचक मोड लियो। सिजरको हत्यापछि रोममा मार्क एन्टोनी नामका व्यक्ति सत्तामा हावी भए।

एन्टोनीले इसापूर्व ४१ मा इजिप्टकी रानी क्लियोपेट्रालाई भ्रमणका लागि आमन्त्रण गरे। आखिर क्लियोपेट्राको त्यही राजकीय भ्रमणका बेला एन्टोनीसँग प्रेम बस्यो। एन्टोनी प्रेममा यति पागल भए कि उनी सत्ता छाडेर क्लियोपेट्राको पछि लागेर इजिप्ट आए।

एन्टोनीले यसअघि नै अक्टाभियनकी बहिनीसँग विवाह गरिसकेका थिए। बहिनी ज्वाइँ अर्कै केटीसँग भागेको देखेपछि अक्टाभियन आगो भए र इजिप्टमा रहेका एन्टोनी र क्लियोपेट्राविरुद्ध युद्धको घोषणा गरे। आखिर त्यो युद्ध इजिप्ट र रोमको युद्धकै रूपमा अघि बढ्यो र त्यसमा इजिप्टले हार्‍यो अनि एन्टोनी र क्लियोपेट्राले आत्मसमर्पण गरे।

उनीहरूलाई पक्राउ गरेसँगै एन्टोनीलाई क्लियोपेट्राले आत्महत्या गरेको झूटो खबर सुनाइयो। प्रेमिकाको मरणको खबर सुन्न नसकी एन्टोनीले आत्महत्याका लागि तत्काल पेटमा तरबार घोचे। मरणासन्न अवस्थामा रहेका एन्टोनीलाई त्यसपछि जेल लगियो जहाँ क्लियोपेट्रा थिइन्।

एन्टोनीले जेलमै क्यिलोपेट्राको काखमा अन्तिम स्वास फेरे। प्रेमीको देहान्तबाट छटपटिएकी क्लियोपेट्राले कुनै व्यक्तिमार्फत जेलमा विषालु सर्प मगाइन्। उनले त्यो सर्पलाई आफ्नो छातीमा राखेर डसाइन् र मृत्युवरण गरिन्। त्यसपछि क्लियोपेट्राको शव एन्टोनीको शव गाडिएको ठाउँमै लगेर गाडियो।

नेपोलियन र जोसेफाइन

फ्रान्सका सासक नेपोलियन बोनापार्ट तथा सामाजिक कार्यकर्ता जोसेफाइनबीचको प्रेम प्रसंग पनि उल्लेखनीय छ। नेपोलियन जब सेनामा सामान्य अधिकृत थिए, उनले दुई सन्तानकी आमा ३२ वर्षकी विधुवा जोसेफाइनलाई देख्नेबित्तिकै गहिरो प्रेम गर्न थाले। पछि सन् १९७६ मा उनीहरूको विवाह पनि भयो।

विवाहपछि नेपोलियन आफ्नो सैन्य अभियानमा बढी व्यस्त हुन थाले भने जोसेफाइन परपुरुषहरूसँग लहसिन थालिन्। श्रीमतीका बारेमा नकारात्मक कुरा सुनेपछि नेपोलियन आगो भए र डिभोर्सको प्रस्ताव गरे तर जोसेफाइनले गल्तीका लागि क्षमा मागिन् र तत्कालका लागि उनीहरूको सम्बन्धविच्छेद टर्‍यो।

जब नेपोलियन सन् १८०४ मा फ्रान्सको सर्वोच्च शासक बने त्यसपछि उनमा एउटा छोरो जन्माएर आफ्नो उत्तराधिकारी बनाउने इच्छा जाग्यो, तर विडम्बना जोसेफाइनसँगको सम्बन्धबाट गर्भ रहेन र उनीहरूबीच १८०९ मा डिभोर्स भयो।

नेपोलियनले त्यसपछि अस्ट्रियाकी म्यारीसँग विवाह गरे र छोरा पनि पाए। दुर्भाग्य भन्नुपर्छ जब नेपोलियनले जोसेफाइनसँग सम्बन्ध तोडे उनको भाग्य बिग्रिन थाल्यो। उनको सत्ता डगमगाउन थाल्यो र अन्ततः सन् १८१४ मा उनी सत्ताबाट बाहिरिएर इल्बा टापुमा निर्वासित हुनुपर्‍यो।

जोसेफाइन अझै पनि नेपोलियनलाई प्रेम गर्थिन् त्यसैले नेपोलियन भागेर इल्वा टापु पुगेको जानकारी पाएपछि चिट्ठी लेखेर आफूलाई पनि सँगै राख्न अनुरोध गरिन्। हठी नेपोलियनले जोसेफाइनको अनुनय स्वीकार गरेनन् र अब मिलन सम्भव नरहेको भन्दै चिठी लेखेर पठाए, तर नेपोलियनले लेखेको जवाफी चिठी हातमा नपर्दै जोसेफाइनको मृत्यु भयो।

जार निकोलस द्वितीय र अलेक्जेन्ड्रा फेडेरोभ्ना

जब निकोलस द्वितीयले राजकुमार छँदै जर्मनीकी राजकुमारी अलेक्जेन्ड्रालाई देखे उनी मायामा फसिहाले। आखिर उनीहरूबीच गहिरो प्रेम बस्यो र एक(अर्कासँग छुट्टनि नसक्ने अवस्थामा पुगे। उनीहरूबीच सन् १८९३ मा इन्गेजमेन्ट पनि भयो।

अर्को वर्ष निकोलसका बुवाको मृत्यु भयो र उनी रूसका राजा बने। निकोलसले राजगद्दी सम्हालेपछि सामान्य समारोहबीच अलेक्जेन्ड्रा र निकोलस द्वितीयको विवाह भयो। विवाहपछि जार निकोलस रानी अलेक्जेन्ड्राको प्रेमका दास बन्न पुगे र जनताको ध्यान दिन छाडे।

फलतः जनतामा असन्तुष्टि बढ्दै गयो। पहिलो विश्वयुद्धका बेला रूसमा क्रान्ति भयो जसले जारशाहीको सत्ता ढाल्यो र राजदम्पतीलगायत राजपरिवार साइबेरिया भाग्न बाध्य भए। रूसी जनताले साइबेरिया भागेका जार निकोलस तथा रानी अलेक्जेन्ड्रालगायत राजपरिवारका अन्य सदस्यहरूलाई पनि छाडेनन् र सन् १९१८ को जुलाई १६ मा राजपरिवारको हत्या भयो।

राजकुमार इडवार्ड र वालिस

वेल्सका राजकुमार इडवार्ड र अमेरिकी महिला वालिसको प्रेम प्रसंग पनि निकै चर्चित छ। इडवार्डले वालिसको प्रेमका लागि राजगद्दी नै त्यागेका थिए। विवाहित वालिससँग एउटा पार्टीमा भेट भएसँगै इडवार्ड मायाजालमा फसेका थिए।

राजकुमारले कुनै सामान्य विदेशी महिला त्यो पनि विवाहित सँग प्रेम गर्नु सामान्य कुरा थिएन। त्यो प्रेम प्रसंगले बेलायती संसद ठूलो हंगामा मच्चाएको थियो। बुवाको मृत्युपछि उनी जबर्जस्ती राजा त बने तर राजा रहिरहन उनले वालिससँगको प्रेम सम्बन्ध त्याग्नुपर्ने थियो। इडवार्डले राजगद्धीको साटो वालिसको प्रेम रोजे र रेडियो मार्फत राजगद्दी त्यागेको घोषणा गरे।

भोल्तेयर र इमिली

फ्रान्सका चर्चित दार्शनिक तथा लेखक भोल्तेयर एवं सज्जन सामाजिक कार्यकर्ता इमिलीबीचको प्रेमसम्बन्ध पनि निकै चर्चित छ। इमिली विवाहित थिइन् तर पनि आफ्नो वैवाहिक सम्बन्धको परवाह नगरी उनी भोल्तेयरसँग नजिकिइन्।

उनीहरूबीच प्रेमसम्बन्ध झाँगियो र दुवै जना सँगै बस्न थाले। इमिली र भोल्तेयर त्यो घरमा सँगै बस्थे जुन घरका मालिक इमिलीकै पूर्व पति थिए। इमिली र भोल्तेयरबीचको प्रेमसम्बन्ध बौद्धिक एवं दार्शनिक स्तरको प्रेम सम्बन्ध मानिन्छ। १९ वर्षसम्म भोल्तेयर सँग बिताएपछि इमिलीको मृत्यु भयो।

साप्ताहिकबाट

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung