१६ बैशाख २०८१, आईतवार

 

आन्तरिक पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको शालग्राम संग्रहालय

बागलुङ ।  शालग्राम भन्नेबित्तिकै जो कोहीले पनि भगवान् विष्णु सम्झन्छन् र साक्षात्कार गर्न पुग्छन् । हिन्दु धर्मावलम्बीले शालग्रामको पूजा–आराधना गर्ने गरे पनि आजकल शालग्राम शिलाको संरक्षण अभावमा हराउँदै गएको अवस्थामा बागलुङमा संग्रह गरी शालग्राम सङ्ग्रहालय बनाइएको छ ।

बाघको मुखबाट छिरेर शालग्राम सङ्ग्रहालय अवलोकनको व्यवस्था मिलाइएपछि उक्त संग्रहालय पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।बागलुङ नगरपालिका–४ कुँडुलेस्थित सङ्ग्रहालय धार्मिक पर्यटकीय क्षेत्रका रूपमा परिचित हुदै गएपछि संग्रहालय सबैको आकर्षण केन्द्र बन्न पुगेको छ । बागलुङको पहिचानसग जोडिएको बाघको मुखको आकृति निर्माणसगै सङ्ग्रहालयको चर्चा झनै चुलिएर गएको छ ।

साविकको धौलागिरी अञ्चल सदरमुकाम बागलुङ नगरपालिका–४ कुँडुले, फेदीस्थित रङवेङ्कटेश मुक्तिनारायण मन्दिर, मुक्तिनाथ वेद विद्याश्रम, तिरुपती बालाजीधाममा स्वामी श्रीधरचार्यको नामबाट शालग्राम सङ्ग्रहालय निर्माण गरिएको छ ।

झट्ट हेर्दा बाघको मुखभित्र यत्रो संरचना लुकेर रहेको छ भन्ने कुरा कसैलाई विश्वास हुँदैन तर बाघको मुखबाट पसेपछि मात्रै यो कुरा विश्वास लाग्ने शालग्राम सङ्ग्रहालय अवलोकन भ्रमणमा आएकी ग्लोबल कलेज पोखराकी सिद्दिका बरालले बताइन ।

मुस्ताङको मुक्तिनाथबाट म्याग्दी, बागलुङ र पर्वत भएर बग्ने कालीगण्डकी (कृष्णगण्डकी) नदीमा मात्र पाइने शालग्राम शिलाको संरक्षण हुन नसकेको अवस्थामा र जथाभावी रूपमा खोलिएका क्रसर उद्योगले शालग्राम हराउँदै जान थालेको बेला शालग्राम सङ्ग्रहालय निर्माण भएकोले संरक्षणमा महत्वपूर्ण योगदान पुराएको अधिवक्ता एवम् सामाजिक अभियन्ता कृतिनाथ शर्माले बताए ।

मन्दिरमा भगवान शिवको प्रिय अस्त्रका रूपमा मानिने त्रिशूल आकारमा भूगर्भभित्र ७६ मिटर लामो सुरुङ निर्माण गरी व्यवस्थित रूपमा शालग्राम सङ्ग्रहालय, त्रिवेणीधामबाट दामोदर कुण्डसम्मको नक्सा, विभिन्न मठमन्दिरका आकृति, वृत्तचित्र प्रदर्शनी कक्षलगायतका संरचना निर्माण भएका छन् ।

बागलुङ नाम बाघको नामसग जोडिएकाले बागलुङको पहिचानसँँग जोडिएको बाघको मुखको आकृति शालग्राम सङ्ग्रहालयको प्रवेशद्वारमा बनाइएको र शालग्राम दर्शन गर्न आउनेको रोजाइमा बाघको मुख आकर्षणमा रहेको श्रीधराचार्य शालग्राम सङ्ग्रहालयका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यले नयाँ विश्वलाई बताउनु भयो ।

मुक्तिनाथ जाने धार्मिक पर्यटकलाई बागलुङ भित्र्याउनसमेत यस सङ्ग्रहालयले ठुलो योगदान गरिरहेको छ भने जिल्लाका अन्य पर्यटकीय गन्तव्यलाई समेत चलयमान बनाएको छ । हाल सङ्ग्रहालयमा साना साना शालग्रामदेखि तीन सय किलोसम्मको शालग्राम सङ्ग्रहित छ । परापूर्वकालदेखि नै शालग्राम सङ्ग्रहित गर्दै आएका स्वामी श्रीधरचार्यको सपना साकार पार्ने काम भएको भन्दै स्थानीय खुशी देखिन्छन् ।

मुस्ताङको मुक्तिनाथबाट म्याग्दी, बागलुङ र पर्वत भएर बहने कालीगण्डकी (कृष्णगण्डकी) नदीमा मात्र पाइने शालग्राम शिलाको संरक्षणका लागि बागलुङ नगरपालिका–४ कुँडुलेमा रहेको तिरुपती बालाजीधाममा शालग्राम सङ्ग्रहालय बनाएपछि शालग्रामप्रेमी दर्थनार्थीहरु आउने क्रम बढेर गएको छ ।

 

प्रतिक्रिया दिनुहोस्