१७ बैशाख २०८१, सोमबार

 

रत्न–श्रेष्ठ पुरस्कार गुठीद्वारा ६ साहित्यकार पुरस्कृत

बागलुङ । रत्न–श्रेष्ठ पुरस्कार गुठी बागलुङले यस वर्ष ६ जना साहित्यकारलाई पुरस्कृत गरेको छ । गुठीका संस्थापक संरक्षक साहित्यकार प्रेम छोटाको आमा रत्न श्रेष्ठको १ सय १५ औं दिनको पुण्य तिथि तथा ४६ औं स्मृति दिवसको अवसर पारेर बिहिबार ६ जना साहित्यकारलाई पुरस्कृत गरिएको हो ।

गुठीले हरेक दुई वर्षमा प्रदान गर्ने ५० हजार राशिको ‘रत्न–श्रेष्ठ राष्ट्रिय पुरस्कार’ बाट साहित्यकार डा. शंकर प्रसाद गैरे पुरस्कृत भएका छन् । उपन्यास ‘कृष्ण’का लागि उनी पुरस्कृत भएका हुन्।उहाँलाई गुठीका संस्थापक संरक्षक साहित्यकार प्रेम छोटाले नगद ५० हजार, दोसल्ला र कदरपत्रले पुरस्कृत गर्नु भएको हो ।

यस्तै ‘रत्न–श्रेष्ठ प्रादेशिक पुरस्कार’ बाट साहित्यकार सूर्यनाथ सापकोटा र सरोजराज पन्त पुरस्कृत हुनु भएको छ । २५ हजार राशिको सो पुरस्कारसापकोटा र पन्तलाई संयुक्त रुपमा प्रदान गरिएको गुठीले जनाएको छ।गुठीले नै प्रदान गर्ने ‘धवलागिरि प्रतिभा पुरस्कार’ साहित्यकार कृष्ण बानियाँलाई प्रदान गरिएको छ ।

संस्मरण कृति ‘विसङ्गत अभिरुचि’ का लागि उनलाई पुरस्कृत गरिएको हो। पुरस्कारको राशि १५ हजार छ। गुठीमा स्थापित ‘जगतचन्द्र स्मृति राष्ट्रिय पुरस्कार’ साहित्यकार रकु कार्कीले प्राप्त गरेकी छिन्। सो पुरस्कारको राशि २५ हजार छ।

यस्तै गुठीद्वारा सञ्चालित ‘गुरु गणेश–विष्णु स्मृति पुरस्कार’ शुभम पन्तलाई प्रदान गरिएको छ। पुरस्कारको राशि ८ हजार रहेको छ ।कार्यक्रममा पुरस्कृत व्यक्तित्वको तर्फबाट डा. शंकरप्रसाद गैरे, रूकु कार्की, कृष्ण बानियाँ, म्याग्दी साहित्यिक समाजका अध्यक्ष ध्रुवलाल शर्मा, गुरु गणेश विष्णु स्मृति कोषका संस्थापक संरक्षक भरत कुमार श्रेष्ठ र गुठीका संस्थापक संरक्षक साहित्यकार प्रेम छोटाले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

पुरस्कृत कृतिमाथि धौलागिरि बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख हरिप्रसाद पाण्डेयले समीक्षात्मक टिप्पणी राख्नु भएको थियो। कार्यक्रममा स्वागत रत्न श्रेष्ठ पुरस्कार गुठीका प्रबन्ध समितिका सदस्य समाजसेवी देवबहादुर श्रेष्ठले र संचालन सदस्य सचिव महेश चन्द्र प्रधानले गर्नु भएको थियो । साहित्यकार छोटाले आफ्नी दिवंगत आमा रत्नकुमारी श्रेष्ठको स्मृतिमा विसं ०३४ सालमा पुरस्कार गुठी स्थापना गरेका थिए।

 

 

प्रतिक्रिया दिनुहोस्