२१ बैशाख २०८१, शुक्रबार

 

कांग्रेसलाई राष्ट्रपति दिने आठ दलबीच सहमति, ६१ दिनमा प्रचण्डले बदले गठबन्धन

काठमाडौं। गत पुस १० गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित बनेको सात दलीय सत्ता गठबन्धन टुटेको छ ।सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र र प्रतिपक्षमा रहेका नेपाली कांग्रेससहितका ८ दलले नयाँ गठबन्धन बनाएर राष्ट्रपति निर्वाचनमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने औपचारिक निर्णय गरेसँगै एमाले नेतृत्वको माओवादी केन्द्रसहितको गठबन्धन ६१ दिनमै टुट्न पुगेको हो ।

शुक्रबार बालुवाटारमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, लोसपा, एकीकृत समाजवादी, जनमत,उन्मुक्ति लगायतका पार्टीबीच राष्ट्रपतिमा कांग्रेसलाई मत दिने निर्णय भएसँगै देशमा नयाँ राजनीतिक संसदिय ध्रुवीकिरण सुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने प्रस्ताव गर्दै पुस १० मा बनेको गठबन्धन भंग भएको र नयाँ राजनीतिक यात्रा सुरु भएको बताउनु भयो ।मंसिरमा सम्पन्न आम निर्वाचनपछि पुस १० मा नेकपा एमालेको अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली कांग्रेस बाहेकको सात दलीय गठबन्धनमार्फत प्रचण्ड प्रधानमन्त्री बन्नु भएको थियो ।

उक्त गठबन्धनमा एमाले,माओवादी केन्द्रसहित जसपा, जनमत, नागरिक उन्मुक्ति, राप्रपा र रास्वपा सहभागी थिए । यो गठबन्धनमा रहेकामध्ये जनता समाजवादी आफूले चाहेको मन्त्रालय नपाएपछि सरकारमा गएको थिएन ।

नागरिकता प्रकरणपछि रवि लामिछाने नेतृत्वको रास्वपा केही साता अघि सरकारबाट बाहिरिएको थियो ।२५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि १३ गते मनोनयन दर्ताको कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्