२३ बैशाख २०८१, आईतवार

 

शिक्षक जस्तो हुनुपर्छ नेता

जुनसुकै राजनीतिक व्यवस्था भए पनि हरेक समाज स्मृति सिर्जना गर्ने विगत र उसको उद्विकासलाई उत्प्रेरित गर्ने भविष्यदृष्टिबीचको निरन्तर संक्रमणमा हुन्छ। यो यात्रामा नेतृत्वका निम्न दायित्व हुन्छन्ः निर्णय लिनैपर्छ, विश्वास जित्नैपर्छ, वाचा पूरा गर्नैपर्छ, अघि बढ्ने बाटो देखाउनैपर्छ।

मानिसहरू आज जहाँ छन् त्यहाँबाट उनीहरू यसअघि नभएको ठाउँमा, कहिलेकाहीं त कल्पना नै गर्न नसकिने ठाउँमा पुग्न सघाउनका लागि राज्य, धर्म, सेना, कम्पनी र विद्यालय जस्ता मानव निर्मित संस्थाहरूमा नेतृत्वको आवश्यकता हुन्छ। विना नेतृत्व संस्थाहरू छरपस्ट हुँदै जान्छन् र राष्ट्रहरू असान्दर्भिक हुँदै जान्छन्। अन्ततः सबैको ध्वंस हुन्छ।

नेताहरू दुइटा प्रवाहको मध्यबिन्दुमा हुन्छन्। पहिलो, विगत र भविष्यको बीचमा। दोस्रो, स्थापित मूल्यहरू र आफूले नेतृत्व गर्ने समूहको आकांक्षाको बीचमा। उनीहरूको पहिलो चुनौती हो, विश्लेषण जसको शुरूआत आफू बाँचेको समाजको इतिहास, मूल्यमान्यता र क्षमताको आधारमा गरिने यथार्थपरक मूल्याङ्कनबाट हुन्छ।

त्यसपछि उनीहरूले आफूलाई थाहा भएको विषय र भविष्यप्रतिको आकांक्षाबीच सन्तुलन कायम गर्नुपर्छ। विगतको अनुभवबाट उनीहरूले आफूलाई के थाहा छ भन्ने जानेका हुन्छन्। भविष्यप्रतिको आकांक्षा भने काल्पनिक र अनिश्चित हुन्छ। यो सन्तुलन नै अघि बढ्ने दिशाको अन्तर्ज्ञान हो जसले नेताहरूलाई उद्देश्य तय गर्न र रणनीति बनाउन सक्षम तुल्याउँछ।

समाजलाई उत्प्रेरित गर्ने रणनीति तय गर्न नेताले शिक्षकको भूमिका पूरा गर्नुपर्छ। उद्देश्य प्रसार गर्नुपर्छ। शङ्का निवारण गर्नुपर्छ। समर्थन जुटाउनुपर्छ। हुन त राज्यलाई शक्ति प्रयोगको एकाधिकार भएको संस्थाका रूपमा परिभाषित गर्ने गरिन्छ तथापि बल प्रयोगमा भर पर्नु नेतृत्वको अक्षमताको लक्षण हो।

कुशल नेताहरूले मानिसहरूलाई आफूसँग काँधमा काँध मिलाएर हिंड्ने चाहना जगाइदिन्छन्। साथै‚ उनीहरूले आफ्नो सोचलाई व्यवहारमा रूपान्तरित गर्न निकटतम सहयोगीलाई उत्प्रेरित गर्नैपर्छ तब मात्रै दैनन्दिनको समस्या समाधान हुन्छ।

त्यस्तो ऊर्जावान् समूहले नेतामा ऊर्जा पैदा गरिदिन्छ। उसको यात्रामा साथ दिन्छ र निर्णय लिने बखत हुने अलमल हटाउँछ। नेताको वरिपरि कस्ता मानिस छन् भन्ने आधारमा नै उनीहरूको उदय वा अन्त्य हुन्छ।

यी चुनौती पूरा गर्न एवं विगत र वर्तमानको पुलका रूपमा नेतामा हुनैपर्ने महत्त्वपूर्ण विशेषता हुन् साहस र नैतिकता। जटिल र अप्ठ्यारा विकल्पहरूको बीचबाट सही दिशा छनोट गर्न साहस चाहिन्छ। र, कुनै पनि कामलाई निरन्तरता दिन नैतिकताको आवश्यकता हुन्छ।

त्यो किन पनि भने कुनै काम रोज्ने वेलामा त्यसका उपलब्धि र खतराहरू अस्पष्ट हुन्छन्। साहसले निर्णय गर्दा चाहिने खूबी दिलाउँछ। नैतिकताले एउटा निश्चित अवधिमा निष्ठालाई मूल्यमा परिणत गर्छ।चुनौती पूरा गर्न एवं विगत र वर्तमानको पुलका रूपमा नेतामा हुनैपर्ने महत्त्वपूर्ण विशेषता हुन् साहस र नैतिकता।स्थापित मूल्य र संस्थाहरूले सान्दर्भिकता गुमाउँदै गरेको र भविष्यको रूपरेखा विवादास्पद बनिरहेको संक्रमणकालीन समयमा नेतृत्व सबैभन्दा बढी आवश्यक हुन्छ।

यस्तो अवस्थामा नेताहरूले निम्न विषयमा सिर्जनात्मक र समाधानमूलक तरीकाले सोच्छन् भन्ने आशा गरिन्छः समाजको भलाइका स्रोत के हुन्रु समाजको क्षयीकरणका स्रोत के हुन्रु विगतका कुन प्राप्तिलाई जोगाइराख्ने र कुनलाई परित्याग गर्नेरु कुन उद्देश्यमा कटिबद्ध हुन आवश्यक हुन्छरु जतिसुकै आशाप्रद भए पनि कुन सम्भावनालाई परित्याग गर्नैपर्छरु सबैभन्दा पेचिलो विषय के सुन्दर भविष्यका निम्ति आवश्यक बलिदान गर्न समाज प्रतिबद्ध छ?

नेतृत्वका निर्णयको चरित्र

नेताहरू अनेकौं सीमाले बाँधिएका हुन्छन्। उनीहरूले अभावको सामना गर्नुपर्छ। हरेक समाजसँग सीमित क्षमता र पहुँच हुन्छ जसलाई जनसंख्या र अर्थतन्त्रले निर्धारण गरिरहेको हुन्छ। नेताहरूले निश्चित कालखण्डमा काम गर्नुपर्छ। हरेक युग र संस्कृतिले पूर्वस्थापित मान्यता, व्यवहार र प्रवृत्ति बोकेका हुन्छन् जसले परिणाम निर्धारण गर्छन्।

र, नेताहरूले प्रतिस्पर्धाका बीच काम गर्नुपर्छ। हरेक नेताले अर्को नेताको सामना गर्नैपर्छ। ती स्थायी मित्र वा शत्रु हुन सक्छन्, तर स्थिर भने हुँदैनन्। आफ्ना विशिष्ट क्षमता र आकांक्षाहरू सहित ती निरन्तर सक्रिय हुन्छन्।

यी बाहेक त घटनाहरू हुन्छन् जो सटीक विश्लेषण गर्नै नसक्ने गरी छिटो छिटो भइरहेका हुन्छन्। नेताहरूले आफ्नो अन्तर्ज्ञान र परिकल्पनाका आधारमा मूल्याङ्कन गर्नुपर्ने हुन्छ तर निर्णय गर्दाका बखत त्यो मूल्याङ्कन पुष्टि हुन सक्दैन। कुनै पनि नेताका लागि विश्लेषण गर्ने खूबी जति पेचिलो हुन्छ, त्यति नै हुन्छ जोखिम व्यवस्थापन पनि।

यी सीमा, सामयिकता, प्रतिस्पर्धा र तरलताका बीचबाट एउटा नेताले जे निष्कर्ष निकाल्छ त्यसैलाई नै ‘रणनीति’ भनिन्छ। रणनीतिक नेतृत्वको डोरीमा हिंडे बराबर नै हुन्छ। जसरी अति नै भयभीत र अति नै आत्मविश्वासी दुवै खालका खेलाडी डोरीबाट लड्ने गर्छन् त्यसरी नै नेतृत्व पनि विगतले सिर्जेका केही निश्चितता र भविष्यको सन्देहबीचको साँघुरो गल्लीबाट गुज्रिन बाध्य हुन्छ।

ग्रीकहरूले अभिमान भन्ने गरेको अतिशय महत्त्वाकांक्षाको परिणति क्षय हुन्छ। जबकि‚ कसैको ख्यातिमा अति निर्भर हुँदा बिस्तारै असान्दर्भिक हुँदै गइन्छ र अन्ततः पतन भोग्नुपर्छ। अन्तिम गन्तव्यसम्म पुग्न चाहने नेताले हरेक कदममा लक्ष्य अनुरूप साधन र परिस्थिति अनुसार उद्देश्य निर्धारण गर्नुपर्छ।

रणनीतिकारका रूपमा नेताले एउटा स्वाभाविक विरोधाभासको सामना गर्नुपर्छ। जब उसले केही कामका लागि निर्णय गर्नुपर्ने उपयुक्त समय हुन्छ, त्यति वेला आवश्यक सूचना निकै कम हुन्छ। जब पर्याप्त सूचना जम्मा हुन्छ त्यति वेलासम्म परिस्थिति सम्हाल्न सक्ने सम्भावना निकै कम भइसकेको हुन्छ।

उदाहरणका लागि नोबल कोरोना भाइरसको संक्रमण शुरू हुँदाका बखतमा यसको प्रसार नियन्त्रण गर्न सकिने सम्भावना बढी थियो तर त्यसबारे जानकारी कम। यसको खतरा बेवास्ता गर्न नसक्ने अवस्थासम्म पुग्दा भने यसको प्रतिकार गर्न सक्ने सम्भावनाहरू कम भइसकेका थिए।

सबैजसो अवस्थामा यस्तै हुन्छ। उपलब्ध विकल्पमध्ये सबैभन्दा उत्तम पनि लागू गर्न जटिल हुने अवस्था सिर्जना भइसकेको हुन्छ। त्यस्तो विकल्प छनोट गर्दा पाइने सफलता घटिसकेको हुन्छ भने असफल हुने सम्भावना बढिसकेको हुन्छ।

स्थापित मूल्य र संस्थाहरूले सान्दर्भिकता गुमाउँदै गरेको र भविष्यको रूपरेखा विवादास्पद बनिरहेको संक्रमणकालीन समयमा नेतृत्व सबैभन्दा बढी आवश्यक हुन्छ।यस्तो अवस्थामा नेताको अन्तर्ज्ञान र निर्णय क्षमता महत्त्वपूर्ण हुन्छ।

बेलायतका पूर्व प्रधानमन्त्री विन्स्टल चर्चिलले सन् १९४८ मा द ग्यादरिङ स्ट्रोम लेख्दा यो कुरा राम्रोसँग बुझेका थिए। उनले लेखेका थिए ‘स्टेट्सम्यानको जिम्मेवारी सरल समस्याहरूको समाधान गर्ने मात्र होइन। ती त प्रायः आफैं समाधान हुन्छन्। जब सन्तुलन खलबलिएको हुन्छ र सम्भावनाहरू कुहिरोमा ढाकिएका हुन्छन्, संसार जोगाउने निर्णय गर्ने अवसर आफैं प्रस्तुत हुन्छ।’

सन् १९५३ को मेमा एक अमेरिकी विद्यार्थीले चर्चिललाई एक जना नेताले आफूलाई चुनौतीको सामना गर्न सक्ने गरी तयार पार्न के गर्नुपर्छ भनेर सोधेका थिए। “इतिहास पढ, इतिहास‚” चर्चिलले जवाफ दिएका थिए, “नेतृत्व कौशलको सबै रहस्य इतिहासमा लुकेको छ।” चर्चिल आफैं इतिहासका विलक्षण विद्यार्थी एवं लेखक थिए। त्यसैले समयको कुन निरन्तरतामा काम गरिरहेको छु भन्ने राम्रोसँग बुझ्थे।

इतिहासको ज्ञान आवश्यक भए पनि पर्याप्त भने हुँदैन। केही विषय सधैंभरि ‘कुहिरोमा हराइरहन्छन्’ जुन विद्वान् र अनुभवीले देख्न सक्दैनन्। इतिहासले हिजो र आजको सादृश्यबाट सिकाउँछ। उस्तै उस्तै अवस्थाको तुलना गर्न सक्ने क्षमताको माध्यमबाट सिकाउँछ।

तथापि‚ यसका पाठहरू सारमा त्यस्ता आकलन हुन् जसलाई चिन्ने र आफ्नो समयको सीमामा लागू गर्ने जिम्मेवारीमा नेताहरू हुन्छन्। यो जिम्मेवारीलाई बीसौं शताब्दीका इतिहासका दार्शनिक असवाल्ड स्पेङ्ग्लरले ‘जन्मजात नेताहरू’ लाई ‘सबैभन्दा मूल्यवान्’ भनेर परिभाषित गर्दा समेटेका थिए। उनका अनुसार, ‘जन्मजात नेता आम मानिस, परिस्थिति र विषयभन्दा मूल्यवान् हुन्छ जसले थाहै नपाईकन सही गर्छ (त्यस्तो क्षमता राख्छ)।’

एक रणनीतिक नेतामा वर्तमानमा उपलब्ध सरसामग्रीका आधारमा भविष्य कोर्न सक्ने कलाकारको जत्तिकै खूबी हुनुपर्छ। चार्ल्स डी गलले द एज अफ द शोर्ड ९१९३२० मा लेखे जस्तै कलाकारले ‘आफ्नो बौद्धिकताको प्रयोगलाई’ परित्याग गर्दैन।

त्यो बौद्धिकता आफैंमा ‘सिकाइ, तौरतरीका र ज्ञान’ को स्रोत हो। बरु यो आधारमा कलाकारले ‘सहज विषय थप्छ जसलाई हामी उत्प्रेरणा भन्छौं’। यसले नै ‘प्रकृतिसँग प्रत्यक्ष सम्पर्क स्थापना गर्न सक्छ जहाँबाट झिल्को सिर्जना हुन्छ।’

यथार्थ जटिल हुन्छ। त्यसैले नै विज्ञानले बताउने सत्यभन्दा इतिहासले बताउने सत्य फरक हुन्छ। वैज्ञानिकले प्रमाणित परिणामहरू खोज्छ। इतिहासबाट सूचित रणनीतिक नेताले भने अन्योलबीच पनि के गर्न सकिन्छ भन्ने समाधान खोज्छ।

वैज्ञानिक परीक्षणहरूले पूर्ववत् परिणामहरूमाथि शङ्का वा विश्वास सिर्जना गर्छन् जसले गर्दा वैज्ञानिकले आफ्ना परीक्षणलाई सुधारेर दोहोर्‍याउन सक्छ। रणनीतिकारसँग त्यस्तो अवसर हुँदैन। उनीहरूले एक पटक मात्र परीक्षण गर्न सक्छन्।

उनीहरूले गर्ने निर्णय प्रायः अपरिवर्तनीय हुन्छन्। त्यसैले वैज्ञानिकले प्रयोगात्मक तवरबाट वा गणितीय रूपमा सत्य फेला पार्छ। रणनीतिकारले भने विगतसँगको सादृश्य तुलना गर्छ। त्यसका लागि उसले सबैभन्दा पहिला विगतका कुन कुन घटना र निष्कर्षहरू वर्तमानका लागि सान्दर्भिक छन् भन्ने छुट्याउनुपर्छ।

त्यो छनोट निकै गम्भीरतापूर्वक गर्नुपर्छ, किनभने कसैले पनि विगतको अनुभव वर्तमानमा गर्न सक्दैन। डच इतिहासकार योहान हाइजिङको शब्दमा जोकोहीले पनि ‘स्मृतिको मधुरो किरण’ मा विगतको कल्पना मात्र गर्न सक्छ।

कुनै पनि नेताका लागि विश्लेषण गर्ने खूबी जति पेचिलो हुन्छ, त्यति नै हुन्छ जोखिम व्यवस्थापन पनि।अर्थपूर्ण राजनीतिक निर्णयहरू एउटा मात्र पक्षमा भर पर्दैनन्। सही निर्णयका लागि राजनीतिक, आर्थिक, भौगोलिक, प्राविधिक र मनोवैज्ञानिक अन्तर्दृष्टिको आवश्यकता हुन्छ र ती सबैलाई इतिहासप्रतिको चेतनाले सूचित गरेको हुन्छ।

बीसौं शताब्दीको अन्त्यतिर आइजेया बर्लिनले वैज्ञानिक चिन्तनलाई यसको सीमाभन्दा परसम्म लागू गर्न नसकिने वर्णन गर्दै रणनीतिकारले सामना गर्नुपर्ने स्थायी चुनौतीबारे व्याख्या गरेका थिए। उनले वर्णन गरे अनुसार‚ हरेक नेता उपन्यासकार वा चित्रकार जस्तै हो जसले जीवनलाई त्यसको जटिलतासँगै बुझ्छ।

उनी लेख्छन् ‘कुनै पनि मानिसले हरेक परिस्थितिलाई त्यसको आफ्नै अद्वितीय विशेषता र अरूसँगको विशिष्ट फरकका आधारमा बुझ्ने क्षमता कति छ भन्नेले नै उसलाई मुर्ख वा बुद्धिमान्, बुझ्झकी वा अबुझ, सुसूचित वा ज्ञानप्रतिको अरुचि राख्ने भन्ने छुट्याउँछ।’

नेतृत्वको उच्च रूपः राजनेता वा मुक्तिदाता

अधिकांश नेता स्वप्नदर्शीभन्दा पनि कुशल व्यवस्थापक हुन्छन्। हरेक समाज र जिम्मेवारीको हरेक तहमा संस्थाहरूको दैनिक सञ्चालनका लागि व्यवस्थापकहरू आवश्यक पर्छन्। तर‚ सङ्कटको समयमा चाहे त्यो युद्ध होस् वा आमूल प्राविधिक परिवर्तन वा डरलाग्दो आर्थिक अव्यवस्था वा वैचारिक उथलपुथल यथास्थितिको व्यवस्थापन सबैभन्दा पेचिलो हुन्छ। त्यस्तो समयमा भाग्यमानी देशले परिवर्तनकारी नेता पाउँछ। त्यस्ता नेतालाई दुइटा आदर्श स्वरूपमा वर्गीकृत गर्न सकिन्छः राजनेता र मुक्तिदाता।

दूरदर्शी राजनेताले आफूले पूरा गर्नैपर्ने दुई थरी दायित्व हुन्छन् भन्ने बुझ्छ। पहिलो दायित्व हो, परिस्थितिबाट वशीभूत हुनुको साटो त्यसको व्यवस्थापन गरेर समाजलाई जोगाउने। यस्ता नेताहरूले परिवर्तन र प्रगतिलाई आत्मसात् गर्छन्।

साथसाथै आफैंले प्रोत्साहित गरेको विकास पथमा लम्किँदा समाजको आधारभूत चरित्र कायम रहने सुनिश्चित गर्छन्। दोस्रो दायित्व हो, आफ्ना सीमाहरू बुझेर संयमित हुने। त्यस्ता नेताहरूको जिम्मेवारी सकेसम्म उत्तम नतीजा दिने मात्र होइन बरु सबैभन्दा खराब परिणामका लागि पनि तयार हुनु हो।

उनीहरू तमाम असफल आशाहरू, पूरा हुन नसकेका कैयौं असल प्रयत्नहरू र मानव जगत्‌मा सधैं रहने स्वार्थ, शक्तिको भोक र हिंसाबारे सचेत हुन्छन्।नेतृत्वको यो परिभाषा अनुसार‚ राजनेताहरू सधैंभरि सबैभन्दा राम्रोसँग बनाइएका योजना तुहिने सम्भावना रोक्न उद्दत रहन्छन्।

कुनै पनि नीतिलाई आफ्नो भनेर प्रस्तुत गर्नेप्रति उनीहरू सधैंभरि शङ्कालु हुन्छन् किनभने इतिहासले तिनलाई कुनै एक व्यक्तित्वमा आधारित संरचना सधैं कमजोर हुन्छन् भन्ने सिकाएको छ। उनीहरू महत्त्वाकांक्षी हुन्छन् तर क्रान्तिकारी होइन।

उनीहरूले इतिहासलाई जसरी बुझेका छन् त्यसै अनुसार काम गर्छन्। आफ्ना राजनीतिक संस्थाहरू र आधारभूत मान्यता भविष्यको पुस्तालाई सुम्पिनुपर्ने विरासत ठानेर नै उनीहरू समाजलाई अगाडि बढाउँछन्।

राजनेताले जहिले पनि स्थापित संस्था र मान्यताहरू त्याग्नुपर्ने नयाँ परिस्थिति सिर्जना भएको छ भन्ने चिन्छन्। तर समाजलाई जोगाइरहन परिवर्तनहरू थेग्न नसक्ने गरी हुनु हुँदैन भन्ने पनि बुझ्छ। ‘वेस्टफेलियाली राज्य प्रणाली’ स्थापित गर्ने १७ औं शताब्दीका नेताका साथै पाल्मर्स्टन, ग्ल्याडस्टोन, डिजरेली र बिस्मार्क जस्ता १९ औं शताब्दीका यूरोपेली नेताहरू यही वर्गमा पर्छन्।

त्यस्तै बीसौं शताब्दीका थियोडोर र फ्र्याक्ङ्लिन रूजवेल्ट, मुस्ताफा कमाल अतार्तुक र जवाहरलाल नेहरू जस्ता नेता यही कोटिमा पर्छन्।एक रणनीतिक नेतामा वर्तमानमा उपलब्ध सरसामग्रीका आधारमा भविष्य कोर्न सक्ने कलाकारको जत्तिकै खूबी हुनुपर्छ।दोस्रो प्रकारका नेताहरू भने स्वप्नदर्शी वा मुक्तिदाता हुन्। यी नेताले आफ्नो विशिष्ट दर्शनलाई नै आफू सही हुने आधारको रूपमा प्रस्तुत गर्छन्।

शून्यबाट नयाँ संसार सिर्जना गर्ने अभिलाषा राख्ने भएकाले विगतको सम्पदा र सीमाहरू नष्ट गर्नुलाई उनीहरू आफ्नो प्रमुख दायित्व ठान्छन्। निश्चित समाधानहरूमा विश्वास राख्ने भएकाले उनीहरू क्रमिक विकासप्रति अविश्वास गर्छन्।

त्यस्तो क्रमिक विकासले समय र सन्दर्भको बर्बादी गर्ने उनीहरूको ठम्याइ हुन्छ। उनीहरू यथास्थितिको व्यवस्थापन गर्नुको साटो त्यसभन्दा पर जान खोज्छन्। जोन अफ आर्क, रोबेस्पियर, लेनिन र गान्धी मुक्तिदायी नेतामध्ये पर्छन्।नेतृत्वका यी दुई प्रकार छुट्याउने रेखा स्पष्ट देखिन सक्छ तर यो कमै मात्र अभेद्य छ। नेताहरू एउटा स्वरूपबाट अर्कोमा सजिलै जान सक्छन् वा एउटा बिन्दुमा उभिंदा अर्को प्रकारको नेतृत्वको तौरतरीका ग्रहण गर्न सक्छन्।

यी दुई थरी नेतृत्वको संयोजन प्रायः अनिश्चित र निराशाजनक हुन्छ। दबाबका बीच पनि स्थापित राजनीतिक संरचना कति जोगाउन सक्छ भन्नेमा राजनेताको परीक्षण हुन्छ जबकि मुक्तिदाताले स्थापित आदर्शहरूको पतनमा आफ्नो सफलता मापन गर्छ।

राजनेताका लागि स्थायित्व कायम गर्ने संयन्त्र वार्ता हो। मुक्तिदाताका लागि चाहिं वार्ता विपक्षीलाई परिवर्तन गर्ने वा निरुत्साहित गर्ने माध्यम मात्रै हो। राजनेताका लागि अन्तर्राष्ट्रिय व्यवस्थाको संरक्षण यसमा हुने कुनै पनि विवादको रोकथाम हो भने मुक्तिदाता स्थापित व्यवस्थालाई उल्ट्याउने उद्देश्य र चाहनाले नै निर्देशित हुन्छ।

नेतृत्वका दुवै रूप परिवर्तनशील हुन्छन्। त्यस्तो परिवर्तन मूलतः सङ्कटका क्षणमा देखिन्छ। नेतृत्वका यी दुवै स्वरूपका आफ्नै नकारात्मक पाटो पनि छन्। राजनेताको नेतृत्व सधैं सन्तुलनमा अडिएको हुन्छ। यसले स्थायित्व र दीर्घकालीन प्रगति सिर्जना गरे पनि आफ्नै गति पैदा गर्न सक्दैन। त्यस्तै‚ मुक्तिदातालाई सधैं मानिसहरूको अति उत्साहले मानवतालाई नै नष्ट पारिदेला र व्यक्तिहरू केवल वस्तुका रूपमा ठानिएलान् भन्ने जोखिम रहन्छ।

(हेनरी किसिन्जर अमेरिकाको चर्चित पूर्वविदेशमन्त्री हुन) (किसिन्जरको पुस्तक ‘लिडरशिप’को परिचय खण्डको यो अंशको भावानुवाद लक्ष्मण श्रेष्ठले गरेका हुन्)
हिमाल खबरबाट

 

 

प्रतिक्रिया दिनुहोस्