गलकोट । नेपाल उद्योग व्यापार महासंघका वरिष्ठ उपाध्यक्ष श्याम श्रेष्ठले नेपालको आर्थिक समृद्धिको नेतृत्व उद्योगी व्यापारीले लिनु पर्ने बताउनु भएको छ ।शनिबार गलकोटको, मजुवामा सम्पन्न नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन गलकोट नगर समितिको प्रथम अधिवेशनको उद्घाटन गर्दै उपाध्यक्ष श्रेष्ठले उक्त भनाइ राख्नु भएको हो ।
उहाँले उद्योगी र व्यवसायीलाई परेको समस्याहरुको पहिचान गरी उनीहरुको हकहितका लागि आवाज उठाउने काम नेपाल उद्योग व्यापार महासंघको भएको बताउनुभयो । श्रेष्ठले महासंघ मार्फत एक प्रदेश एक उत्पादनलाई नमुना कार्यक्रमको रुपमा विकास गरिने बताउनुभयो । उद्योगी व्यवसायीको समस्या समाधान गर्न लागिपर्नेछु श्रेष्ठले भन्नु भयो ।

कार्यक्रममा नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेश अध्यक्ष जनकराज पराजुलीले अहिलेको उद्योगी, व्यवसायीहरुका मुख्य समस्या भनेको बैंक तथा वित्तीय संस्थाहरुको चर्को ब्याजदर रहेको र त्यसको समाधानको लागि आफूले गम्भीर प्रयत्न गर्ने बताउनु भयो ।
कार्यक्रममा नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष अर्जुन चोखाल, महासचिव गोविन्द थापा,नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण केसी, नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय सदस्य मुकेशचन्द्र राजभण्डारी, एकीकृत अखिल नेपाल शिक्षक संगठन बागलुङका अध्यक्ष वीर बहादुर चोखाल, गलकोट नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष रामप्रसाद कँडेल, अखिल नेपाल महिला संघ क्रान्तिकारी गलकोटका अध्यक्ष कौशिला घर्ती र नेपाल दलित मुक्ति मोर्चा गण्डकी प्रदेश परिषद सदस्य विर बहादुर नेपालीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

अधिवेशनले भीम केसीको अध्यक्षता ३५ सदस्यीय नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन गलकोट नगर समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा मन बहादुर कार्की, टेकबहादुर थापा, महासचिवमा गंगा चोखाल बुढाथोकी, सचिवमा चित्र बहादुर सलामी, कोषाध्यक्षमा टीका सुवेदी निर्वाचित भएको निर्वाचन संयोजक वीरबहादुर चोखालले जानकारी दिनु भयो ।
उक्त अवसरमा निर्वाचित अध्यक्ष भीम केसीले प्रतिबद्धता, जिल्ला समन्वय समिति बागलुङका सदस्य हर्क पाण्डेले बधाई ज्ञापन गर्नुभएको थियो ।अधिवेशन नेपाल राष्ट्रिय उद्योग व्यापार संघ गलकोट समितिका अध्यक्ष चित्र साहनीको अध्यक्षता, उपाध्यक्ष भीम केसीको स्वागत तथा सचिव श्याम सुन्दर श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।




















































































































































































































