३ जेष्ठ २०८१, बिहीबार

 

‘सामना जनसङ्गीत अभियान’

कास्की । गत फागुन २७ गते नुवाकोटको ककनीबाट सुरु भएको ‘सामना जनसङ्गीत अभियान’ धादिङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, बागलुङ हुँदै पश्चिमरुकुम पुगेको छ । मध्यपहाडी लोकमार्ग छेउछाउका गाउँबस्ती र सहरलाई समेटेर नेपाल कम्युनिष्ट पार्टीले उक्त साङ्गीतिक अभियान चलाएको हो । अभियानमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घअन्तर्गत सामना सांस्कृतिक परिवारका २० कलाकार सहभागी छन् । अभियानको नेतृत्व सामनाका अध्यक्ष आरोहले गरिरहेका छन् ।

कला र गीत–सङ्गीतकामार्फत जनतालाई जागरुक र सुसूचित गर्न अभियान थालिएको सामनाका अध्यक्ष आरोहले बताए । “अभियानका क्रममा जनवादी गीत, नृत्य, नाटकलगायत प्रस्तुति दिँदै हिँडिरहेका छौँ”, उनले भने, “यही चैत अन्तितममा बाजुरा पुगेर साङ्गीतिक यात्रा टुङ्गिन्छ ।”

जाजरकोट, सुर्खेत हुँदै अभियानमा सूदुरपश्चिमका पहाडी जिल्लामा पुग्नेछ । कार्यक्रम व्यवस्थापनमा स्थानीय पार्टी समिति र शुभेच्छुकहरूबाट सहयोग प्राप्त भइरहेको नेकपाले जनाएको छ । नेकपाका केन्द्रीय सदस्य एवं धवलागिरि इन्चार्ज विकिरण क्षेत्रीले साङ्गीतिक अभियानमा पार्टीको विचार सम्प्रेषणलाई पनि सँगसँगै जोडिएको बताए ।

“कलाकारको प्रस्तुति सँगसँगै नेतृत्वबाट वैज्ञानिक समाजवादबारे पार्टीको नीति र दृष्टिकोण राख्ने काम हुन्छ”, उनले भने, “जनताको उपस्थिति र साथले हामी उत्साहित नै छौँ, यस किसिमको अभियानले पार्टीलाई तलसम्म स्थापित गर्न सघाउँछ ।”

उनले मध्यपहाडी लोकमार्गलाई आधार मानेर त्यस आसपासका जिल्लामा पहिलो चरणको साङ्गीतिक अभियान चलाइएको बताए। पश्चिमको यात्रा सकिएपछि दोस्रो चरणमा पूर्वी नेपालका पहाडी जिल्लामा जनसङ्गीत अभियान सुरु हुने उनको भनाइ छ । नेकपाका केन्द्रीय सदस्य क्षेत्रीले मुलुकको आमूल परिवर्तनका लागि एकीकृत जनक्रान्तिको आवश्यकता औँल्याए ।

“अहिलेका सबै राजनीतिक दलले समाजवादको कुरा त गर्छन्, जनताले चाहेजस्तो समाजवाद ल्याउन सबैभन्दा पहिले वैचारिक र सांस्कृतिक रुपले स्पष्ट हुनु पर्ने”, उनले भने । नेकपालगायत विभिन्न कम्युनिष्ट पार्टी निकट कलाकारको अगुवाइमा ‘राष्ट्रका लागि सङ्गीत अभियात्रा’ पनि अहिले सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्