२३ बैशाख २०८१, आईतवार

 

बागलुङमा कलेजो तथा पेट रोग सम्बन्धी दुई दिने शिविर सम्पन्न

बागलुङ। धौलागिरि अस्पताल बागलुङमा कलेजो तथा पेट रोग सम्बन्धी दुई दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाल अर्गान डोनेशन फाउण्डेशन, धौलागिरि अस्पताल बागलुङ, बागलुङ नगरपालिका र स्वास्थ्य कार्यालयले आयोजना गरेको शिविरमा १ सय २६ जनाले सेवा लिएका छन् ।

शिविरमा बागलुङ, पर्वत र म्याग्दीका स्थानीयले सेवा लिएका थिए । पहिलो दिन ६८ र दोस्रो दिन ५८ जनाले सेवा लिएको धवालागिरि अस्पतालका प्रशासकिय अधिकृत तेज प्रसाद निउरेले नयाँ विश्वलाई जानकारी दिनु भयो ।

शिविरमा नेपाल अर्गान डोनेशन फाउण्डेशनबाट डा प्रदेज सापकोटा, डा प्रतिक श्रेष्ठको नेतृत्वको चिकित्सकको टोलि र धौलागिरी अस्पतालका दुई जना मेडिकल अधिकृत, पारामेडिक र नर्सिङ गरि १४ स्वास्थ्यकर्मीले सेवा दिएका थिए । शिविरमा धौलागिरि अस्पतालले निशुल्क भिडियो एक्सरे र इसिजि सेवा प्रदान गरेको थियो ।

यस शिविरबाट कलेजो तथा पेट रोगका विरामीहरुले राम्रो सेवा लिनु हुनेछ र भविष्यमा पनि यस्तो शिविर नियमित राख्नको लागि सरोकारवालाहरुसँगको सहकार्यमा बागलुङ नगरपालिकाले अग्रसरता लिनेछ बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले बताउनु भयो ।

कार्यक्रममा डा प्रदेज सापकोटा र डा प्रतिक श्रेष्ठले कलेजो र पेटमा हुने रोग, यसको उपचार र यसबाट बच्ने उपायको बारेमा जानकारी दिनु भएको थियो ।

कार्यक्रम अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद शर्मा पौडेलको अध्यक्षतामा डा अमित ढुंगानाको स्वागत  र संचालन अस्पतालका प्रशासकिय अधिकृत तेज प्रसाद निउरेले गर्नु भएको थियो ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्