३ जेष्ठ २०८१, बिहीबार

 

बागलुङको नेवार जातिको इतिहासको पुस्तक प्रकाशनको लागि महिला समूहद्वारा २५ हजार सहयोग

बागलुङ । बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समूहले बागलुङको नेवार जातिको इतिहासको पुस्तक प्रकाशनको लागि आर्थिक सहयोग गरेको छ । नेपाल भाषा मंका: खल: बागलुङले प्रकाशन गर्न लागेको बागलुङका नेवार जातिको इतिहास पुस्तक प्रकाशनको लागि बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समूहले २५ हजार सहयोग गरेको हो ।

नेपाल भाषा मंका: खल: बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीलाई महिला समूहकी अध्यक्ष विजया राजभण्डारी, उपाध्यक्ष सोनी श्रेष्ठ र  सदस्य सृजना राजभण्डारीले सहयोग रकम हस्तान्तरण गर्नु भएको हो ।

सभ्यता, संस्कृति र संस्कार बोकेको बागलुङको नेवारहरुको इतिहास एउटै पुस्तकमा आएपछि नेवार तथा गैर नेवारहरुलाई अध्ययनको लागि धेरै सहज हुने र नेवारहरुको योगदान र इतिहास पनि सबैले थाहा पाउने भएकोले आर्थिक सहयोग गरेको बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समूहकी अध्यक्ष विजया राजभण्डारीले नयाँ विश्वलाई बताइन् ।

खलले काठमाडौं उपत्यकाबाट बागलुङ आएका नेवारहरुले राजनीति, आर्थिक, शैक्षिक, सामाजिक, सांस्कृतिक, जात्रा, कला, साहित्य, संगीत, उद्योग, व्यापार, जनस्वास्थ्य, कानुन, पत्रकारितालगाएतका क्षेत्रमा पुर्याएको योगदान भल्कने गरी पुस्तक प्रकाशन गर्न लागेको नेपाल भाषा मंका: खल: बागलुङका निर्वतमान अध्यक्ष तथा पुस्तक सम्पादक मण्डलका सदस्य काजि गाउँले श्रेष्ठले बताउनु भयो ।

यस पुस्तकमा धौलागिरि क्षेत्रको नेवारहरुको बारेमा जानकारी दिनुको साथै राणा कालदेखि काठमाडौं उपत्यका र विभिन्न जिल्लाहरुमा व्यापार, जागिर, अध्ययन लगाएत विभिन्न कारणले गएर त्यस क्षेत्रमा पुर्याएको योगदान आउने गरी इतिहास पुस्तकमा पस्कने तयारी भएको नेपाल भाषा मंका: खल: बागलुङका पूर्वअध्यक्ष तथा पुस्तक प्रकाशन सम्पादन समितिका सदस्य महेशचन्द्र प्रधानले बताउनु भयो ।

पुस्तक प्रकाशनको विषयमा छिटटै सबै सरोकारवालाहरुसँग अन्तरक्रिया गरेर आवश्यक सल्लाह र सुझाव लिने तयारी भएको खल: का सचिव सुदिप राजभण्डारीले जानकारी दिनु भयो ।

खल: ले नयाँ पुस्ताका नेवारहरुलाई र गैर नेवारहरुलाई नेवार जातिको गौरवपूर्ण इतिहासको बारेमा थाहा दिन र विभिन्न क्षेत्रमा पुर्याएको योगदानको इतिहास संरक्षण गर्नको लागि पुस्तक प्रकाशन गर्न लागेको खल: का कोषाध्यक्ष विदेश कुमार श्रेष्ठले बताउनु भयो ।खल:को माघ महिनामा बसेको बैठकले पुस्तक प्रकाशन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्