३ जेष्ठ २०८१, बिहीबार

 

पारिजात बाल साहित्य सम्मान साहित्यकार गंगा कसजूलाई

काठमाडौं । पारिजात बाल साहित्य सम्मान २०७९ साहित्यकार गंगा कसजूलाई प्रदान गरिएको छ । पारिजात स्मृति केन्द्रले साहित्यकार पारिजातको ३० औं स्मृति दिवसको उपलक्ष्यमा कसजूलगाएत चार जना व्यक्तित्वहरुलाई सम्मान गरेको हो ।

साहित्यकार कसजू लामो समयदेखि बाल साहित्य लेखनमा क्रियाशिल छिन् । बागलुङ नगरपालिका वडा नं ३ राधाकृष्ण टोलमा २००५ सालमा तेजबहादुर राजभण्डारी र रत्न देवी राजभण्डारीकी कान्छी छोरीको रुपमा जम्मिएकी कसजूले विद्यामन्दिर माध्यमिक विद्यालयबाट २०२१ सालमा एसएलसी दिएकी थिइन् ।

विद्यामन्दिर माविमा २०२३ सालदेखि २०३२ सालसम्म, जनता मावि पाल्पामा २०३२ सालदेखि २०४० सम्म, २०४० देखि २०४६ सम्म मोहन कन्या मावि, तानसेन, पाल्पा र २०४६ सालदेखि २०५४ सालसम्म त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा अध्यापन गराउनु भएको हो ।

कसजूले मानव अधिकार संरक्षण मंच र इन्सेकमा बसेर मानवअधिकार क्षेत्रमा सेवा गर्नु भएको थियो ।कसजू अहिले बाल साहित्य प्रतिष्ठान नेपालमा क्रियाशिल छिन् ।

पारिजात स्मृति केन्द्रले पारिजात संघर्सशील नारी सम्मान २०७९ – गोमा देवकोटालाई, पारिजात सिर्जन सम्मान साहित्यकार – शार्दूल भट्टराईलाई र पारिजात कला सम्मान संगीतकार गुज्जे मालाकारलाई प्रदान गरको हो ।पारिजात स्मृति केन्द्रले स्मृति भवन म्हेपी, नयाँबजारमा एक कार्यक्रमको आयोजना गरी सो सम्मान प्रदान गरेको छ ।

कार्यक्रममा वरिष्ठ साहित्यकार रोचक घिमिरेले साहित्यकार पारिजातसँगका २०१८ सालदेखिका संस्मरण प्रस्तुत गर्नुहुँदै महाकवि देवकोटापछि नेपाली साहित्यमा दोस्रो स्थान पारिजातको रहेको बताउनु भयो ।

उक्त स्मृति सभामा पारिजात स्मृति केन्द्रका संरक्षक एवम् पारिजातकी बहिनी सुकन्या वाइबा विशिष्ट अतिथि हुनुहुन्थ्यो ।कार्यक्रम पारिजात स्मृति केन्द्रका अध्यक्ष डा राजेन्द्रप्रसाद अधिकारीको सभापतित्वमा र कोषाध्यक्ष देविका तिमिल्सिनाले संचालन गर्नुभएको थियो भने इसास कीर्तिपुरका कलाकारहरूले पारिजातको गीत प्रस्तुत गर्नुभएको थियो ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्