३ जेष्ठ २०८१, बिहीबार

 

पूर्वप्रधानन्यायाधीश श्रेष्ठको गीति एल्वम ‘जिन्दगीका तरेली’ लोकार्पण

काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको ‘जिन्दगीका तरेली’ नामक गीति एल्वम लोकापर्ण गरिएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनका पिता कुलबहादुर श्रेष्ठ र माता लक्ष्मीदेवी श्रेष्ठले उक्त एल्वम सार्वजनिक गर्नु भएको हो ।

तिमी अर्कै भयौँ, म सिँढी चढ्दै जान्छु, कर र करार होइन माया, के जिउनु खै जिन्दगी, देउराली भाक्नुपर्ने, के भेट भयो यस्तो र हिमाल हेरेर बोलका जीवन, प्रेम, आत्यात्मिक र देश दर्शनसँग सम्बन्धित सातवटा गीत उक्त एल्वममा समेटिएको छ ।

उक्त एल्वममा गायक आनन्द कार्की, रामकृष्ण ढकाल, सत्यराज आचार्य, स्वरुपराज आचार्य, शिशिर योगी, सुमित खड्का र मिलन नेवारको स्वर र शक्ति बल्लभको सङ्गीत रहेको छ ।

सो अवसरमा प्रमुख अतिथि एवं गीतकार श्रेष्ठका पिता कुलबहादुरले कला, साहित्य र संगीत मानव जातिको हासिल गरेको असिम सभ्यता हो । मानिस भएर जन्मिएपछि देशको सेवा र अरुको सम्मान गर्नुपर्छ भन्ने बुद्धि र विवेक भएमा मात्र समाज सहि दिशामा अगाडि बढ्न सक्ने बताउनु भयो ।

वरिष्ठ गीतकार यादव खरेलले पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले रचनाहरुमा आम मानिसको भोगाइ र जिवनलाई हेर्ने दर्शन भएको बताउनु भयो । गीत भनेको शब्द, सङ्गीत र गायनको संयोजन भएकाले त्रिवेणीमा जोडिएपछि कलकल बगेको नदीको पानीझैँ हुनुपर्ने बताउनु भयो ।

प्रा डा कृष्णहरि बरालले नेपाली गीत लेखनमा पूर्वप्रधानन्यायाधीश श्रेष्ठले जिवन र जगतलाई नजिकबाट अध्ययन गर्नुको साथै त्यसलाई गीतमा मर्मस्पर्शी ढंगले उतार्नु भएको भएकोले अगामि दिनमा पनि श्रेष्ठले समाजलाई उपयोगी कृतिहरु दिनु हुने विश्वास व्यक्त गरे ।

वरिष्ठ सङ्गीतकार शक्ति बल्लभले नेपालको गीत सङ्गीतका सागरमा प्रवेश गरेकामा पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई स्वागत गर्दै उनका गीत सिर्जना शक्तिले नेपाली गीत संगीत आकाशले नयाँ स्वाद पाएको बताउनु भयो ।

गीतकार श्रेष्ठले गीत–सङ्गीतको क्षेत्रमा आफू नयाँ भएकोले यस क्षेत्रलाई गहिरो ढंगले बुझन बाँकी भएको र सिर्जनाका बारेमा आउने प्रतिक्रिया र सुझावलाई पूर्णरूपले सम्मान गर्ने बताउनु भयो ।

गीत सङ्गीतको पवित्र धुनले मानिसको मानसिक स्वास्थ्य र भावनामा परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्छ र वातावरण सुधार्न योगदान पुर्‍याउँछ, हामीले गरेका कर्मले समाजमा सिर्जनशीलता र आशाको सन्देश प्रवाह गर्छ उनले भन्नु भयो ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्