३ जेष्ठ २०८१, बिहीबार

 

‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’को सूचीमा ‘मेरा सोभियत सम्झनाहरु’

डेब्यु गैरआख्यान कृतिका लागि दिइने ‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’का लागि उत्कृष्ट ५ गैरआख्यान विधाका कृतिहरूको सूचीमा ई। राम विन्दु श्रेष्ठको संस्मरण ‘मेरा सोभियत सम्झनाहरु’ पर्न सफल भएको छ ।

ई राम विन्दु श्रेष्ठको पहिलो पुस्तक हो ‘मेरा सोभियत सम्झनाहरु’ । पूर्व सोभियत सङ्घका अर्मेनिया, रसिया, बेलारुस, अजरबैजान, क्रुकेनका साथै युरोपेली मुलुकहरुको भ्रमण गरेका श्रेष्ठले पूर्व सोभियत मुलुकहरु घुम्दाका संस्मरणहरुले कृतिमा समेटेका छन् । महत्त्वपूर्ण तिथिमितिसहित तयार भएको संस्मरणहरुमा श्रेष्ठले अध्ययनकालको जीवन चर्चा र अनुभूतिहरुसमेत पुस्तकमा समेटेका छन् ।

२ सय ५२ पृष्ठमा फैलिएको पुस्तकलाई नेपाल–रुस साहित्य समाजले प्रकाशनमा ल्याएको हो ।

छानिएका अन्य डेब्यु गैरआख्यान कृतिहरूमा डा अवनिभूषण उपाध्यायको आत्मवृत्तान्त ‘मुटुसँग सहयात्रा’, लालबहादुर कार्कीको संस्मरण ‘कर्मरेखा’, नीलकमलको ‘सुरसङ्गीतका केही साधक’ र डा शिवराज भट्टराईको ‘राँको बालेर यात्रामा’ रहेका छन् ।

यो सूची पहिलोपटक पुस्तक लेखी नेपाली साहित्यमा औपचारिक पाइला चालेका नयाँ लेखकका २०७९ सालमा प्रकाशन भएका ९ गैरआख्यानका पुस्तकहरूबाट छानिएको छ । कृतिहरू साहित्यपोस्टसँग आबद्ध पत्रकार, साहित्यकार, सम्पादक र शुभेच्छुकहरूले दिएको नम्बरको आधारमा प्रारम्भिक निर्णायकहरूको टीमले छानेको हो ।

यो पुरस्कारको राशि ५० हजार रूपैयाँ रहेको छ ।

‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’को प्रायोजन अनुसन्धानदाता एवं शिक्षा व्यावसायी उत्तमप्रसाद पन्तले गर्नुभएको छ । राणाकालमा समाज परिवर्तनका लागि जलसमाधि लिएकी योगमायाका विषयमा विस्तृत अध्ययन गर्नुभएका पन्त साहित्यकार पारिजातसँग लामो समय रहनुभएको थियो ।

यो प्रारम्भिक सूची हो । यही सूचीका आधारमा दोस्रो चरणमा पुरस्कारका लागि छोटो सूची सार्वजनिक गरिने छ । र, तेस्रो चरणमा छोटो सूचीमा पर्न सफल कृतिमध्ये उत्कृष्ट एकलाई ‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’ प्रदान गरिने छ ।

‘साहित्यपोस्टबाट

प्रतिक्रिया दिनुहोस्