२६ बैशाख २०८१, बुधबार

 

म इमेज सहकारीको संचालन समितिको सदस्य हैन् : चित्र बहादुर भण्डारी (भण्डारीको प्रेस विज्ञप्तिसहित)

बागलुङ । इमेज सहकारीको पैसा हिनामिना गरी फरार भएपछि गृह मन्त्रालयले यात्रा अनुमति रद्द गरी कालो सूचीमा राखेका सहकारीका कार्यसमितिका सदस्य चित्र बहादुर भण्डारीले आफू इमेज सहकारीको संचालक समितिको सदस्य नभएको बताएका छन् ।

सोमबार प्रेस विज्ञप्ति प्रकाशित गरी सदस्य भण्डारीले आफू र आफनो परिवार सहकारीको सेयर सदस्य पनि नभएको, कर्जा पनि नलिएको र सहकारीमा कुनै कारोबार नगरेको बताएका हुन् ।

आफू सहकारीको कुनै पनि बैठक र साधारणसभामा भाग नलिएकोले इमेज सहकारीसँग आफनो कुनै संग्लनता नभएको भण्डारीले प्रकाशित गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

जेठ ७ गते गृह मन्त्रालयका शाखा अधिकृत परशुराम पोखरेलको हस्ताक्षर भएको पत्रमा संस्थापन अध्यक्ष देवकुमार नेपालीसहित कार्यवाहक अध्यक्ष डोर बहादुर परियार सचिव सुनिल नेपाली कोषाध्यक्ष लक्ष्मी सेन र संचालक सदस्यहरु चित्र बहादुर भण्डारी, रुपा विक र झग बहादुर शाहीहरुको यात्रा अनुमति रद्द गराउन अध्यागमन विभागलाई पत्राचार गरेको थियो ।

सहकारीको सेयर सदस्य र बचतकर्ताहरुको अरबौं रकम अपचलन गरी फरार भनि प्रहरीले खोजतलास गरेका संचालक सदस्यमध्ये भण्डारी पनि एक हुन् । उनले कहाँबाट कसरी प्रेस विज्ञप्ति प्रकाशित गर्न सक्यो गम्भीर प्रश्न उठेको छ ।

ढोरपाटन नगरपालिका वडा नं १ बुर्तिबाङ बजार घर भएका भण्डारीले प्रयोग गर्ने मोबाइल पनि अफ भएको छैन् ।भण्डारीले आज जारी गरेको प्रेस विज्ञप्ति आफनो फेसबुक वालमा पनि राखेका छन् ।

जिल्ला प्रशासन कार्यालय बागलुङले अध्यक्ष नेपालीसहित सबै संचालकहरु भागेर विदेश जान सक्ने भएकोले यात्रा अनुमति रद्द गराउन गृहलाई पत्राचार गरेको थियो ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित अन्य नाकाबाट  भाग्न सक्ने भएकोले रोक्नको लागि प्रहरी परिचालन भएको छ ।

जेठ ५ गतेदेखि फरार भएकाहरुको खोजीमा प्रहरी संयन्त्र परिचालन भएको यत्रो दिन विति सक्दा पनि एक जना पनि संचालक पक्राउ नहुँदा इमेज सहकारीका सेयर सदस्य र बचतकर्ताहरु निरास भएका छन् ।

प्रतिक्रिया दिनुहोस्