३ जेष्ठ २०८१, बिहीबार

 

विद्यामन्दिर पुस्तकालयले मनायो सिद्धिचरण जयन्ती

बागलुङ । युगकवि सिद्धिचरण श्रेष्ठको ११२औँ जन्मजयन्ती विविध कार्यक्रमसहित मनाइएको छ । विद्यामन्दिर पुस्तकालय, बागलुङले मङ्गलबार आयोजना गरेको जन्मजयन्ती समारोहमा नेपाली साहित्यमा युगकवि श्रेष्ठको योगदानबारे विमर्शसहित रचना वाचन गरिएको थियो ।

यगकवि श्रेष्ठको व्यक्तित्व र कृतित्वबारे चर्चा गर्दै साहित्यकार धनराज सापकोटा ‘जिज्ञासू’ले उहाँ क्रान्तिचेतले ओतप्रोत कवि भएको धारणा राख्नुभयो । सापकोटाले परिवर्तनको पक्षधर भएर लेखेकै आरोपमा युककवि श्रेष्ठले राणाकालनमा बन्दी जीवनसमेत बिताउनुपरेको दृष्टान्त सुनाउनुभयो ।

साहित्यकार एवं विद्यामन्दिर पुस्तकालयका संरक्षक समितिका सदस्य प्रेम छोटाले सिद्धिचरणलाई युगकविको उपमा जनस्तरबाट दिइएको उल्लेख गर्नुभयो । “सरकारी स्तरबाट नभई जनस्तरबाट उहाँलाई युगकवि भनिएको हो”, छोटाले भन्नुभयो, “सिद्धिचरण प्रगतिशील र यथार्थबादी कवि हुनुहुन्थ्यो ।”

वरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठले युगको प्रतिनिधित्व गर्ने प्रखर साहित्य स्रष्टाका रुपमा सिद्धिचरणलाई लिनुपर्ने बताउनुभयो । उहाँले पुस्तकालयले जन्मजयन्ती समारोह आयोजना गरेर सिद्धिचरणप्रति सम्मान गरेकामा पुस्तकालयको प्रशंसा गर्नुभयो ।

पुस्तकालयका कार्यवहाक प्रमुख संरक्षक लालचन्द्र राजभण्डारीले सिद्धिचरण श्रेष्ठका रचना पढ्दा जहिल्यै पनि नवीन चेत र उर्जा मिल्ने उल्लेख गर्नुभयो । उहाँले नेपाली साहित्य जगतका विशिष्ट प्रतिभाहरुको जन्मजयन्ती मनाउने परम्पराले नयाँ पुस्तालाई पनि भाषा, साहित्यको सेवामा लाग्न प्रेरित गर्ने बताउनुभयो ।

सो समारोहमा साहित्यकार धनराज सापकोटा ‘जिज्ञासू’, गुणराज पौडेल ‘गुराँस’, रामचन्द्र शर्मा, कोपिला कँडेल, ताराप्रसाद शर्मा ‘स्टार’, दिपन पाण्डेयलगायतले विभिन्न विधामा सिर्जना सुनाएका थिए । त्यसअघि समारोहका अतिथिलगायत सहभागीले युगकवि श्रेष्ठको तस्बिरमा पुष्पगूच्छा अर्पण गरेका थिए ।

पुस्तकालयका अध्यक्ष राम थापाले युगकवि श्रेष्ठले नेपाली र नेवारी साहित्यको उत्थानमा उल्लेख्य योगदान पु¥याएको बताउनुभयो । ओखलढुङ्गामा जन्मनुभएका उहाँका ‘मेरो प्यारो ओखलढुङ्गा’लगायतका कविता चर्चित छन् । अध्यक्ष थापाले पुस्तकालयले महाकवि लक्ष्मीप्रसाद देवकोटादेखि विशिष्ट साहित्यकारहरुको जन्मजयन्ती मनाउने गरेको उल्लेख गर्नुभयो ।

बर्सेनि तिहारको लक्ष्मी पूजाका दिन पुस्तकालयले प्रतियोगितात्मक साहित्य गोष्ठीसहित देवकोटा जयन्तीलाई भव्य रुपमा मनाउँदै आएको छ । पुस्तकालयले साहित्य उपसमिति नै गठन गरेर साहित्य प्रवद्र्धनमा अगुवाई गर्दै आएको छ ।

युगकवि श्रेष्ठको ११२औँ जन्मजयन्ती समारोहमा पुस्तकालयका अध्यक्ष थापाको अध्यक्षता, उपाध्यक्ष रामचन्द्र शर्माको स्वागत मन्तव्य र सचिव राजनप्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्