६ जेष्ठ २०८१, आईतवार

 

इमेज सहकारी र शिवशिखर सहकारीको समस्या बारे गृहमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । बागलुङ जिल्लामा संचालित इमेज बचत तथा ऋण सहकारीले हजारौं बचतकर्ताको निक्षेप अपचलन गरेर रातारात बेपत्ता भएको भन्दै पीडितहरूले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएको छ ।

गृहमन्त्री श्रेष्ठसँग भेटेर इमेज सहकारीको ठगी प्रकरण बारे सहकारीका अध्यक्ष देव कुमार नेपालीलाई पक्राउ गरि कार्वाही प्रक्रिया अगाडि बढाउन प्रहरीले आलताल गरि जनताको बचत माथि खेलवाड गरेको गुनासो समेत पोखेका थिए ।

ढोरपाटन नगरपालिकाका नगर प्रमुख समेत रहेका इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष समेत रहेका देव कुमार नेपालीले सहकारीमा बचतकर्ताको अरबौं रूपैयाँ हिनामिना गरेर एकाएक बेपत्ता भएको हुँदा समेत प्रहरी प्रशासन मौन भएको भन्दै भ्रष्टाचार बिरूद्व नागरिक अभियानका टोलिले प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा पुगि जिल्लाको वस्तुगत अवस्था बारे जानकारी गराइ अहिले फरार भएका अध्यक्ष देव कुमार नेपालीलाई तत्काल पक्राउ पुर्जी जारी गराउन अनुरोध गरेको भ्रष्टाचार बिरूद्व नागरिक अभियानका संयोजक एक बहादुर केसी संगमले बताए ।

गृह मन्त्रालयका सहसचिव जितेन्द्र बहादुर बस्नेत, सहकारी विभागका रजिस्टार नवराज घिमिरेसँग भेटेर बागलुङको शिवशिखर बहुउद्देश्यीय सहकारी र इमेज बचत तथा ऋण सहकारीको समस्या बारे अवगत गराउदै बचतकर्ताहरुको अरबौं रूपैयाँ अवचलन गरेर फरार भएका शिव शिखर बहुउद्देश्यीय सहकारीका पूर्वअध्यक्ष केदारनाथ शर्मा र इमेज सहकारीका अध्यक्ष नेपालीलाई तत्काल पक्राउ गरि बचतकर्ताको रकम सुरक्षित रूपमा फिर्ता गर्ने वातावरण बनाउन ध्यानाकर्षण गरेको केसीले बताए ।

गृहमन्त्रीका स्वकीय सचिव विजय गौतमले प्रधानमन्त्रीको कार्यालयले सिआइवी, सहकारी विभाग लगायतका सरोकारवालालाई बागलुङको सहकारीमा भएको घटना बारे जानकारी गराउदै तत्काल प्रक्रिया अगाडि बढाउन भनेका थिए ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख योगेन्द्र कुमार खड्काले सहकारी पीडितहरूले दिएको ठगी प्रकरणको उजुरी दर्ता गर्न समेत आनाकानी गरेर ठगी गर्ने सहकारीका अध्यक्ष नेपालीलाई भाग्न सहज वातावरण बनाएको गुनासो समेत गृह मन्त्रालयमा गराएका थिए ।

इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका मेयर नेपाली सपरिवार र अन्य संचालकहरु सहकारीको अराबौं रकम हिनामिना गरी जेठ ५ गतेदेखि फरार भएका थिए ।

इमेज सहकारीका अध्यक्ष देवकुमार नेपाली र अन्य संचालकहरुको विरुद्ध इमेज सहकारी पीडित संघर्ष समितिका अध्यक्ष दिल बहादुर कार्कीको नेतृत्वमा गएको टोलिले १७ गते बुधवार ठगी गरेको जाहेरी दिन जादा जिल्ला प्रहरी कार्यालय बागलुङले लिएन् ।

 

 

प्रतिक्रिया दिनुहोस्