५ जेष्ठ २०८१, शनिबार

 

ताराखोला गाउँपालिकाको हिलमा स्वास्थ्य शिविर सम्पन्न, ५ सय ८१ जना लाभान्वित

ताराखोला गाउँपालिकाको हिलमा स्वास्थ्य शिविर सम्पन्न, ५ सय ८१ जना लाभान्वित

बागलुङ । ताराखोला गाउँपालिकामा वडा नम्वर ३ हिलमा एकिकृत स्वास्थ्य तथा स्क्रिनीङ शिविर सम्पन्न सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङको समुदायमा आधारित बृहत स्वास्थ्य परियोजनाको आयोजनामा हिल स्वास्थ्य चौकीमा एकिकृत स्वास्थ्य तथा स्क्रिनीङ शिविर सम्पन्न भएको हो ।

शिविरबाट ५ सय ८१ जनाले सेवा लिएका थिए । सेवा लिएका मध्ये ५५ जनालाई निःशुल्क चस्मा वितरण गरिएको थियो भने १५ जनाको मोतिया बिन्दुको परीक्षण, २ जनाको जलबिन्दुको परीक्षण, १ जनाको जन्मजातनै मोतीया बिन्दु भएको परीक्षण र आँखामा समस्या भएका ४ जनालाई पोखरा रिफर गरीएको थियो । त्यस्तै ८४ जनाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरीएकोमा ४ जनालाई रेफर गरिएको छ ।

उक्त शिविरबाट मृर्गौला परीक्षण, चिनी रोगको परीक्षण तथा उपचार, दृष्टिदोष भएकाहरुको पहिचान, अन्य आँखा सम्बन्धी रोगको परीक्षण तथा उपचार, परिवार नियोजन सेवाः ईम्प्लान्ट तथा कपर टी राख्ने, यौन रोगको उपचार तथा परामर्श, पाठेघर क्यान्सरको परीक्षण तथा परामर्श, पाठेघर खस्ने समस्याको उपचार तथा परामर्श लगायतका सेवाहरु प्रदान गरिएको नेपाल परिवार नियोजन संघ बागलुङ शाखा सभापति निर्माण कुमार श्रेष्ठले बताउनु भयो ।

शिविर सञ्चालनको लागि ताराखोला गाउँपालिका स्वास्थ्य शाखा, धौलागिरि अस्पताल बागलुङ, नेपाल परिवार नियोजन संघ,बागलुङ, धवलागिरि आँखा अस्पताल बागलुङ, लायन्स क्लव अफ धवलागिरि बागलुङले समेत सहकार्य गरेको थियो । कार्यक्रममा ताराखोला गाउँपालिकाका अध्यक्ष धन बहादुर विक हिमालले ताराखोला गाउँपालिकाले स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताउनु भयो ।

नेपाल रेडक्रश सोसाइटी बागलुङका सभापति जगन्नाथ आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भिम बहादुर रोका, नेपाल नेत्र ज्योति संघ गण्डकी प्रदेश उपाध्यक्ष ध्रुर्व वहादुर केसी, परिवार नियोजन संघ बागलुङका सभापति निर्माण कुमार श्रेष्ठ,नेपाल नेत्र ज्योति संघ बागलुङका सभापति विन्दु सागर राजभण्डारी लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा धौलागिरि अस्पतालका मेडिकल अधिकृत शोभा पोडेलले कार्यक्रम बारे जानकारी दिनु भयो ।
कार्यक्रम ताराखोला गाउँपालिका वडा नम्वर ३ का वडा अध्यक्ष कर्ण बहादुर भण्डारीको स्वागत, रेडक्रसका उपसभापति राजेन्द्र आचार्यको धन्यवाद मन्तव्य र उपमन्त्री ढालेन्द्र गौतमको संचालनमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्