५ जेष्ठ २०८१, शनिबार

 

बागलुङ जिल्लालाई पूर्ण खोप सुनिश्‍चित जिल्ला घोषणा

बागलुङ । बागलुङ जिल्ला पूर्ण खोप सुनिश्चित भएको जिल्लाको रुपमा घोषणा भएको छ । जन्मेदेखि ५ वर्षसम्मका सबै बालबालिकाले आवश्यक पर्ने सबै खोप पाएको निश्चित भएपछि सोमबार बागलुङलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको हो ।

तोकिएको उमेर समूहका १० हजार ३ सय १८ बालबालिकाले सबै प्रकारका खोप पाएको र नवजात शिशुले पनि खोप पाउन थालेकोले दिगोपनको समेत घोषणा भएको छ । घोषणासभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव विनोद विन्दु शर्माले गण्डकी प्रदेशका सबै बालबालिकाले खोप पाएको सुनिश्चित भएको बताए । गोरखा जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेपछि प्रदेशलाई पनि खोप सुनिश्चित घोषणा गर्ने तयारी गरेको उनले बताए । उनले गण्डकी प्रदेशलाई स्वास्थ्य क्षेत्रमा अब्बल बनाउन पहल भएको समेत बताए ।

यससँगै सबै खोपको सुनिश्चित हुनेमा नेपालभर गण्डकी प्रदेश पहिलो प्रदेश हुनेछ । भौगोलिक कठिनाइ भए पनि गण्डकीका सबै पालिका र वडा तहका स्वास्थ्य चौकीले पनि अभियानमा अगुवाइ गरेको दाबी गरे । नेपाल सरकारले २०३४ सालमा बिफर उन्मुलन गरेपछि बाल मृत्युदर घटेको स्मरण गर्दै उनले अन्य रोगबाट पनि बचाउन धेरै सहज भएको बताए ।

घोषणा सभामा बागलुङका सबै पालिकाका प्रमुख तथा स्वास्थ्य शाखाका प्रमुखसमेत सहभागी भएर संयुक्त रुपमा हस्ताक्षर गरेका थिए । यसअघि असारको पहिलो सातामा १० वटै पालिकाले पालिका स्तरमा पनि घोषणासभा राखेपछि यो अवसर पाइएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले बताए ।

घोषणामा सहयोग गरेको भन्दै गण्डकी प्रदेश खोप समन्वय समितिले जिल्लाका सबै पालिकालाई सम्मानपत्र समेत दिएको छ । महिला स्वास्थ्य स्वयंसेविकासहित सबै स्वास्थ्यकर्मीले घरघरमा पुगेर शतप्रतिशत बालबालिकालाई खोप लगाउन सकेकाले सम्मानपत्र दिइएको हो ।

 

प्रतिक्रिया दिनुहोस्