४ कार्तिक २०८३, मंगलवार

 

सडक पेटी, होडिक बोर्ड र अवैध संरचना स्थानीयवासीले स्वतस्फुर्त रुपमा आफै हटाउन सुरु गरेका छन् : मेयर श्रेष्ठ

बागलुङ । बागलुङ नगरपालिका मेयर बसन्त कुमार श्रेष्ठले बागलुङ बजारका स्थानीयवासीले सडक पेटी र मापदण्डविपरीत बनाइएका अवैध संरचना आफै हटाउन सुरु गरेको बताउनु भएको छ ।

शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा हाम्रो अनुरोधलाई सहजै रुपमा स्वीकार गरेर नगरलाई सुन्दर, पैदल यात्रु र ट्राफिकमैत्री र व्यवसायीक गन्तव्यको रुपमा विकास गर्न स्थानीयवासीले स्वतस्फुर्त रुपमा सडक पेटी, होडिक बोर्ड र अवैध संरचना हटाउदै गरेकोले डोजर चलाउन आवश्यक नभएको मेयर श्रेष्ठले बताउनु भयो ।

बागलुङ नगरपालिकाले नगर क्षेत्रभित्र रहेका अवैध संरचना हटाउँदै मुख्य सडक, भित्री सडक खुल्ला र व्यवस्थित बनाउने सडक चौडा गर्ने, नाली व्यवस्थापन गर्ने अभियान सुरु गरेको बताउनु भयो । यसै गरी सार्वजनिक जग्गाहरूमा निर्माण गरिएका संरचनाहरू समेत हटाउने र व्यवस्थित रुपमा पुनर्निर्माण अभियानको थालनि गर्न लागेको मेयर श्रेष्ठले जानकारी दिनु भयो ।

नगरपालिकाभित्रको सडक चौडा गर्ने, नाली व्यवस्थापन गर्ने, सवारी चाप घटाउने, सडक पेटी भत्काउने र ट्राफिक व्यवस्थापन गर्नको लागि अभियान सुरु गरिएको श्रेष्ठले जानकारी दिएका छन्।पहिलो चरणमा मालढुंगा, ट्राफिक चोक, आवा रोड हुँदै बालमन्दिरसम्मको सडक सुधार गर्ने योजना रहेको छ ।

यसै गरी सदरमुकामका व्यस्त चोकहरूको व्यवस्थापन गर्ने र दोस्रो चरणमा सडक पेटी र घर टहरा भत्काएसँगै सडकका खाल्डा खुल्डी पुर्ने र आवश्यक भएको सडकमा पिच गर्ने नगरपालिकाले तयारी थालेको छ। नगरले मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्ड, व्यवसायीक विज्ञापन बोर्ड हटाउने भएको छ ।

त्यसको लागि आजदेखि घरदैलो अभियान सुरु गरेर सचेतना कार्यक्रम आयोजना गर्ने भनेका छौं त्यसको सुरुवात ट्राफिक चोकदेखि मरेपिपलसम्म गर्ने कार्यक्रम रहेको श्रेष्ठले भन्नु भयो ।बागलुङ बजारको सौन्दर्य कायम गर्ने, सडक फराकिलो बनाउने र सडक दुर्घटना न्यूनिकरण गर्नेलगायतका उद्देश्य राखी मापदण्डविपरीतका संरचना हटाउन थालेको बताउनु भयो ।

भदौ १ गतेसम्म अन्तिम समय दिएर मापदण्डविपरीतका घरटहरा हटाउन आग्रह गरिएको भन्दै त्यसपछि अटेर भएमा डोजर चलाउने श्रेष्ठले बताउनु भएको छ।नगरपालिकाले एकदुइ दिन भित्रै सबै भत्काउनुपर्ने संरचनामा चिन्ह लगाइ सकेको र घरधनीलाई नै भत्काउन लगाउने नगरपालिकाले जनाएको छ ।

त्यसपछि पनि नभत्केमा डोजर लगाएर भत्काउने काम हुनेछ । बजार क्षेत्रमा अव्यवस्थित र मापदण्डविपरीत बनेका सबै संरचना क्रमशः हटाउँदै जाने नगरप्रमुख श्रेष्ठले जानकारी दिनु भयो ।त्यस्तै बागलुङ बजारको ढल व्यस्थापन र मुख्य चोकहरुमा अग्लो हाई मास्ट बत्ती जडान गरिने बताउनु भयो ।

बजार क्षेत्रमा समस्याको रूपमा रहेको पार्किङको व्यवस्थापनको लागि आवयक गृहकार्य गरिरहेको बताउनु जानकारी दिनु भयो । बागलुङ नगरपालिकाले संचालन गरेको हाट बजार बन्द अवस्थामा रहेकोले त्यसको उचित स्थानमा व्यवस्थापन गरि संचालन गर्ने गृहकार्य थालिएको समेत नगरप्रमुख श्रेष्ठले जानकारी दिनु भयो ।

नगरपालिकाले बजार क्षेत्रको सडकपेटीमा राखिएका निर्माण सामग्री र पसलका सामानहर नगरप्रहरी खटाएर हटाउनुका साथै अव्यवस्थित ढंगले सञ्चालन गरिएका ठेलागाडा व्यापारीलाई पूर्ण रूपमा निषेध गरेको छ भने डोकोमा व्यापार गर्ने कृषकहरुलाई विहान ९ बजेभित्र र साँझ ६ बजेपछि व्यापार गर्ने सिमा निर्धारण गरेको बताउनु भयो ।

नगरपालिकाले ठेलागाडामा तरकारी, फलफूल, चटपटेलगायतको खुला व्यापार हटाउनेदेखि सडक अतिक्रमण गरी राखिएको सामान साउन १४ देखि हटाएको थियो।साँगुरो बजारको सडकमै जथाभावी ठेलागाडा तथा सडक व्यापारकै कारण सवारी आवागमन, ट्राफिक व्यवस्थापनमा समस्या, दुर्घटनाको जोखिम बढ्ने भन्दै नगरपालिकाले सो कदम चालेको थियो ।

पत्रकार सम्मेलनमा उपमेयर राजु खड्काले नगरपालिकाको अभियानमा साथ दिनु भएका सबैलाई धन्यवाद दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung