५ जेष्ठ २०८१, शनिबार

 

बागलुङमा आँखा पाक्ने रोगको संक्रमण बढ्दा उपचारमा प्रयोग गरिने औषधिको अभाव

बागलुङ । बागलुङ सदरमुकाममा आँखा पाक्ने रोगको संक्रमण बढ्दा बजारमा यसको औषधिको अभाव हुन थालेको छ। भाइरल कन्जङ्क्टीभाइटिसका कारण आँखामा संक्रमण हुने क्रम बढेसँगै आँखामा राख्ने र खाने औषधि अभाव भएको हो।

एकैपटक आँखाको संक्रमणमा प्रयोग गरिने औषधिको माग धेरै हुँदा बजारमा अभाव हुन थालेको बागलुङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद खनालले जानकारी दिनु भयो । आँखाको उपचारमा प्रयोग गरिने औषधिको माग धेरै हुँदा आँखामा प्रयोग गरिने औषधिको बजारमा अभाव देखिएको छ ।

सामान्य अवस्थामा आँखाको उपचार गर्ने बागलुङस्थित धौलागिरि आँखा अस्पतालमा मात्रै यस्ता औषधिको माग हुन्थ्यो तर अहिले बिरामीको चाप धेरै हुँदा सबै खालका औषधि पसलहरुमा औषधिको माग भइरहेको छ ।

नेपालमा उत्पादन हुने ५० प्रतिशत र बाहिरबाट आउने ५० प्रतिशत औषधिले बजारमा जाने गरेकोमा अहिले नेपालमा केमिकल अभावले औषधि उत्पादन नहुँदा कम्पनीहरुले ेमाग पु¥याउन नसकेको श्रीकृष्ण मेडिको कन्सन बागलुङका संचालक अनुप श्रेष्ठले नयाँ विश्वलाई बताउनु भयो ।

आफूसँग स्टक भएको औषधि अहिले उपलव्ध गराएको र केही दिनमा औषधि आउने श्रेष्ठले बताउनु भयो । नेपालमा आँखाको उपचारका लागि विभिन्न प्रकारका औषधि उत्पादन गर्दै आएको नेपाली कम्पनीले पनि एक महिनायता देशभरबाट आँखाको औषधिको माग बढेको भन्दै जिल्लामा औषधि पठाउन नसकेको श्रेष्ठले बताउनु भयो । बागलुङ बजारमा औषधी आपुर्ति गर्ने होलसेल व्यवसायीहरुले आँखामा राख्ने र खाने औषधीको माग बढेपछि माग पुृराउन सकेका छैनन् ।

भारतीय कम्पनीले उत्पादन गर्दै आएको आँखाको उपचारका लागि प्रयोग गरिने ‘ट्रोर्बा’ नामक औषधिको बजारमा अभाव रहेको छ।अहिले आँखाको उपचारमा प्रयोग गरिने डेन्टामेसिन‚ सिफ्रोफोक्सिन, ओफ्लोफिक्सिन, डोर्बामाइसिन’नामक एन्टिबायोटिक ‘आई ड्रप’ जस्ता औषधिको माग बजारमा धेरै रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको औषधि व्यवस्था विभागले भने एकैपटक आँखाको संक्रमणमा प्रयोग गरिने औषधिको माग धेरै हुँदा बजारमा अभाव देखिएको बताएको छ।नेपालमा सामान्य अवस्थामा आँखाको उपचारका लागि प्रयोग गरिने औषधिको माग एकदमै कम हुने हुँदा थोरै मात्र नेपाली कम्पनीले यस्ता औषधि उत्पादन गर्छन्।

तर आँखा पाक्ने रोगको संक्रमण बढ्दा अहिले आँखाको उपचारमा प्रयोग गरिने विभिन्न प्रकारका ‘आई ड्रप’को माग धेरै छ । आँखाका विरामीले आँखा अस्पतालमा र औषधी पसलहरुमा डाक्टरले सिफारिस गरेको औषधी नपाएर समस्यामा पर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्