१६ बैशाख २०८१, आईतवार

 

ग्लोबल आइएमई बैंकद्वारा क्यास तथा चेक डिपोजिटर मेसिन सञ्चालन

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले नगद तथा चेक जम्मा गर्ने मेसिन सञ्चालनमा ल्याएको छ।मेसिन सञ्चालनमा आएसँगै आफूअनुकूल समयमा बैंकमा रहेका क्यास तथा चेक डिपोजिटर मेसिनमार्फत ग्लोबल आइएमई बैंकमा रहेको खातामा नगद जम्मा गर्न सकिने छ।

बैंकले पाँचथान क्यास डिपोजिटर र पाँचथान चेक डिपोजिटर मेसिन सञ्चालनमा ल्याएको हो। बैंकले काठमाडौं उपत्यकामा कमलादी र न्युरोड तथा उपत्यका बाहिर इटहरी, नारायणगढ र बुटवल शाखामा क्यास डिपोजिटर मेसिन सञ्चालनमा ल्याएको छ भने काठमाडौं उपत्यकाभित्र कमलादी, न्युरोड, कुलेश्वर तथा काठमाडौं उपत्यका बाहिर पोखरा र वीरगन्ज शाखामा चेक डिपोजिटर मेसिन सञ्चालनमा ल्याएको हो।

बैंकको कमलादी शाखामा आयोजित एक कार्यक्रमबीच नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा बैंक सञ्चालक समिति अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त मेसिन उद्घाटन गरे।

अध्यक्ष ढकालले प्रविधि विकास र आमउपभोक्ता आकांक्षाअनुसार वित्तीय क्षेत्र विश्वभरि नै द्रुत गतिमा परिवर्तन भइरहेको बताए।

उनले ग्लोबल आइएमईले पनि समयानुकूल नयाँ प्रविधि आत्मसाथ गर्दै अघि बढ्दै गरेको बताए। ‘यो मेसिन इफिसिन्यसी, सुविधा र सुरक्षाको मिश्रण हो। यसले ग्राहकलाई आफूअनुकूल समयमा, बिना कुनै कागजी प्रक्रिया सुविधाजनक हिसाबले क्यास तथा चेक डिपोजिट गर्न सहयोग पुग्ने छ। समयको बचत हुनेछ । चौबिसै घन्टा सेवा उपलब्ध हुने हुँदा सेवा आफूअनुकूल लिन सकिने छ,’ ढकालले भने।

ग्लोबल आइएमई बैंकले हाल ३ सय ४८ शाखा, ३ सय ६९ एटिएम, ३ सय २२ शाखारहित सेवा, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १ सयभन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकलाई सेवा दिँद आएको छ।

क्यापिटल नेपालबाट

 

प्रतिक्रिया दिनुहोस्