१७ बैशाख २०८१, सोमबार

 

बागलुङमा ठगिँदै उपभोक्ता, मोटाउँदै होलसेल व्यापारी, ९० मा खरिद गरेको केरा १८० मा बेच्दै

बागलुङ । बागलुङ बजारमा पाकेको केराको खुद्रा बिक्री मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । एक वर्षको अन्तरालमा पाकेको केराको खुद्रा मूल्य १८० रुपैयाँसम्म पुगेको छ । बजारको प्रभावकारी अनुगमन नहुँदा मूल्यमा समेत अचाक्ली वृद्धि भएको छ ।

बजारको प्रभावकारी अनुगमन नहुँदा फलफूलको मूल्य आकाशियो

बागलुङमा प्रति दर्जन ९० देखि १ सय १० रुपैयाँ पर्ने केरा उपभोक्ताले १ सय ८० तिर्न बाध्य भएका छन् । बागलुङका थोक विक्रेताले पोखरा, चितवन र तराईबाट ९० देखि १ सय १० मा खरिद गरि प्रति दर्जन ५० रुपैया नाफा राखेर खुद्रा व्यापारीलाई १ सय ४० देखि १ सय ५० सम्ममा विक्री गर्ने र खुद्रा व्यापारीले उपभोक्तालाई १ सय ८० मा विक्री गर्ने गरेका छन् ।

अहिले बजारमा नेपाली केरा १ सय ५० र भारतीय केराको मूल्य १ सय ८० पर्ने गरेको छ । बागलुङमा नेपाली केरा र भारतीय केराको मूल्य प्रति दर्जन ३० देखि ४० रुपैया मूल्य अन्तर रहेकोको केही होलसेल व्यापारीले नेपाली केरालाइ नै भारतीय केरा हो भन्दै वढि मूल्य लिने गरेको एक खुद्रा व्यापारीले जानकारी दिए ।

होलसेल व्यापारीले आफूखुसी मुल्य लिदा त्यसको मार सर्वसाधारण उपभोक्तालाई पर्ने गरेको छ ।बाहिरी जिल्लाबाट गाडीमा आउने व्यापारीले खुद्रा व्यापारीलाई दिन नमिल्ने गरी होलसेल व्यापारीले सिण्डीकेट लगाएको कारण त्यसको मार उपभोक्तालाई परेको छ ।

होलसेल व्यापारीद्वारा फलफूलको  दोब्बर र तेब्बरसम्म मूल्यवृद्धि

होलसेल व्यापारीले ९० देखि १ सय १० पर्ने केरा होलसेल मूल्यमा आयात गरेर १ सय ५० सम्ममा वेच्ने गरेको ती खुद्रा व्यापारीले बताए । फलफूलको मूल्य दोब्बर र तेब्बरसम्म मूल्यवृद्धि भएको छ ।बागलुङ नगरपालिकाले केहि समयअघि देखि बाहिर जिल्लाका व्यवसायीलाई सामान ल्याउन रोक लगाएपछि त्यसको फाइदा उठाउँदै बिचौलियाको रजगज देखिएको छ ।

त्यसको प्रत्यक्ष मार उपभोक्तालाई परेको हो । बागलुङ बजारका केहि थोक केरा व्यापारी र खुद्रा व्यापारीको मिलेमतोमा भारतीय केराको मूल्य बढाएर नेपाली किसानले उत्पादन गर्ने केरा कम दरमा खरिद गर्ने गरिएको भेटिएको छ । जस्को कारण स्थानीय किसानले केरा लगाएत अन्य फलफूल र तरकारीको मूल्य पाउन सकेका छैनन् ।

स्याउमा पनि उपभोक्ता ठगिँदै

केरामा मात्र नभई बजारमा पाइने स्याउमा पनि उपभोक्ता ठगिदै आएका छन् । प्रतिकेजी २ सय ९० हाराहारी पर्ने फुजी स्याउ होलसेल व्यापारीले एक कार्टुनमा ८ सय नाफा राखेर खुद्रा व्यापारीलाई वेच्ने गरेका छन् ।

पोखरा तथा तराईका जिल्लाबाट आउने फलफूल का सवारीसाधनले बागलुङका होलसेल व्यापारीको सिण्डीकेटका कारण खुद्रा व्यापारीलाई बेच्न नपाउदा पनि होलसेल व्यापारीले आफूखुसी मूल्य निर्धारण गर्ने गरेका छन् । बागलुङमा अहिलेसम्म सम्बन्धित सरोकारवाला निकायले फलफूल तथा तरकारीको मूल्य निर्धारण गर्न नसक्दा उपभोक्ताको ढाड सेकिएको छ ।

महंगी नियन्त्रण र कालो बजारी अन्त्य गर्ने कुरा प्रशासनका अधिकारी र जनप्रतिनिधिले आफ्नो भाषणमा प्रायः छुटाउँदैनन् ।

स्थानीय किसानले नै पाउँदैनन् मूल्य

त्यतिमात्रै होइन्, कृषि उत्पादनमा जोड दिँदै वास्तविक किसानले मूल्य पाउने, उनीहरुको आर्थिक जिवनमा परिर्वतन ल्याउने र उपभोक्ताले गुणस्तरीय र सस्तो मूल्यमा वस्तु तथा सेवा उपलव्ध गराउने सबै तहको सरकारको नीति नै रहेको छ । तर, सरकारको भनाई र काम गराइले उपभोक्ता मारमा परेका छन् ।

बागलुङमा विभिन्न निकायहरूले गरेको बजार अनुगमन प्रभावकारी नभएको जनगुनासो बढिरहेको बेला बागलुङका होलसेल व्यवसायीहरूको मनपरी बढ्दै गएको छ ।

कस्ले रोक्ने होलसेल व्यवसायीको मनपरीतन्त्र ?

एउटै सामानको मूल्य पसलै पिच्छे फरक–फरक भेटिनु, मूल्य सूची नराखी सामानहरूको विक्रीवितरण गरिनु र अहिले सामान्य बन्ने गरेको छ । फलफूल र तरकारीको बजार माग बढ्ना साथ व्यवसायीहरुले आफूखुसी मूल्य बढाउदा पनि उनीहरुलाई कुनै निकायले पनि रोक्न सकेका छैनन् ।

बागलुङमा भारतबाट आयात हुने केराको गुणस्तर तथा नाप तौल कार्यालयले विषादी जाँच गरेको पाइदैन, जनप्रतिनिधिहरुले निवार्चनको बेला आफनो चुनावी घोषाणपत्रमा कृषिको जति चर्को कुरा उठाए पनि किसानको माग सुन्ने र केराको उत्पादन वृद्धि र बजार व्यवस्थापनमा कुनै चासो देखाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्