१८ बैशाख २०८१, मंगलवार

 

स्वास्थ्य मन्त्री बस्नेतद्वारा धौलागिरि अस्पताललाई डायलाइसिस मेसिन हस्तान्तरण

बागलुङ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धौलागिरि अस्पताललाई ५ थान डायलाइसिस मेसिन उपलब्ध गराएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले अस्पताललाई मेसिन हस्तान्तरण गर्नु भएको हो ।

डायलाइसिस मेसिन उपलब्ध गराइएपछि उपचारको लागि प्रतिक्षामा बसिरहेका मृगौला पीडित बिरामीलाइ उपचार गर्न सहज हुने भएको छ । अव ११ वटा मेसिनबाट नियमित डायलाइसिस सेवा संचालन हुने भएको अस्पतालले जनाएको छ ।

डाइलासिस गर्ने मेसिन संचालन गर्न चाहिने स्वास्थ्य जनशक्ति छिट्टै थप गर्ने मन्त्री बस्नेतले बताउनु भयो।अस्पतालमा हाल नियमितरूपमा ३९ जना मृगौलाका बिरामीहरूले डाइलासिस गरिरहेका छन् भने अस्पतालमा डाइलासिस गर्ने मेसिन कम भएको कारण ३२ जना बिरामीले पालो पर्खिएर बसिरहेका थिए ।

अव भने सहज रुपमा सेवा दिने सकिने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायण शर्मा पौडेलले बताउनु भयो । अस्पतालमा थप पाँच वटा मेसिन संचालनमा आएपछि महिनौ पालो कुर्नु पर्ने अवस्थाको अन्त्य भएको छ ।

धौलागिरि अस्पतालमा २०७६ सालदेखि निरन्तर डायलाइसिस सेवा प्रवाह हुँदै आएकोमा पछिल्लो समय अस्पतालमा सेवा लिने बिरामीको संख्या पहिलेको तुलनामा झण्डै दोब्बर भएको अस्पतालले जनाएको छ ।

मृगौला रोगका धेरै धेरै बिरामीहरु पहिले पोखरा, चितवन, काठमाडौँ पुगेर उपचारका लागि लाखौँ खर्च गर्नुपर्ने बाध्यता थियो, तर अब भने त्यो बाध्यता हटेको छ । विरामीले स्थानीय अस्पतालमै सेवा लिन पाएपछि समय र पैसाको समेत बचत भएको छ भने विरामीले छिटो सेवा पनि लिन पाएका छन् ।

धौलागिरि अस्पताल बागलुङको स्तर उन्नतिसँगै बागलुङ ,पर्वत ,म्याग्दी ,गुल्मी ,रूकुमसम्मका बिरामी उपचारको लागि आउने गरेका छन् ।डायलाइसिस मेसिन बागलुङसम्म ल्याउनको लागि बागलुङ नगरपालिकाले सहजिकरण गरेको थियो ।

शरीरमा पानीको मात्र कम हुँदा, निरन्तर झाडापखाला लाग्दा वा बान्ता हुँदा, अत्याधिक गर्मीमा काम गर्दा वा बस्दा र तत्काल दुखाई कम गर्ने एन्टीबायोटिक औषधीको बढी लिदा –अरिङ्गाल वा विच्छीले टोक्दा मृगौला रोग लाग्ने गर्दछ ।

 

प्रतिक्रिया दिनुहोस्