१९ बैशाख २०८१, बुधबार

 

काठमाडौं महानगरले पाँच ठाउँमा सुलभ फार्मेसी सञ्चालन गर्ने : ८० प्रतिशत कममा औषधि पाइने

काठमाडौं । काठमाडौं महानगरपालिकाले पाँच स्थानमा सुलभ फार्मेसी सञ्चालन गर्ने भएको छ । आगामी पुस पहिलो सातादेखि यी फार्मेसी सञ्चालनमा आउने छन् ।

पहिलो चरणमा बबरमहल, महाराजगन्ज, कालीमाटी, न्युरोड र क्षेत्रपाटी क्षेत्रमा सुलभ फार्मेसी सञ्चालनमा आउने छ । यस फार्मेसीबाट सर्वसाधारण उपभोक्ताहरुले निजी र सरकारीले भन्दा ८० प्रतिशत कम मूल्यमा औषधी पाउने छन् ।

यो पसल संचालनमा आएपछि महानगरका सर्वसाधारण जनतालाई ठूलो राहत हुनेछ । नीजि फार्मेसीहरूबाट आम उपभोक्ताले धेरै महंगोमा औषधी किन्नु पर्ने बाध्यता छ ।

अहिले फार्मेसीका लागि कोठा डिजाइन, औषधि सप्लायर्स कम्पनीहरूसँग औषधी किन्ने बारेमा छलफल, सफ्टवेयर निर्माण र जनशक्तिको बारेमा तयारी भइरहेको स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिनु भयो ।

यो फार्मेेसीमा अधिकांश रोगसँग सम्बन्धित औषधि उपलब्ध हुनेछ ।  फार्मेसीमा विक्री गर्ने औषधिको बजार मूल्य पनि टाँसिनेछ । महानगरले संचालनमा ल्याउन लागेको फार्मेसीले जनस्वास्थ्य ऐनअनुसार औषधि उपलब्ध गराउनेछ ।

महानगरले कति प्रकारका सस्ता र महँगा औषधि चाहिन्छ भन्ने अध्ययनपछि फार्मेसी खोल्ने तयारी गरिएको हो ।

यसको लागि महानगरले पहिलो चरणमा ६ करोड लगानी गर्नेछ । यो रकमले नपुगेमा आगामी पुसमा हुने नगरसभामा औषधि खरिद र फार्मेसीका लागि थप बजेट माग गर्ने योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्