१९ बैशाख २०८१, बुधबार

 

समस्याका चाङमाथि धौलागिरि अस्पतालको इमरजेन्सी वार्ड : अस्पताल प्रशासन र व्यवस्थापन समिति मुकदर्शक

बागलुङ । धौलागिरि अञ्चलकै पुरानो अस्पतालको इमरजेन्सी वार्डमा प्रयाप्त जनशक्ति र आवश्यक स्वास्थ्य सामग्रीको अभाव भएको छ ।म्याग्दी र पर्वतका बिरामीलाई समेत सेवा दिनुपर्ने भएपनि आवश्यक जनशक्ति र आवश्यक स्वास्थ्य सामग्री नहुँदा समस्या भएको हो ।

प्रयाप्त जनशक्ति नहुँदा एक जना मेडिकल अफिसर र दुई प्यारामेडिकल स्टाफले २४ घण्टा सेवा दिन वाध्य भएका छन् । दैनिक सय भन्दा वढी विरामी इमरजेन्सी वार्डमा आउने गरेका छन् । बागलुङ, म्याग्दी र पर्वतमा कोभिड, डेङ्गी तथा भाइरल ज्वरो फैलिदा इमरजेन्सी वार्डमा दैनिक एक सय भन्दा वढी विरामीको चाप बढ्दा चिकिन्सक र स्वास्थ्यकर्मी चर्को दवावमा काम गर्न परेको थियो ।

एउटा थर्मामिटरको भरमा इमरजेन्सी वार्ड

बागलुङमा डेङ्गी तथा भाइरल ज्वरो फैलिदा इमरजेन्सी वार्डका चिकित्सक र स्वास्थ्यकर्मीले जम्मा एउटा थर्मामिटरले काम चलाउनु परेको थियो । अस्पतालको इमरजेन्सी वार्डमा १४ वटा वेड छन् । सरकारले इमरजेन्सी कक्षमा पाँच वेड वरावर १ जना प्यारामेडिकल अफिसर, एक जना प्यारामेडिकल स्टाफ र एक जना नर्सिङ स्टाफ रहने मापदण्ड बनाएको छ ।

तर सो अनुसारको जनशक्ति अस्पताल प्रशासन र अस्पताल व्यवस्थापन समितिले व्यवस्था गर्न सकेको छैन् । इमरजेन्सी वार्डलाई रेड, एल्लो, ग्रीन गरि तीन तहमा वर्गीकरण गरिएको भए पनि आवश्यक मात्रामा चिकित्सक र स्वास्थ्यकर्मीको अभाव रहेको छ ।

अत्यधिक विरामीको चाप, थोरै चिकित्सक र स्वास्थ्यकर्मी

रेड जोनमा एक जना मेडिकल अफिसर, एक जना प्यारामेडिकल स्टाफ र एक जना नर्सिङ स्टाफ आवश्यक पर्छ तर सिंगो इमरजेन्सी वार्ड एक जना मेडिकल अफिसर र दुई प्यारामेडिकल स्टाफको भरमा चलेको छ । इमरजेन्सी वार्डमा विशेषज्ञ चिकित्सक पनि छैनन् ।

१६ जना विशषज्ञ चिकित्सकको दरबन्दी रहेको अस्पतलमा ९ जना मात्र विशेषज्ञ चिकित्सक छन् जस्को प्रभाव इमरजेन्सी वार्डमा पनि परेको छ । विरामीको बढ्दो चापलाई ध्यानमा राखेर इमरजेन्सी वार्डमा थप कक्ष र बेडको व्यवस्था गर्नु पर्ने देखिएपनि अस्पताल प्रशासन र अस्पताल विकास समितिले त्यस तर्फ कुनै पहल गरेको छैन् ।

इमरजेन्सी वार्डमा एन्टिवायोटिक औषधी, इन्जेक्सन तथा सर्जिकल सामानको अभाव

दशैँको लामो विदामा अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा इमरजेन्सी वार्डमा आउने गम्भीर प्रकृतिका विरामीहरुलाई पोखरा र काठमाडौं रिफर गर्नु पर्ने बाध्यता छ । इमरजेन्सी वार्डमा औषधी तथा सर्जिकल सामानहरू, डसना, तन्ना, सिरानी जस्ता ससाना समान समेत नहुँदा उपचारमा समस्या भएको छ ।

इमरजेन्सी वार्डमा अत्यावश्यक एन्टिवायोटिक औषधी, इन्जेक्सन, सिलाउने धागो लगाएतका स्वास्थ्य सामग्रीको अभाव छ। यस्तो अवस्थामा हामीले कसरी सेवा दिने एक जना चिकित्सकले भन्नु भयो । यस विषयमा कसैले पनि चासो दिएका छैनन् ।

अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षाको विषयमा पनि सरोकारवाला गम्भीर देखिदैनन् । सरकारी अस्पतालका इमरजेन्सी वार्डमा आवश्यक पर्ने औषधीको प्रयाप्तता हुनुपर्ने व्यवस्था भएपनि औषधीको व्यवस्था नहुँदा विरामीको उपचारमा समस्या आउने गरेको छ ।

चिकित्सक, ईन्चार्ज, स्टोरकिपर, फार्मेसीस, अस्पताल प्रशासन र व्यवस्थापन समितिबीच समन्वयको अभाव

हामीलाई ससाना कुराले समस्यामा पार्ने गरेको छ १४ वटा वेड छ, एउटा मात्र थर्मामिटर छ हामीले कसरी विरामीलाई इमरजेन्सी सेवा दिन सक्छौ एक स्वस्थ्यकर्मीले भन्नु भयो । इमरजेन्सी वार्डको समस्या र चुनौतीको बारेमा त्यहाँ काम गर्ने चिकित्सक र स्वास्थ्यकर्मी, इमरजेन्सी वार्डको ईन्चार्ज, स्टोरकिपर, फार्मेसीस, अस्पताल विकास समिति र अस्पताल प्रशासनबीच अहिलेसम्म कुनै पनि बैठक बसेको छैन् ।

डेङ्गी र भाइरल ज्वरोको प्रकोप फैलिदा इमरजेन्सी वार्ड विरामीले भरिदा समेत त्यसको व्यवस्थापनको विषयमा अस्पताल प्रशासन र अस्पताल विकास समितिले ध्यान दिएनन् । डेङ्गीको विरामी धेरै आउदा डेङ्गी संक्रमितले बेड पाउने पनि मुश्किल भयो ।

यस्तो बेला चिकित्सक र स्वास्थ्यकर्मीले जोखिम मोलेर काम गर्नु परेको थियो । यसरी चुनौती मोलेर काम गर्ने चिकित्सक र स्वास्थ्यकर्मीले झल्नु पर्ने मानसिक र शारीरिक समस्याको बारेमा कुनै निकायले ध्यान दिएको देखिदैन ।

 

डेङ्गी संक्रमित धेरै हुँदा १४ बेडको इमरजेन्सी वार्डमा ३५ जनासम्म राखेर उपचार

संक्रमित धेरै हुँदा १४ बेडको इमरजेन्सी वार्डमा ३५ जनासम्म राखेर उपचार गर्नु परेको थियो । डेङ्गी संक्रमितको नियमित रगत, प्रेसर र अक्सिजन जाँच गर्नु पर्ने भएकोले पनि थोरै जनशक्ति हुँदा तत्काल प्रभावकारी सेवा प्रदान गर्न सकस भएको थियो ।

यस्तो बेला चिकित्सक र स्वास्थ्यकर्मी २४ सै घण्टा खटिनु पर्छ । एक जनाप्यारामेडिकल स्टाफले १२ जनासम्म बिरामीको हेरचाह गर्नु परेको थियो । यस्तो कठिन बेला अस्पताल प्रशासनले एक जना पनि नर्सिङ स्टाफ पनि खटाउन सकेन ।साथै त्यस बेला औषधी तथा सर्जिकल सामानहरूको स्टक सकिएकोले उपचारमा समस्या भएको थियो ।

आइसियूमा राखेर उपचार गर्नुपर्ने विरामी बेडको अभावमा इमरजेन्सीमा वेटिङमा राख्नु पर्ने बाध्यता आइलाग्यो । तर उनीहरुले बेड कहिले पाउँने हो टुङ्गो थिएन । इमरजेन्सी वार्ड जस्तै अन्य वार्डहरुमा पनि धेरै समस्या छन् ।

अस्पताल प्रशासन र अस्पताल विकास समितिबीच आन्तरिक विवादका कारण बैठक बस्न नसक्दा चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरूले समस्या झेल्दै आएका छन् । अस्पतालमा चारैतिर समस्या हुँदा पनि अस्पताल प्रशासन र व्यवस्थापन समिति मुकदर्शक भएर बसेका छन् ।

प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रधानले खासै समन्वय गर्नु हुन्न : सदस्य कृष्ण शंकर श्रेष्ठ

अस्पताल विकास समितिका अध्यक्ष प्राय गाउँमा बस्नु हुन्छ । उहाँ नियमित अस्पतालमा आउन नसक्ने भएकोले पनि अस्पतालको समस्याको बारेमा छिटो समाधान पहिल्याउन सकेका छैनौं अस्पताल विकास समितिका सदस्य कृष्ण शंकर श्रेष्ठले बताउनु भयो ।

व्यवस्थापन समितिमा पनि जनस्वास्थ्य पृष्ठभुमि भएको वा त्यसमा रुचि भएको मानिस राज्यले राख्नु पर्छ श्रेष्ठले भन्नु भयो । अस्पतालमा प्रत्येक दिन समस्या आउछ, अस्पतालमा चारैतिर समस्या र चुनौति हुँदा पनि प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा रवि रञ्जन प्रधानले समन्वयनै गर्नु भएको छैन् श्रेष्ठको भनाई छ ।

यस विषयमा सरोकारवालाहरू मौन रहेको  श्रेष्ठले बताउनु भयो ।इमरजेन्सी वार्डमा भएको समस्याको बारेमा हामीलाई सबै जानकारी भएन । त्यसको लागि चिकित्सक, स्वास्थ्यकर्मी, ईन्चार्ज, फामेर्सीस, स्टोरकिपर र प्रमुख मेडिकल सुपरिटेन्डेन्टसँग हामी गहन छलफल गर्नेछौं उहाँले भन्नु भयो। इमरजेन्सी वार्डलगाएत सबै वार्डसँग समन्वय र छलफल भएको छैन अस्पताल विकास समितिका सदस्य श्रेष्ठले बताउनु भयो ।

समस्या समाधानको लागि अस्पताल प्रशासन पनि जिम्मेवार हुनु पर्छ : अध्यक्ष नारायण शर्मा

चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीसँग ४, ५ महिनामा बैठक बस्छौं । इमरजेन्सी वार्ड धेरैलाई छिटो सेवा दिनु पर्ने भएकोले चिकित्सक र स्वास्थ्यकर्मीलाई चुनौती छ अस्पताल विकास समितिको अध्यक्ष नारायण शर्माले नयाँ विश्वलाई बताउनु भयो ।

इमरजेन्सी वार्डलगाएत सबै सेक्टरबीच समन्वय र समस्या समाधानको लागि अस्पताल प्रशासन पनि जिम्मेवार हुनु पर्छ उहाँले भन्नु भयो । इमरजेन्सी वार्डको विषयमा देखिएको समस्या निराकरण गर्न पहल गर्ने शर्माले बताउनु भयो ।

अस्पतालको मुख्य चुनौती जनशक्तिको अभाव हो : निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा किरण तिवारी

इमरजेन्सी वार्डमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको समस्याको बारेमा प्रशासनको तर्फबाट के भएको हो हामी बुझछौ निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा किरण तिवारीले भन्नु भयो ।

इमरजेन्सी वार्डमा औषधी तथा सर्जिकल सामानलगाएत अन्य सामान आपुर्ति नभएको विषयमा चिकित्सक र ईन्चार्जसँग छलफल गछौैं उहाँले भन्नु भयो ।तिवारीले अहिले अस्पतालको मुख्य चुनौती जनशक्तिको अभाव रहेको भन्दै भएको जनशक्तिलाई कसरी टिकाउने र आवश्यक जनशक्ति ल्याउने विषयमा छलफल भइरहेको बताउनु भयो ।

इमरजेन्सी वार्डमा धेरै विरामी आउछन् त्यसैगरी ओपिडिमा पनि दैनिक तीन, चार सय विरामी आउछन् तर हामीसँग जनशक्ति सिमित छन् उहाँले भन्नु भयो ।

इमरजेन्सी वार्डमा नर्सिङ स्टाफ छैन, प्यारामेडिकल अफिसर र  प्यारामेडिकल स्टाफको पनि अभाव छ, सुरक्षाको पनि चुनौती छ  : ईन्चार्ज भरत शर्मा

अस्पतालको इमरजेन्सी वार्डमा एक जनाप्यारामेडिकल अफिसर, दुई जना प्यारामेडिकल स्टाफ र एक जना सहयोगीले मात्र सेवा दिनु भएको छ तर दैनिक सय जनाभन्दा धेरै विरामी इमरजेन्सी वार्डमा आउनु हुन्छ इमरजेन्सी वार्डका ईन्चार्ज भरत शर्माले भन्नु भयो ।

गत वर्ष हामीले २५ हजार विरामीलाई सेवा दिएका थियौ । इमरजेन्सी वार्डमा एक जना पनि नर्सिङ स्टाफ छैनन् । अहिले विरामीको चाप हेर्दा हामीलाई एक सिप्टमा दुई जना प्यारामेडिकल अफिसर, दुई जना प्यारामेडिकल स्टाफ र एक जना नर्सिङ स्टाफ आवश्यक रहेको शर्माले बताउनु भयो ।

हामीलाई कुनै समस्या पर्यो भने अस्पताल प्रशासनमार्फत जाने हो । वार्डलाई चाहिने औषधी तथा सर्जिकल सामानहरू मौजाद राखेका हुन्छौं तर सबै सामान भन्नासाथ पाईदैन जस्ले गर्दा कहिलेकाहि त्यहि कुराले समस्या खडा गर्छ शर्माले भन्नु भयो ।

इमरजेन्सी वार्डमा विरामीका साथसाथै उनका परिवारका सदस्यहरु धेरै आउने हुनाले सुरक्षाको चुनौती पनि हुन्छ । एक जना सुरक्षाकर्मी इमरजेन्सी वार्डको गेटमा आवश्यक देखिन्छ यसको बारेमा अस्पताल प्रशासन र अस्पताल विकास समितिले विशेष ध्यान दिनु पर्छ शर्माले बताउनु भयो।

जुनसुकै जटिल रोगको विरामीलाई सबैभन्दा पहिले ल्याउने भनेको इमरजेन्सी वार्डमा नै हो यहाँ प्राथमिक उपचार प्रभावकारी भयो भने विरामीलाई समयमै बचाउन सकिन्छ त्यसैले सबैभन्दा पहिले यस वार्डलाई मुख्य प्राथमिकतामा राख्नु पर्ने शर्माको भनाई छ ।

तस्वीर : दिनेश जिसी

प्रतिक्रिया दिनुहोस्