१९ बैशाख २०८१, बुधबार

 

जाडो मौसममा पनि किन बढ्दैछ डेंगु सङ्क्रमण ?

काठमाडौँ । जाडो याम सुरु भए पनि काठमाडौँका मुख्य अस्पतालहरूमा डेंगुका बिरामीको संख्या घट्नुको साटो बढ्दो छ । राजधानीको सिभिल, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा डेंगु सङ्क्रमित उपचारका लागि आउने क्रम बढेको अस्पतालहरूले बताएका छन् ।

ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्कले पनि डेंगु सङ्क्रमण बढेको पुष्टि छ । हालसम्म सङ्क्रमितको सङ्ख्या ४२ हजार ४११ पुगेको छ ।गत पुस महिना यता डेंगु सङ्क्रमणबाट २० जनाको मृत्यु भइसकेको छ ।

ईपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनीले पछिल्ला वर्ष जलवायु परिर्वतनसँगै डेंगु सार्ने लामखुट्टेले पनि वातावरण अनुकुल आफूलाई परिवर्तन गर्दै गएकाले हिमाल, पहाड अनि चिसो मौसममा पनि सक्रिय भएको सुनाउँछन् ।

डेंगु सार्ने लामखुट्टे १० देखि २५ डिग्री सेल्सियससम्म बाँच्न सक्छ । हिमाली तथा उच्च पहाडी क्षेत्रमा तापक्रम बढेसँगै लामखुट्टेका लागि प्रजनन् गर्ने वातावरण बन्दै गएको छ ।मलेरियालाई कम गर्ने क्रममा विगतमा विभिन्न प्रकारका औषधि छर्किंदा चुरे तलका साइड, कोशी टापुजस्ता क्षेत्रमा गएर लामखुट्टेले आफूलाई बचाउन सफल भएको अध्ययनमा संलग्न विज्ञहरूले बताए ।

डा. मरासिनीका अनुसार लामखुट्टे अति सानो प्राणी भए पनि धेरै चलाख हुन्छ । एडिस जातको लामखुट्टेले आफू बाँच्नका लागि हरप्रकारका तरिका अपनाउने गरेको विभिन्न अध्ययनले देखाएको छ ।मलेरियालाई कम गर्ने क्रममा विगतमा विभिन्न प्रकारका औषधि छर्किंदा चुरे तलका साइड, कोशी टापुजस्ता क्षेत्रमा गएर लामखुट्टेले आफूलाई बचाउन सफल भएको अध्ययनमा संलग्न विज्ञहरूले बताएको उनले सुनाए ।

‘लामखुट्टेको प्रजनन् हुने सम्भावना भनेको अब टायरभित्र हो । अरु भाँडामा जमेको पानी चाँडै चिसो हुन्छ । तर, टायरमा जम्मा भएको पानी दिनभर मज्जाले तात्छ । राति पनि तातो टायरमा जमेर बसेको पानी हत्तपत्त सेलाउँदैन, त्यहाँ लामखुट्टेको प्रजननका लागि अनुकुल वातावरण हुने सम्भावना हुन्छ,’ डा. मरासिनीले भने ।

उनले न्यूनतम तापक्रममा लामखुट्टेको प्रजननसँग सिधा सम्बन्ध रहेकाले अब सङ्क्रमणको दर कम हुने बताए ।एडिस जातको लामखुट्टेले घट्दो तापक्रमसँग बाँच्नका लागि संघर्ष गरेको पाइएको छ । चिसो मौसममा पनि एडिस जातको लामखुट्टेले बाँच्नका लागि आफ्नो क्षमताको विकास गरेकाले पनि पछिल्ला वर्षमा चिसो मौसममा पनि यो सक्रिय भएको छ ।

यद्यपि लामखुट्टेले हवाई, स्थलमार्ग हुँदै एक देशबाट अर्का देशमा पुगेर मलेरिया लगायतका रोग सारेको प्रमाणित भएको छ । यस्तै नेपालमा पनि हवाई र स्थल यातयात हुँदै तराईबाट हिमाल, पहाडमा पुगेर डेंगु सङ्क्रमण गराउन सक्ने सम्भावना भएकाले सचेत हुनुपर्ने उनको भनाइ छ ।

मरासिनी भन्छन्, ‘एडिस जातको लामखुट्टेले घट्दो तापक्रमसँग बाँच्नका लागि संघर्ष गरेको पाइएको छ । चिसो मौसममा पनि एडिस जातको लामखुट्टेले बाँच्नका लागि आफ्नो क्षमताको विकास गरेकाले पनि पछिल्ला वर्षमा चिसो मौसममा पनि यो सक्रिय भएको छ । एडिस जातको लामखुट्टे कठिन अवस्थामा पनि बाँच्न सक्छ ।’

उता ल्यानसेट जर्नलमा २०७६ सालमा ‘द डेंगी इपिडेमिक एन्ड क्लाइमेट चेन्ज इन नेपाल’ शीर्षकमा प्रकाशित अध्ययनमा वर्षासँगै बढ्दो तापक्रम, आद्रताका कारण डेंगु सार्ने लामखुट्टेका लागि वातावरण अनुकुल हुँदै गएको देखाएको छ ।१० डिग्री सेल्सियसभन्दा तल डेंगु सार्ने लामखुट्टे बाँच्ने सम्भावना हुँदैन ।

अर्थात् चिसो मौसम सुरु भए पनि यस समय डेंगु सार्ने लामखुट्टेका लागि उपयुक्त भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुन बताउँछन् ।कात्तिक, मंसिर महिना पनि डेंगु सार्ने लामखुट्टेलाई उपयुक्त समय बनेकाले डेंगु सङ्क्रमित भइरहेको उनले बताए । तर सङ्क्रमित बिरामी विगतमा जस्तो सिकिस्त भइ नआएको उनी सुनाउँछन् ।

ईडीसीडीका अनुसार डेंगु सङ्क्रमण गराउने भाइरसका डेन १, डेन २, डेन३ र डेन ४ हो । हाल सङ्क्रमण देखिएका व्यक्तिमा कुन भाइरसको सङ्क्रमण भएको भन्ने अध्ययन भएको छैन । नेपालमा विगतमा डेन २ र डेन ३ प्रजातिको डेंगु सङ्क्रमण पाइएको छ ।

यस्तै, एक प्रकारको प्रजातिको डेंगु सङ्क्रमण भइसकेको मानिसलाई पुनः अर्को पटक अर्को प्रजातिले सङ्क्रमण गर्न सक्ने र स्वास्थ्यवस्था गम्भीर हुन सक्ने चिकित्सकहरू बताउँछन् ।पाँच हप्तासम्म लामखुट्टेको आयु हुन्छ । त्यसैले वयस्क लामखुट्टे पाँच हप्ताभन्दा बढी बाँच्न सक्दैन । चिसो बढ्दै गएपछि क्रमशः अब नयाँ लामखुट्टे नबन्ने र सङ्क्रमण दर कम हुने पूर्व निर्देशक डा।मरासिनी बताउँछन् ।

रातोपाटीबाट

डेंगुबाट बच्ने उपायहरु

डेंगु एडिस लामखुट्टेले टोकेपछि हुन्छ । खासगरी यो लामखुट्टे रातमा नभई दिउँसो सक्रिय हुन्छ । रातको समयमा भने यसको खासै जोखिम हुँदैन ।अरु लामखुट्टे जस्तो यसको आवाज सुनिदैन र थाहै नपाई टोक्न सक्छ । खुट्टा, पाखुरा जस्तो लुगाले नछोपिएको भागमा टोक्छ । यद्यपि यसले टोक्नसाथ डेंगु लाग्छ भन्ने होइन । संक्रमित लामखुट्टेले टोक्यो भने मात्र डेंगु लाग्नसक्छ ।

कसरी थाहा हुन्छ ?

संक्रमित लामखुट्टेले टोकेपछि ज्वरो आउँछ । टाउको दुख्छ । वान्ता हुने, चक्कर लाग्ने, मांसपेशी वा जोर्नी दुख्ने, आँखाको भित्री भाग दुख्ने, शरीर गलेको महसुष हुनेगर्छ ।भुक्तभोगीहरुका अनुसार डेंगु निकै पीडादायक हुन्छ । डेंगु संक्रमित भएर उपचारका लागि दौडधूप गर्नुभन्दा यसको टोकाइबाट बच्नु सर्वोत्तम हो ।

१. यो लामखुट्टे बस्न र फैलन नदिने

आफ्नो घर, कार्यथलो आसपासमा राम्ररी सरसफाई गरेमा यो लामखुट्टे फैलन पाउँदैन । खासगरी पानीको ट्यांकी, ड्रम, बाल्टिनलाई राम्ररी छोप्ने ताकि, त्यहाँ यो लामुखट्टे छिर्न नसकोस् ।पानी जम्ने खाल्डाखुल्डी पुर्ने । घरबाहिर बोत्तल, टायर, प्लाष्टिकमा पानी जमेर यो लामखुट्टेले आफ्नो वासस्थान बनाउन सक्छ । त्यसैले त्यस्ता बस्तुहरुमा पानी जम्न नदिने ।

अध्याँरो कुना, पर्दा पछाडि, खाटको मुनी, शौचालय भित्र किटनाशक औषधि छर्कन सकिन्छ ।फुलदानी वा त्यसमा जम्ने पानीमा पनि यो लामखुट्टे बस्न सक्छ । त्यसैले पानी जम्ने वा ओसिलो सरसामन सफा राख्ने ।

२. पुरा शरीर ढाक्ने लुगा लगाउने

यो लामखुट्टे दिउँसो सक्रिय हुने भएकाले कुनैपनि बेला यसले टोक्न सक्छ । त्यसैले संभव भएसम्म पुरा शरीर ढाक्ने लुगा लगाउनुपर्छ । गर्मीमा हामी प्राय शरीर खुला राख्ने गर्छौं । यसले गर्दा लामखुट्टेलाई टोक्न सहज हुन्छ । बरु, पातलो वा हल्का लुगा भएपनि शरीर ढाक्नेगरी लगाउनुपर्छ । यसले लामखुट्टेको टोकाईबाट बचाउँछ ।

३. लामखुट्टे भगाउने धुप वा लिक्विडको प्रयोग

दिउसोको समय घर वा कार्यलयमा बसेर काम गर्नुपर्ने अवस्था छ भने लामखुट्टे भगाउने धुप वा लिक्विड प्रयोग गर्न सकिन्छ । यसले केही हदसम्म यसको जोखिमबाट बचाउँछ ।

४. क्रिमको प्रयोग

दिउसोको समयमा घरमा बस्दा, काम गर्दा वा कतै जाँदा ओडोमस नामक क्रिम लगाउन सकिन्छ, खासगरी लुगाले नछोपिएको भागहरुमा । यसले लामखुट्टेको टोकाईबाट केही हदसम्म बचाउँछ ।

५. झ्याल ढोकामा जाली

घर, कार्यलय वा कुनैपनि भवनको झ्याल ढोकामा राम्ररी जाली लगाइएको छ भने लामखुट्टे भित्र छिर्न पाउँदैन ।यद्यपि यी सबै अस्थायी उपायहरु हुन् र तर आजभोली एडिस लामखुट्टे नियन्त्रण गर्न हाल उपलब्ध सामग्रीहरू लामखुट्टे भगाउन प्रभावकारी नभएको हो कि भन्ने देखाउँछ । तसर्थ स्थायी रुपमा डेंगुबाट बच्न लामखुट्टेको लार्भा वा प्युपा समयमा नै खोजेर नष्ट गर्नु नै प्रभागकारी हुन्छ । यसलाई नष्ट गर्न सकेमा सहज नियन्त्रण गर्न सकिन्छ । नभए महामारी रुप लिन सक्नेछ ।

डा. शेरबहादुर पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन् ।(अनलाइनखबरबाट)

 

 

प्रतिक्रिया दिनुहोस्