बागलुङ । बागलुङ नगरपालिकाले दीपावलीको समयमा स्वास्थ्यमा प्रतिकुल असर गर्ने मिसावटयुक्त खाद्य पदार्थ विक्री वितरण गरेमा कडा कारवाही गर्ने भएको छ । बजारमा रंग मिसिएका झिनिया रोटीलगायतका खाद्यपदार्थ विक्री वितरण हुने गरेको र पटक पटक बजार क्षेत्रमा अनुगमन गर्दा म्याद गुज्रिएका सामानको बेचबिखन, सामानमा अखाद्य वस्तुको मिसावट तथा मुल्य सूचि नराखी विक्री वितरण गरेको पाइएपछि कडाई गर्ने तयारी गरेको हो ।
उपभोक्ता हित संरक्षण समितिको बैठकले बागलुङ बजारलाई चाडपर्वको बेला उपभोक्ता हितको लागि मूल्य सूची अनिवार्य राख्ने, म्याद गुज्रेका सामानहरुको छुट्टै जोन बनाइ विक्री वितरण नगर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।
साथै बैठकले मिसावट भएका सबै खालको रोटी र सबै प्रकार खाद्य पदार्थहरु विक्रीवितरण नगर्न, मूल्य तोकिएका खाद्यन्न, पानीलगायतका पेय पदार्थहरु तोकिएकै मूल्यमा विक्री वितरण गर्न, दर्ता नभएका र मापदण्ड नपुगेका मासु पसलहरुले कानुनी प्रकृया पुरा गराउन, दीपावलीको अवधिमा प्लाष्टिक जन्यफूलमाला, पटका निषेध गर्ने निर्णय गरेको छ ।
नगरपालिकाले आयात प्रतिस्थापन गर्न आयतित प्लास्टिकका फूलमाला विक्रीमा रोक लगाएको बागलुङ नगर अनुगमन समितिका संयोजक तथा नगर उपप्रमुख राजु खड्काले बताउनु भयो । दीपावली र नेपाल संम्वत् नजिकिँदै गर्दा स्थानीयस्तरमा उत्पादन भएका फूलको प्रयोग गर्न खड्काले आग्रह गर्नु भयो ।
बागलुङमा झिनिया रोटीको प्रयोग समेत उच्च रहेकोले रङ्ग नहाली झिनिया रोटी बनाउन र उपभोक्तालाई पनि रङ्ग नभएको झिनियाँ रोटी खरिद गर्न आग्रह गरिएको बताउनु भयो ।
अन्य उपभोग्य सामग्रीहरुका साथै पटकाजन्य विष्फोटक पदार्थहरु खरीद तथा विक्री वितरण र भण्डारण नगर्न आग्रह समेत गरिएको छ ।अनुगमनका क्रममा उक्त निर्णय विपरित कुनै कार्य गरेको पाइएमा कानून बमोजिम कारवाहि प्रकृया अगाडि बढाईने बागलुङ नगरपालिकाका बजार अनुगमन अधिकृत युक्त प्रसाद सुवेदीले नयाँ विश्वलाई बताउनु भयो ।























































































































































































