उनले स्थापना गरेको राजनीतिक परामर्शदातृसंस्था किसिन्जर असोसिएट्सले एउटा विज्ञप्तिमा हेनरी किसिन्जरको आफ्नै घरमा मृत्यु भएको जनाएको छ। विज्ञप्तिमा उनको मृत्युको कारण भने खुलाइएको छैन।
किसिन्जरको नेपालका राजा महेन्द्र र राजा वीरेन्द्रसँग राम्रो सम्बन्ध थियो। उनी सन् १९८५ मा नेपाल आएका थिए।आफ्नो दशकौँ लामो कूटनीतिक तथा राजनीतिक जीवनमा किसिन्जरले अमेरिकी विदेश र सुरक्षासम्बन्धी नीतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। यद्यपि उनको भूमिका बेलाबेलामा विवादित पनि भयो।

१०० पटक चीन भ्रमण
पदमा रहँदा पनि र नरहँदा पनि किसिन्जर चर्चामा रहिरहने खालका वरिष्ठ कूटनीतिज्ञ थिए। अमेरिका र चीनबीच सम्बन्ध चिसिएको र दुवै देशले सम्बन्ध सुधार गर्न खोजिरहेका बेला गत जुलाईमा उनले बेइजिङ भ्रमण गरेका थिए।

त्यस बेला किसिन्जरबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा व्यापक चर्चा भएको थियो। उनलाई चिनियाँ राष्ट्रपति सी जिन्पिङले स्वागत गरेका थिए।अमेरिकाले उनी एक नागरिकको रूपमा व्यक्तिगत भ्रमणमा रहेकोमा जोड दिएको थियो।
उनले १०० पटकभन्दा बढी चीनको भ्रमण गरेका थिए। उनलाई “चीनका मित्र” पनि भनिन्थ्यो। किसिन्जरले सन् १९७० को दशकमा कूटनीतिक रूपमा एक्लिएको चीनलाई खुला हुन सघाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
नोबेल शान्ति पुरस्कार र विवाद
सन् १९७३ मा अमेरिकी विदेशमन्त्री रहेका किसिन्जरले त्यस वर्ष नोबेल शान्ति पुरस्कार पाएका थिए।अमेरिकी विदेशनीतिका केही विवादित घटनाक्रममा संलग्न भएका उनलाई दिइएको पुरस्कारले धेरैलाई अचम्ममा पार्यो।
क्याम्बोडियामा भएका गोप्य बम हमला र दक्षिण अमेरिकामा क्रूर सैन्य शासकहरूलाई सहयोग गर्ने जस्ता घटनाक्रममा उनको संलग्नता रहेको बताइन्थ्यो।किसिन्जरलाई उत्तर भियतनामी नेता ले डक थोसँगै भियतनाम युद्धमा युद्धविराम गराउन भूमिका खेलेको भनेर पुरस्कृत गरिएको थियो।
यससँगै नोबेल पुरस्कार समितिका दुईजना सदस्यहरूले राजीनामा दिएका थिए भने न्यूयोर्क टाइम्स पत्रिकाले त्यसलाई ‘नोबेल युद्ध पुरस्कार’ भनेर प्रतिक्रिया जनाएको थियो।

प्राध्यापनदेखि कूटनीतिसम्म
किसिन्जरले सन् १९६० र १९७० को दशकमा अमेरिकी विदेशनीतिमा प्रभावशाली भूमिका खेलेका थिए।उनले सन् १९७३ मा भियतनाममा अमेरिकी संलग्नताको अन्त्यका लागि भएका वार्ताहरूलाई सफल बनाएका थिए।
किसिन्जर सन् १९२३ मा जर्मनीमा एक यहुदी परिवारमा जन्मिएका थिए। नाजीहरूबाट बच्न किसिन्जरको परिवार सन् १९३८ मा आप्रवासीका रूपमा अमेरिका पुगेको थियो। उनी सन् १९४३ मा अमेरिकी नागरिक बने।

तर उनले बेलाबखत अमेरिकी सरकारको सल्लाहकारका रूपमा काम गरे।सन् १९६९ मा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले किसिन्जरलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेका थिए। त्यसको चार वर्षपछि उनी विदेशमन्त्री भए।अमेरिकाबाहिर जन्मेर उक्त पद सम्हाल्ने उनी प्रथम व्यक्ति हुन्।
बीबीसीनेपालीबाट













































































































































































































