१५ बैशाख २०८१, शनिबार

 

सातौं बागलुङ महोत्सवको राष्ट्रपति रामचन्द्र पौडेलद्वारा उद्घाटन

बागलुङ । सातौं बागलुङ महोत्सवको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नु भयो ।

बुधबार महोत्सवको राष्ट्रपति पौडेलले उद्घाटन गर्नु हुँदै नेपालको ७ वटा प्रदेश मध्ये गण्डकी प्रदेश दुईवटा छिमेकी चीन र भारतलाई जोड्ने सडक मार्ग कालीगण्डकी कोरीडोरबाट आर्थिक रुपमा अगाडि बढ्न सहयोग पुग्ने बताउनु भयो ।

हिजो संविधान बनाउदा पनि संविधानसभामा ठूलो लडाइँ लड्नु परेको र बागलुङको ढोरपाटनलाई बचाउन समेत आफूले भूमिका खेलेको राष्ट्रपति पौडेलले सम्झना गर्नु भयो ।

कालीगण्डकी कोरीडोर र मध्यपहाडी राजमार्ग बागलुङको मात्र नभएर समग्र गण्डकी प्रदेशको गौरव भएको र बागलुङ महोत्सवले स्थानीय उत्पादनलाई बजारीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बताउनु भयो । कार्यक्रममा सातौं बागलुङ महोत्सवका संयोजक नरेश कँडेल, बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ, संघीय सांसदहरु चित्रबहादुर केसी, देवी भट्टचन, देवेन्द्र पौडेल, गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री दिपेन्द्र थापाले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

महोत्सवले पर्यटन प्रवर्धन र स्थानीय उत्पादनलाई बजारीकरण गरी बागलुङको आथिक बजारलाई चलायमान गराउने आशा गरिएको छ । महोत्सवमा १२० भन्दा बढी स्टलहरुमार्फत राष्ट्रिय र स्थानीय वस्तु तथा सेवाको प्रदर्शन गरिएको छ । महोत्सवमा विभिन्न सांस्कृतिक झाँकीसहित नगर परिक्रमा गरिएको थियो ।

महोत्सवमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्र प्रसाद ढकाल, प्रभु बैंकका सिइओ अशोक शेरचन ,बागलुङ उद्योगले वाणिज्य संघका पूर्वअध्यक्ष सहदेव राजभण्डारी ,ध्रुवराज गौतम ,बसन्त कुमार श्रेष्ठ ,जयराम भारी र युवराज राजभण्डारीलाई सम्मान गरिएको थियो ।

कार्यक्रमको संचालन बागलुङ उद्योग वाणिज्य संघका महासचिव ऋषिराम गौतम र प्रेस सल्लाहकार सुभास आचार्यले गर्नु भएको थियो ।

महोत्सवका अवसरमा सर्वाधिक राशीको पुरुष भलिबल प्रतियोगिता, खुल्ला नृत्य, दोहोरी गीत लगायतका एक दर्जन प्रतियोगिता आयोजना गरिनेछ। महोत्सवमा राष्ट्रिय र स्थानीय कलाकारहरुको सांगेतिक प्रस्तुत रहने आयोजकले जनाएका छन्।

तस्वी र: रामप्रसाद घिमिरे

प्रतिक्रिया दिनुहोस्