२० बैशाख २०८१, बिहीबार

 

बागलुङ बजारको सडकमा किताब बेचिरहेका महावीर पुन

बागलुङ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको जीवन कथामा आधारित पुस्तक ‘महावीर पुन- सम्झना, सपना र अविरल यात्रा’ बागलुङ बजारमा सयौं कपी विक्री भएको छ । पुन यतिबेला किताब बेच्ने क्रममा बागलुङ बजारमा आउनु भएको हो ।

सोमबार साँझ किताब बेच्ने देश दौडाहामा निस्केका उनी म्याग्दी जिल्लाको बेनी बजारबाट मंगलबार दिउँसो बागलुङ बजार आइपुृगेका हुन्। यो पुस्तक विद्यार्थी, सांसद, व्यवसायी, उद्योगी, शिक्षासेवी, समाजसेवी, प्रहरी जवान र युवाहरुले किनेका छन् ।

पुनले पुस्तकमा आफ्नो हस्ताक्षर गरेर पाठकलाई पुस्तक बिक्री गरेका थिए । राष्ट्रिय आविस्कार केन्द्रको अभियान देशको हितमा भएकोले अभियान सफल बनाउन पुस्तक खरिद गरेको रोटरी क्लब अफ बागलुङका अध्यक्ष दिपेन्द्र घिमिरेले नयाँ विश्वलाई बताउनु भयो ।

पुनको अभियानले देशको आद्यौगिक विकासमा टेवा पुग्ने र रोजगारी सृजना हुने भएकोले पुस्तक खरिद गरेको समाजसेवी श्याम श्रेष्ठले बताउनु भयो । ‘किताब बजारमा आएको त असोजमै हो, तर यसरी देश दौडाहामा हिँडेकोचाहिँ एकदुई दिन भयो उनी भन्छन्, ‘अब म निस्केँ।

केही महिना देश दौडाहामै हुन्छु।’ किताब उत्साह जनक रुपमा बिक्री भइरहेको छ। उनले आफू अहिले कुन ठाउँमा छु र अब कुन ठाउँमा जाउँदैछु भन्ने बारे उनले फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जालमा सार्वजनिक गर्ने गर्छन्।

छिनका छिनमै उनका पोस्टहरु रिट्वीट र सेयर हुन्छन्। बजारमा प्रवेश गर्ने वित्तिकैदेखि किन्नेहरूको लाम लाग्ने गर्छ। ‘यही गतिमा बिक्री भइरह्यो भने आविष्कार केन्द्रको लक्ष्य पूरा हुन्छ।’उनले सो पुस्तक बेचेको रकमले वीरगञ्जस्थित कृषि सामग्री कम्पनी पुनसञ्चालन गर्ने योजना बनाएका छन्।

राष्ट्रिय आविष्कार केन्द्रले त्यो कारखाना १५,२० करोडमा पुनसञ्चालन योजना बनाएको छ ।

त्यसका लागि कम्तिमा पनि दुईलाख थान किताब बेच्नुपर्छ। पुस्तकको मूल्य प्रतिथान ७५० रुपैयाँ रहेको छ। राष्ट्रिय आविष्कार केन्द्रले प्रकाशन गरेको उनको पुस्तक बिक्री गर्न थोक बिक्रेताले कमिशन मागेपछि उनी स्वयं पुस्तक बिक्री गर्न देश दौडाहामा निस्केका हुन्।

गत असोज २८ मा सार्वजनिक भएको उनको पुस्तक तीन महिनाको अवधिमा २५ हजारभन्दा बढी प्रति बिक्री भइसकेको छ । उनको पुस्तक विदेशमा पनि बिक्री भइरहेको छ ।

तस्वीर:दिनेश जिसी

 

 

प्रतिक्रिया दिनुहोस्