२४ बैशाख २०८१, सोमबार

 

गलकोटलाई क्षयरोग मुक्त पालिका बनाउन नगरप्रमुख भरत शर्मा गैरेको अध्यक्षमा समिति गठन

गलकोट । गलकोट नगरपालिकामा क्षयरोग मुक्त अभियान कार्यक्रम अन्तर्गत पालिका स्तरीय क्षयरोग मुक्त अभियान समिति गठन तथा अभिमुखीकरण गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।

गलकोट नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा नेपाल सरकारको सशर्ततर्फ गलकोट नगरपालिकालाई क्षयरोग मुक्त घोषणा कार्यक्रम परेको हुँदा गलकोट नगरपालिकामा पहिलो चरणमा आज पालिका स्तरीय क्षयरोग मुक्त अभियान समिति गठन तथा अभिमुखीकरण गोष्ठी कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रमको पहिलो चरणमा आज गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेको अध्यक्षतामा २२ सदस्यीय पालिका स्तरीय क्षयरोग मुक्त अभियान समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा गलकोट नगरपालिकाका नगर उपप्रमुख फमलाल निउरे र सदस्य सचिवमा गलकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुशिल पौडेल रहनुभएको छ ।

कार्यक्रममा गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले गलकोट नगरपालिकालाई अब छिट्टैनै क्षयरोग मुक्त पालिका घोषणा गर्ने भएकोले सम्पुर्ण जनप्रतिनिधी, स्वास्थ्यकर्मी लगायतलाई आआफ्नो तर्फबाट लाग्नको लागि आग्रह गर्नुभएको थियो ।

उक्त कार्यक्रमको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ निरीक्षक देव प्रकाश घिमिरे, गलकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुशिल पौडेलले सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य प्रशासक वावुराम आचार्य, गलकोट नगरपालिका वडा नम्वर १ देखि ११ सम्मका वडा अध्यक्षहरु, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका, गैर सरकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेको अध्यक्षता र क्षयरोग मुक्त कार्यक्रम संयोजक भृकुटी कार्कीको स्वागतमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्