२७ बैशाख २०८१, बिहीबार

 

प्राज्ञिक उन्नयनको चिन्ता

थोमस रोबोर्ट माल्थसले जनसङ्ख्या र खाद्यान्न वृद्धिबिचको असन्तुलनबाट उत्प्रेरित भई समाधान दिने क्रममा जनसङ्ख्याको सिद्धान्त प्रतिपादन गरे । माल्थसकै सिद्धान्त अनुसार हामीले पनि शैक्षिक धरोहर त्रिभुवन विश्वविद्यालयका समस्याका कारण पहिचान गरी समाधान गर्न विस्तृत खाका ल्याउन जरुरी भएको छ ।

युएनका अनुसार आगामी १ जुलाई २०२४ मा नेपालको जनसङ्ख्या तीन करोड आठ लाख ९६ हजार ५६० पुग्ने अनुमान छ । यसको वार्षिक वृद्धिदर १.१४ प्रतिशत छ भने वर्षमा थपिने शुद्ध सङ्ख्या तीन लाख ४९ हजार १० छ । अर्कातिर देशबाट बर्सेनि बाहिरिने युवाको सङ्ख्या थपिने सङ्ख्याको झन्डै दोब्बर छ ।

नेपाली समाजमा साधन र स्रोतको उच्चतम प्रयोगको सम्भावना भएर पनि हाम्रा युवाले विदेशमा कहालीलाग्दो जीवन व्यतीत गरिरहेका छन् । मुलुकभित्रै विश्वविद्यालयबाट प्रदान गरिने ज्ञान, सिप र अनुभवमाथि विश्वास गर्न सकेको छैन ।

विश्व समुदायबाट ज्ञान, सिप र अनुभव बटुल्ने र आफ्नो मुलुकको सिप एकापसमा आदानप्रदान गरेर आफ्नो देशको जनशक्तिलाई आफ्नै देशमा उपयोग गर्ने वातावरण सिर्जना गर्नु आवश्यक छ । हामीले त्रिभुवन विश्वविद्यालय जस्तो संस्थालाई प्रभावकारी बनाउन सकिरहेका छैनौँ । सरकारका प्रणालीलाई समेत कमजोर तुल्याएका छौँ । हाम्रो समाज, मुलुक, छिमेकी अनि विश्व समुदायका नजरबाट हाम्रो साख गिर्दै गएको छ ।

विश्वविद्यालयले असल, चरित्रवान्, नैतिकवान्, सक्षम जनशक्ति उत्पादन गरेर दिन सकिरहेको छैन । हाम्रो अधिकांश नेतृत्व गण विश्वविद्यालयको उपार्जित ज्ञान, सिप दक्षताभन्दा पनि स्थानीय सङ्कीर्ण सोच, गुट र स्वार्थमा रमाइरहेको छ । यसमा अरू कसैको नभई हाम्रा विश्वविद्यालय हाँक्ने नेतृत्वका गम्भीर कमजोरी छन् ।

एउटा विश्वविद्यालय हाँक्ने व्यक्ति देवदूतका रूपमा रहन सक्नु पर्छ । विश्वविद्यालय हाँक्ने व्यक्तिको छवि निष्कलङ्क हुनु पर्छ । उसले देशलाई हाँक्ने नेतृत्व वर्गलाई पनि दिशा निर्देश गर्ने ल्याकत राख्नु पर्छ । नेताहरूले विश्वविद्यालय हाँक्न क्षमतावान् व्यक्ति छनोट गरी आफ्नो समाज, मुलुक अनि समग्र विश्व मानव समुदायको हितमा लाग्ने ‘इग्गलमाइन्ड’ अवधारणाबाट अघि बढ्नु पर्छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्रिवि कुलपतिको हैसियतमा पहिलो पटक आह्वान गरिएको उपकुलपति चयनको विज्ञापन रद्द गर्न लगाई दोस्रो पटक खुला प्रतिस्पर्धाबाट कार्यकारी उपकुलपति चयन गर्ने बाटो खुलाउन निर्देशन दिनुभयो ।

उपकुलपतिका लागि इच्छुक र योग्य व्यक्तिबाट दरखास्त लिन ‘आधारभूत मापदण्ड–२०८०’ नै तोकी आह्वान गरियो । हाम्रो समाजले अझै पनि योग्य, क्षमतावान् व्यक्ति नियुक्त हुन्छ भनेर विश्वास गर्न सकिरहेको छैन । हामो शैक्षिक क्षेत्रबाट नेता गणप्रतिको उच्चतम् सम्मानयोग्य हैसियत उपलब्ध गराउन नसक्नुको परिणाम पनि हो ।

आशा गरौँ, त्रिवि मात्रै होइन, मुलुकले नै विकराल अवस्था बेहोरिरहेका बेला नेतृत्वलाई समेत सही मार्गनिर्देश गर्न सक्ने इमानदार, नैतिकवान्, सक्षम व्यक्तिका रूपमा त्रिविले नयाँ र बिसौँ उपकुलपति पाउने छ । जसले त्रिविको कायापलट गर्न सकोस् ।

माल्थसले जनसङ्ख्यासम्बन्धी समस्याको चुरो कारण र परिणामबारे विश्व समुदायको ध्यान आकर्षित गरेका थिए । उनले समाधानका उपायबारे आफ्ना स्पष्ट धारणा सार्वजनिक गरेका थिए । विश्व समुदायलाई समयमै सचेत पारी जीवन सहज बनाउन हालसम्म पनि यसले बलियो योगदान पु¥याइरहेकाले उनलाई विश्व समुदायले सम्मान गर्दै आएको छ ।

त्रिविको नयाँ कार्यकारी उपकुलपतिका अगाडि पनि माल्थस बन्ने अवसर प्राप्त हुने छ । विश्वविद्यालयभित्र रहेका ज्वलन्त समस्या, तिनका कारण, चुनौती, समाधानका उपाय खोज्न सक्ने हिम्मत र हैसियत दुवै हुनु पर्छ । समस्यालाई बुँदागत रूपमा पहिचान गरी त्यसको समाधान दिने हैसियत राख्न सक्ने हो भने त्यो त्रिवि इतिहासकै हिरो बन्ने छ । पङ्क्तिकारले पनि उपकुलपतिको दरखास्तमा यसबारे उल्लेख गरेको छ । जुन कुरा उपकुलपति चयन भएपछि सार्वजनिक गर्ने छु ।

त्रिविका संरचनागत समस्या

त्रिवि विसं २०१६ सालमा स्थापना भएको हो । यसका स्थापना कालदेखिका मक्किएका संरचना रहेका छन् । तिनको समयसापेक्ष सुधार गरी अगाडि बढ्न नसक्नु हाम्रा लागि चुनौतीको विषय हो ।

यसका लागि हामीसँग स्थानीय तहदेखि प्रदेश, केन्द्र सरकार मात्र हैन, नागरिक समाजलगायत छिमेकीसँगै विश्व समुदायको सहयोग, आफ्नै विश्वविद्यालयको सम्पत्तिको उच्चतम् उपयोग, इमानदारी र उच्च नैतिक बल भएको विश्वविद्यालयकै नेतृत्वबाट सम्भव छ भनी सिद्ध गर्न सक्नु पर्छ । जुन विषय पङ्क्तिकारले पेस गरेको भिजन पेपरमा पनि उल्लेख गरेको छ ।

प्राज्ञिक क्षेत्रका सुधार

राजनीतिक अस्तव्यस्तताले गिजोलिएको त्रिविले निकास पाउनै पर्छ । विश्वविद्यालय पढ्ने–पढाउने, अनुसन्धान गर्ने विश्वका नयाँ ज्ञान ग्रहण गर्ने, आफूले आर्जन गरेका ज्ञानलाई विश्व समुदायमा पु¥याउने बाटो तय गर्नु पर्छ ।

कुनै समय त्रिवि राजनीतिक बफादारीको केन्द्र नहुँदा माथिका विषयले महत्व पाउँथ्यो । अहिले सन्दर्भ बदलिएको छ, हामी लथालिङ छौँ तर सम्हालिन जरुरी छ, सम्भव पनि छ । हामीले विश्वविद्यालयलाई विश्व सिकाइ मञ्चबाट विभिन्न विषयमा अनुसन्धानले मारेको फड्कोबारे हेक्का राख्नु जरुरी छ ।

कृत्रिम बौद्धिकताको अहिलेको प्रख्यात उदाहरण (च्याट जिपिटी) ले अहिले झन्डै एक खर्ब ५० अर्ब मानक ९प्यारामिटर० का आधारमा विविध समस्याका कारण, परिणाम र समाधानबारे उच्चतम ज्ञान, सिप तथा अनुभव सेकेन्ड सेकेन्डमै पस्किरहेको अवस्था छ ।

तार्किक सवाल–जवाफ गर्न सकिने नयाँ तरिका दिएको छ । यो खालको प्रविधिले गुगल सर्च जस्ता चलिआएका प्रविधिलाई पनि चुनौती दिएको छ । यस्ता र अन्य विभिन्न प्रविधि तीव्र गतिमा अगाडि बढिरहेको हुँदा तिनका आधारभूत पक्ष समाएर प्राज्ञिक क्षेत्रमा फड्को मार्नु जरुरी छ । नानो टेक्नोलोजीको विकाससँगै टाइम टेबलका आधारमा घटना परिवेशको सूक्ष्म रूपमा विश्लेषण गरी हाम्रा अध्ययन अनुसन्धानका क्षेत्रलाई विश्व समुदायबिच स्थापित गर्न सक्ने हैसियत हामीले राख्न सक्नु पर्छ ।

यसै गरी विश्व श्रमबजारका बिचमा आप्रवासनले (इमिग्रेसन) जोडेको सम्बन्ध हाल विश्व सान्दर्भिक समस्या बनेको छ । त्यसैले डेमोग्राफर भयको नाताले पङ्क्तिकार यस विषयलाई हाम्रो विश्वविद्यालयका पाठ्यक्रममा महत्वका साथ स्थान दिन आग्रह गर्दछु ।

यस्तै अन्य शास्त्री तथा वैज्ञानिक प्राज्ञका समस्या पनि आउनु पर्छ र तिनलाई समयसापेक्ष हाम्रा विश्वविद्यालयका पाठ्यक्रममा स्थान दिँदै जानु पर्छ । यसका अतिरिक्त जनसङ्ख्यासँग सरोकार राख्ने उमेर, लिङ्ग, बनावट, वितरणलगायतका पक्षको उचित व्यवस्थापनबारे राष्ट्रिय–अन्तर्राष्ट्रिय अनुभव ग्रहण गरी ‘थिङ्क ग्लोबल्ली एक्ट लोकल्ली’ भन्ने विश्वव्यापी अवधारणाबाट अगाडि बढ्न जरुरी छ ।

प्राज्ञिक सुधार सँगसँगै विद्यार्थीले भोगेका समस्या भयावह छन् । उदाहरणका लागि हाम्रा शिक्षाका पाठ्यक्रम समयसापेक्ष छैनन् । समाजको विभेदी चरित्रबारे समाधान दिनेबारेमा हामी चुकिरहेका छौँ ।

यसै गरी सामाजिक तथा सांस्कृतिक विविधताले उब्जाएका सम्भावना र चुनौतीको सम्बोधन गर्न हामी निरन्तर चुकिरहेका छौँ । हाम्रो पाठ्यक्रममा सञ्चार प्रविधिले जोडेका विश्व श्रम बजारका सम्भावना, चुनौती र मुलुकभित्रै बदलिएको राजनीतिक परिवेशले उपलब्ध गराएका अधिकार र जिम्मेवारीप्रति सचेत हुन सघाउने खालका विषयवस्तु समावेश भएका छैनन् ।

परिवारको कति लामो समय र लगानीपछि त्रिविबाट निस्कने जनशक्ति नेपाली आफ्नै समाज, राष्ट्र र विश्वप्रति कति आलोचनात्मक चेत राख्न सक्ने हुनुपर्ने हो, त्यसबारे हामीले हेक्का राख्न सकेका छैनौँ । उत्पादित जनशक्तिले घरेलु, क्षेत्रीय र अन्तर्राष्ट्रिय श्रम बजारमा निर्धक्कसँग प्रतिस्पर्धामा उत्रने बल कति अंशमा प्राप्त ग¥यो त भन्ने पनि हामीसँग कुनै अभिलेख राख्ने हिम्मत छैन ।

प्रशासनिक क्षेत्रका सुधार

त्रिविको प्रशासनिक क्षेत्रमा व्यापक सुधारको खाँचो छ । विश्वविद्यालयमा काम गर्ने कर्मचारी क्षमतावान्भित्रैबाट चयन गरिनु पर्छ । अहिले प्रशासनिक क्षेत्रमा काम गर्ने कर्मचारीको सङ्ख्या अपुग छ । तिनीहरूको आपूर्ति सेवा आयोगको स्वच्छ प्रतिस्पर्धाबाट गरिनु पर्छ ।

पुराना कर्मचारीको दक्षता परीक्षण गरी तिनलाई आवश्यक पर्ने तालिम तुरुन्तै सञ्चालन गरिनु पर्छ । अनावश्यक कर्मचारी अवकाश हँुदै स्वतः नयाँले स्थान बनाउने हुँदा यसतर्फ धेरै चिन्ता गर्न आवश्यक छैन । विश्वविद्यालयको कर्मचारी प्रशासनलाई चुस्त दुरुस्त राख्न बढीभन्दा बढी आइटीमा आधारित कर्मचारी पुनस्र्थापित गर्दै तिनैलाई प्रशासनिक ज्ञान, सिप र अनुभवबाट पोख्त पार्दै जाने नीति लिनु पर्छ ।

कर्मचारीभित्र हुने गरेका पार्टीगत गुटको अन्त्य गरी कर्मचारीकै वैधानिक सङ्गठन नै उनीहरूका आवाज सुन्ने मूल आधार हो भन्ने विषयमा सबैलाई विश्वस्त र आश्वस्त पार्नु पर्छ । कर्मचारीभित्र अति राजनीतिक उपस्थित भावले कर्मचारीको पद सोपानको ख्यालै नगरी प्रस्तुत हुने व्यवहारलाई निर्देशित गर्नु जरुरी छ ।

आमकर्मचारीबिच यो विश्वविद्यालय हाम्रो साझा सम्पत्ति हो र यसले पु¥याउन सक्ने योगदानबाट हाम्रा आफ्नै सन्तति भविष्यमा योग्य कर्णधार बन्ने हुन् भन्ने ज्ञान पलाउनु पर्छ । त्रिविको उन्नतिमा हाम्रै हितमा छ भन्ने दरो अडानमा रहनु पर्छ भन्ने पूर्ण भाव सिर्जना गर्न सक्नु पर्छ ।

अब आउने उपकुलपति खुला प्रतिस्पर्धाबाट नियुक्त हुने भएकाले उसलाई त्रिविभित्र रहेर निर्भीकताका साथ काम गर्ने नैतिक तथा प्राज्ञिक बल मिल्ने छ ।

त्रिविभित्रका अति राजनीतिक हस्तक्षेपलाई स्वार्थी समूहले नैतिक रूपमा हस्तक्षेप गर्न त्यति सहज हुने छैन । केन्द्रीय, प्रान्तीय तथा स्थानीय सरकार पनि त्रिविको कार्यकारी नियुक्तिको आधारबाटै निजप्रति उच्चतम सम्मान व्यक्त गर्न र सहयोगी भावले काम गर्न दत्तचित्त रहनेमा शङ्का गर्नु पर्दैन ।

अतः नयाँ नेपालको नयाँ परिवेशमा उच्चतम् नैतिकता भएका व्यक्तिले उच्च आत्मबलका साथ आफूलाई सहज प्रस्तुत गर्ने यो जुन नौलो परिवेश बन्दै छ, निजका लागि यो अवसर नै अवसर रहने छ ।

निजले स्थापित गर्न सक्ने विश्वविद्यालयको सुन्दर पक्ष आफ्नो मुलुकमा प्रमाणित गर्दै अन्य विश्वविद्यालयका लागि पनि उदाहरणीय बन्न सक्छ । यसलाई हामीले ऐतिहासिक अवसरका रूपमा लिनु पर्छ भन्ने हो ।

प्रतिक्रिया दिनुहोस्