२७ बैशाख २०८१, बिहीबार

 

विमानस्थल प्रहरी प्रमुख डीआईजी अर्जुन चन्दले दिए राजीनामा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्दले पदबाट राजीनामा दिएका छन्। उनले आफ्नो व्यक्तिगत कारण देखाउँदै शुक्रवार राजीनामा दिएको बताएका छन् ।

उनलाई गत वैशाख १३ गते विमानस्थल प्रहरी प्रमुखको जिम्मेवारी दिइएको थियो। ३० वर्षे सेवा अवधिअनुसार २०८१ चैतसम्म कार्यकाल रहेको थियो।

केही दिनअघि विमानस्थलमा अध्यागमनका कर्मचारी र प्रहरीबीच हातपात भएको थियो। सुरक्षा मापदण्ड पालना नगर्ने अध्यागमन अधिकृतलाई उन्मुक्ति दिन खोजेको भन्दै डीआइजी चन्दले राजीनामा दिएको उनी निकट एक अधिकृतले बताए ।

गत साता विमानस्थलमा प्रहरीले अध्यागमन अधिकृत छाया मोक्तानलाई सुरक्षा जाँच गरेको विषयलाई लिएर विवाद भएको थियो ।

गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले डीआइजी चन्द मातहतमै रहेर काम गरेका प्रहरी सहायक निरीक्षक सञ्जय तामाङलाई निलम्बन गर्न सिफारिस गरेको थियो । चन्द हालका प्रहरी महानिरीक्षक वसन्त कुँवरकै ब्याचका अधिकृत हुन् ।

प्रतिक्रिया दिनुहोस्