बागलुङ । उच्च व्यवस्थापन, सहि लगानी, इमान्दार प्रयास र ग्राहक प्रति जवाफदेही हुन सके कुनै पनि व्यवसायी र उद्योगीले सफलता पाउने नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका संस्थापक अध्यक्ष, नेपाल उद्योग व्यापार महासंघका प्रमुख सल्लाहकार, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) को पूर्वअध्यक्ष तथा नेपाल पावर एक्सचेन्ज लिमिटेडका अध्यक्ष कृष्ण प्रसाद आचार्यले बताउनु भयो ।
नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङले मंगलबार ‘वर्तमान आर्थिक अवस्था र उद्योगी व्यवसायीको भूमिका’ विषयक अन्तरक्रियामा आचार्यले उक्त विचार व्यक्त गर्नु भएको हो ।
कोभिड, रुस युक्रेन युद्ध, महंगी र आर्थिक मन्दीका कारण विश्वको आर्थिक बजार चुनौतीपूर्ण भएको बेला त्यसको गहिरो प्रभाव नेपालको उद्योग, व्यापारमा परेको आचार्यको भनाइ थियो ।


यस बेला उद्योगी व्यवसायीले सचेत भएर धैर्यता पूर्वक व्यापार गर्नु पर्ने बेला आएको र यस अवस्थालाई पार गर्न सके मात्र भोलिको सहज परिस्थितिमा अझ धेरै परिणाम निकाल्न सकिने आचार्यले बताउनु भयो ।
आर्थिक मन्दीका कारण बजार चलायमान हुन गाह्रो भएको बेला उद्योगी व्यवसायीको कर्तव्य भनेको सहि समयको प्रतिक्षा गरेर मेहनत पूर्वक विस्तारै अगाडि बढ्नु पर्ने वरिष्ठ उपाध्यक्ष श्याम प्रसाद श्रेष्ठले बताउनु भयो ।
हरेक क्षेत्रमा व्यवसायीक संम्भावना हुने भएकोले सबै व्यवसायीहरुले सहकार्य गरेर काम गर्न सके चुनौतीको सामना गर्न सकिने श्रेष्ठको भनाई थियो ।
कार्यक्रममा बागलुङ नगरपालिकाका उपमेयर राजु खड्का र बागलुङ उच्च अदालत बार एशोसिएशनको अध्यक्ष रमेश बहादुर खड्काले पनि मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष अर्जुन चोखालको अध्यक्षता र नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीको संचालनमा सम्पन्न भएको थियो ।














































































































































































































