१५ बैशाख २०८१, शनिबार

 

तीन सय वर्ष पुरानो फागु गीत जोगाउँदै बागलुङको नेवार

बागलुङ । बागलुङका नेवारहरुले आफूले काठमाडौँ उपत्यकाबाट ल्याएको तीन सय वर्ष पुरानो फागु गीत जोगाएर नयाँ पुस्तालाई सिकाइरहेका छन् । फागु गीत गाउँने बुढापाका विस्तारै कम हुन थालेपछि नेपाल भाषा मंकाः खलः बागलुङले नयाँ पुस्तालाई यसतर्फ प्रोत्साहित गरेको हो ।

पुरानो भजन, फागु गीत, असारेलगायत मौलिक गीतहरुको संरक्षण गर्न तालिमको आयोजना गर्न लागेको नेपाल भाषा मंकाः खलः बागलुङका सचिव सुदीप राजभण्डारीले बताउनुभयो ।  तीन सय वर्ष अघि बागलुङमा आएका नेवारहरुले फागु पर्व मनाउनु अघि कालिका मन्दिरमा बली चढाएपछि मात्र रंग लगाउँथे ।

बागलुङ नगरपालिका-३ नारायणचोकमा जम्मा भई कालिका भगवतीमा गएर नेवार पुजारीले भगवतीको पूजा गरेपछि बोकाको बली दिने गरिन्छ । त्यसपछि प्रसाद खाएर फागु गीत गाउँदै बजार परिक्रमा गर्ने परम्परा रहेको छ ।  अन्त्यमा जिल्ला प्रशासन कार्यालयभित्र रहेको निशान ठाउँमा गएर गणेश आरती गरेर फागु पुर्णिमाको समापन गर्ने प्रचलन रहेको छ ।

राजाको फागुन जानै मा लाग्यो, धड्कन लाग्यो छाती हो‘…

औँला काटी कलम बनावे । रगतके मसिया बनावे…यै हो ।।

‘‘ हाय हाय रगत के मसिया बनावे सखियाँ ।

धड्कन लाग्यो छाती हो….

को फागुन जानैमा लाग्यो, धड्कन लाग्यो छाती हो‘‘

छाला काटी कागत बनावे । विरहको चिठी लेखी भेज्यो…यै हो

हाय हाय विरह को चिठी लेखी भेज्यो सखियाँ

धड्कन लाग्यो छाती हो ।

‘‘ “फागु गीत गाउने बुढापाकाहरुसँग माइस्थान (कालिका भगवती मन्दिर)मा मन्दिरमा जाने र प्रसाद खाने चलन थियो” स्थानीय हरिप्रसाद श्रेष्ठले भन्नुभयो, “अहिले यो चलनमा परिवर्तन भएको छ । ” भाषा मंकाः खलःले केही वर्षदेखि पुजा गर्न एउटा टोलीलाई मन्दिर पठाएर बजारको विभिन्न टोलमा फागु पर्व मनाउने चलन बसेको छ ।  कालिका भगवतीलाई खुसी पारेपछि कुनै अनिष्ट हुँदैन भन्दै उनीहरुले रंगको पर्व मनाउने गरेको बुढापाका बताइन्छ ।

“शक्ति पीठलाई खुसी पारेपछि पर्व मनाउने नेवारहरुको चलन हो” भाषा मंकाः खलः बागलुङका पूर्वअध्यक्ष काजी गाउँले श्रेष्ठले भन्नुभयो, “पुरानो चलन थमाउन युवालाई जागरुक बनाउँदै छौँ । ” नेवारहरु काठमाडौं उपत्यकाबाट बसाइ सरेर आएको इतिहास छ । होलीकाको बधको खुसीयालीमा मनाइएको पर्व भएपनि नेवारहरुले खुसी सँगै शक्तिपीठ पूजा गरेपछि होली मनाएको कथा जोडेका छन् ।

बसा सरेपछिका धेरै संस्कृतिलाई बागलुङमा ल्याएर बचाउने प्रयास पनि गरेका छन् । उनीहरुले ल्याएका संस्कृतिहरु यहाँ जोगिएको अर्का संरक्षणकर्मी महेशचन्द्र प्रधान बताउनुहुन्छ ।

‘राजबली के हो रु राजबली केहो
राजबली के द्वारे मचे होली’
राजबली के हो
ऋद्धि आए, सिद्धि आए,
गणेश आए त मुसा चढी के ।
राम आए, लछुमन आए,
दशरथ आए रथ चढी के ।
मजाको फागु जानमा लाग्यो ढड्कन लाग्यो छाति ।
राजबलि के हो

कालिकालाई बोका बली दिएपछि यस्तैयस्तै गीत गाएर बजार फर्कनेहरुले होली खेल्छन् । नेवारी मृदंगा बाजा बजाउँछन् । चोकचोकमा पुगेर सबैलाई रंग दलेर शुभकामना बाँड्नेले चोकमा भेला हुन निम्तो दिन्छन् । बली दिएको बोकासहित कुखुरा, राँगोलगायतको मासु छुट्टाछुट्टै पकाउँछन् ।

सामुहिक रुपमा भोजनको प्रबन्ध गरिएको हुन्छ । दिनभर होलीमा रमाएर फर्केपछि प्रसाद स्वरुप मासु चिउरा खान्छन् । यो परम्परा विस्तारै लोप हुने देखेर संरक्षणका लागि प्रयास गरेको नेपाल भाषा मंका: खलः बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताउनुभयो ।

बागलुङमा जोशी, भारी, राजभण्डारी, शाक्य, प्रधान ,मलेपति र श्रेष्ठ जातका नेवारहरु छन् । उनीहरुले धेरै जसो चाड संयुक्त रुपमा मनाउँछन् । पूजा विधि संरक्षणको काम भने नेवार समुदायका अगुवाहरुले गर्दै आएका छन् ।

अगुवाई गरेका बाहेक सबै नेवारसहित अन्य जातीलाई पनि निम्तो दिइन्छ । ‘यस्ता चाड हाम्रो संस्कृति भएकोले बचाउने प्रयास गरेका छौं, तर बुझाउने काम सबैलाई गर्छौँ’, राजभण्डारीले भन्नुभयो, ‘संस्कृतिहरु जति धेरै जोगाउन सकियो, हामी त्यसबाटै धनी बन्ने हो ।’ नेपालीपनका मौलिक पर्वहरु सबै मिलेर बचाउनुपर्ने उहाँले बताउनुभयो ।

जिल्लामा चलनमा रहेका धेरै संस्कृतिहरु लोप बन्दै गएको संस्कृतिकर्मी प्रेम छोटाको भनाइ छ । “चैतेदसैँ मेलादेखि गलकोट, ढोरपाटन र धेरै क्षेत्रका संस्कारले एउटा एउटा इतिहास र धर्म बोकेको छ” छोटाले भन्नुभयो , “अब एउटा जात, भाषा नभनीकनै संरक्षणमा लाग्नुपर्छ ।” फागु पर्वका अवसरमा बागलुङ बजारमा गाइएको यही ऐतिहासिक फागु गीतले युवायुवतीदेखि वृद्धवृद्धासम्मको ध्यान तान्ने गरेको छ।

परम्परालाई संस्थागत गर्ने उद्देश्यले ‘नेपाल भाषा मंकाः खलः’को आयोजनामा बागलुङ बजारमा ३ सय वर्ष पुरानो फागु गीत गाइँदै आएको हो। होलीको रौनकतामा पश्चिमा संस्कृति भित्रिएको समयमा मौलिक पहिचान दिने पुरानो फागु गीत गाउँदा युवायुवती आकर्षित हुने गरेका छन् । नेवारी समुदायमा प्रचलित उक्त गीत नेपाली र अन्य भाषामा लिपिबद्ध छ। यस्तो मौलिक संस्कृतिको बारेमा युवाहरुलाई विद्यालय तहबाट जानकारी दिन सके मात्र हाम्रो ऐतिहासिक कला, संस्कृति, जात्रा र परम्पराको संरक्षणमा नयाँ पुस्ता लाग्ने थियो ।

“फागु गीतमा बली राजा, विष्णु, महादेव, गणेश, लक्ष्मण, दशरथ, भीमसेन र इन्द्रै जो आए पनि फागुको मजा लिन्छौं, फागुको राग लिन्छौँ, गाउँछौँ, महिला पुरुषबीचको मायाप्रेम, कृष्ण र गोपीनीबीचका माया प्रेमलगायतका भाव गीतमा समावेश गरिएको छु”, नेपाल भाषा मंकाः खल: बागलुङका सल्लाहकार महेशचन्द्र प्रधानले भन्नुभयो, “संस्कृतिको प्रवर्द्धन गर्न होलीका अवसरमा निकै पुरानो फागु गीत गाउँदै आएका हौँ, मनको भावनालाई वसन्त राग शैलीमा रंग्याउने गीत नै फागु गीत हो ।”

केही वर्षअघिसम्म शहरबजार र गाउँघरमा फागु पूर्णिमा भनेर बोलिने रङ र आत्मीयताको पर्वमा परम्परागत महिमा र रौनक हराउँदै गएकोप्रति बागलुङको नेवार समुदाय चिन्तित छ।  फागु पूर्णिमाको मौलिकता हराउँदै गएपछि यहाँको नेवार समुदाय एकजुट भएर होली पूर्णिमाको दिन फागु गीत गाउँदै आएको मंकाः खलः बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताउनुभयो । “फागु पूर्णिमाको मौलिकता जोगाउनु हामी सबैको दायित्व हो”, उहाँले भन्नुभयो । यसपालि फागु गीतमा एकरुपता होस् र तयारी पनि राम्रो होस भनेर गायक तारा प्रसाद श्रेष्ठको घरमा एक हप्तादेखि फागु गीतको अभ्यास पनि गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्