२९ बैशाख २०८१, शनिबार

 

बागलुङमा मनाइयो फागु पर्व

बागलुङ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व बागलुङमा हर्षोल्लासका साथ मनाइएको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङमा रंगीएर मनाउने प्राचिन परम्परा छ । रंगहरुको पर्वको रुपमा मनाइने होली आफन्त, साथीभाइ बीच अविर र रंग खेलेर मनाइएको छ ।

बागलुङ बजारका विभिन्न ठाउँमा युवा र बालबालिकाहरु दिन भर रंग र पानीले समेत होली खेलिरहेका थिए। यस पर्वका अवसरमा नेपाल भाषा मंकाः खल बागलुङ नारायण चोकमा सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले रंगहरुको पर्व फागु उल्लासपूर्वक मनाइने भएकोले मानव जिवनलाई रंगीन र उल्लासमय बनाउन प्रेरित गर्ने बताउनु भयो।

नगरप्रमुख श्रेष्ठले फागु पर्वले समाजमा नयाँ जागरण,उत्साह धार्मिक सद्भाव,सामाजिक एकता ल्याउने बताउदै आआफ्ना मौलिक परम्परा र संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्न पनि अभिप्रेरित गर्ने धारण व्यक्त गर्नु भयो। कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, २३ नम्वर वाहिनीका सहायक रथी जगत बहादुर पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बराल, बागलुङका प्रहरी उपरिक्षक ऋषिराम कँडेलेले धार्मिक सद्भाव र आपसी मेलमिलाप कायम गरेर होली पर्व मनाउनु पर्ने बताउनु भएको थियो ।

फागु पर्व मूल आयोजक समितिका संयोजक प्रेम छोटाको अध्यक्षता र नेपाल भाषा मंकाः खल बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । फागुको गीत गाउदै बागलुङ बजारको मुख्य मुख्य चोकहरुको परिक्रम गरिएको थियो ।

त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।

त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली ९फागु० खेल्ने परम्परा चलेको विश्वास गरिन्छ । यसैगरी, द्वापरयुगमा श्रीकृष्ण भगवानलाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् ।

निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको छ । फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक विदा दिँदै आएको छ । तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्