१५ बैशाख २०८१, शनिबार

 

प्रभु बैंक बडिगाड शाखाद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बडिगाड । प्रभु बैंकद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ । बैंकले शुक्रबार बडिगाड गाउँपालिकाको समन्वयमा बैंकको बडिगाड शाखाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

बडिगाड गाउँपालिका भित्रका सामुदायिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक र उपभोक्ता समितिका पदाधिकारीहरुमा वित्तीय साक्षरताको ज्ञान प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बैंकले जनाएको छ । कार्यक्रममा लक्षित समुहका करिब १२० जनाको सहभागी रहेको थियो ।

बडिगाड गाउँपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा प्रभु बैंक बडिगाड शाखाका शाखा प्रमुख शिव केसीद्वारा डिजिटल बैंकिङका फाइदा एवं जोखिम, बैंकिङ कारोबारमा व्याक्तिगत गोपनियताको महत्त्व, सेयर मार्केट र यसका फाइदा, मोबाइल बैंकिङका फाइदा र सुरक्षित बैंकिङ कारोबार सम्बन्धि प्रशिक्षण प्रधान गरिएको थियो ।

पछिल्लो समयमा क्यासलेस कारोबार एवं डिजिटल बैंकिङको कारोबारसँगै बैंकिङ ठगि समेत बढिरहेको अवस्थामा यसबाट सुरक्षित रहन अपनाउने उपायबारे जानकारी पाउनु निकै समय सान्दर्भिक रहेको कार्यक्रममा सहभागी त्रिभुवन नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक ढालमणी भण्डारीले बताउनुभयो ।

उक्त अवसरमा सहभागीहरुले शाखा प्रमुख समक्ष विभिन्न किसिमका बैंकिङ्ग तथा वित्तीय जिज्ञाशाहरु समेत राखेका थिए । सहभागीले राखेका जिज्ञासामा प्रमुख केसीद्वारा समाधानमुलक सुझाव दिइएको थियो ।

आगामी दिनहरुमा बैंकले आवश्यकता अनुसार गाउँगाउँमा समेत यस्ता प्रकारका कार्यक्रम सञ्चालन गरिने प्रमुख केसीले बताउनुभयो ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समाजपयोगी कार्यक्रमहरुमा सहभागिता जनाउँदै बैंकिङ्ग क्षेत्रको व्यवहारिक ज्ञान प्रदान गरी बैंकिङ्ग क्षेत्रमा वित्तीय साक्षरता उपलब्ध गराउन बैंक तथा शाखा प्रतिबद्धसमेत रहेको प्रमुख केसीले बताउनुभयो ।

प्रभु बैंक लिमिटेडले विभिन्न सामाजिक क्रियाकलापहरुमा सहभागी हुँदै सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याउँदै शिक्षा क्षेत्रमा समेत आर्थिक, शैक्षिक लगायतको सहयोग उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्