२० बैशाख २०८१, बिहीबार

 

भकुण्डेको अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै

बागलुङ । बागलुङ जिल्लाको पर्यटकीय गाउँ भकुण्डेमा सञ्चालित जिल्लाकै पहिलो घरबास (होमस्टे) अतिथि सत्कार घरबासमा विदेशी पर्यटकको लार्को लागेको छ । जिल्लाको पहिलो घरबासका रुपमा २०७३ सालदेखि सञ्चालित घरबासमा पछिल्लो समय आन्तरिक पर्यटक भन्दा विदेशी पर्यटकहरु बढी पुग्न थालेका हुन् ।

नेपालको कला–संस्कृति, मौलिक परम्परा, अर्गानिक खानाका परिकारले चर्चापाएसँगै विदेशी पर्यटकहरु चार वर्षदेखि निरन्तर भित्रिदै आएका छन् ।

घरबासमा यही बुधबार र बिहीबार गरी दुई दिनका लागि सात जना अमेरिकाबाट पर्यटकहरु आएको घरबासका सञ्चालक समितिका अध्यक्ष मुना थापा मगरले जानकारी दिनुभयो ।

थापाका अनुसार घरबासमा आउने अधिकांश विदेशी पर्यटकहरु विश्व अर्गनाइजेशनमा आवद्द पर्यटकहरु आउने गरेका छन् ।

“अहिले घरबासमा अमेरिकाबाट आएका सात जना पर्यटकहरु छन्, उनीहरु दुई दिन बसेपछि फर्कन्छन्, हामीले विदेशी पर्यटकहरु बढ्न थालेपछि स्वगतका लागि नौमती बजा बजाउने गरेका छौं, अहिले जंगलमा गुराँस फुलेका कारण गुराँसको फुलको मालाले पाहुँनालाई स्वागत गर्दा पर्यटकहरु खुसी भएको पाइन्छ” अध्यक्ष थापाले भन्नुभयो “बागलुङका पर्यटन व्यवसायी महादेव शर्माले चार वर्ष यता विदेशी पर्यटकहरु ल्याउदै आउनुभएको छ, अहिलेसम्म विश्व भेगन अर्गनाइजेशनमा आवद्ध विभिन्न देशका पर्यटकहरु आठौ समूह आइसक्नुभयो, यस्तै अन्य विदेशी दातृ निकाय तथा गैर सरकारी संस्थामा आएका विदेशी पर्यटकहरु बास बस्न यहाँ आउने गरेका छन् ।”

घरबास सञ्चालनमा ल्याएको एक दशक भएपनि आधिकारिकता भने सात वर्ष अघि मात्रै पाइएको उहाँको भनाई छ । आन्तरिक पर्यटकले घरबास प्रायजसो खाली नहुँने भन्दै विदेशी पर्यटकहरु समेत पछिल्लो समय बढ्न थालेपछि घरबासको गुणस्तरलाई वृद्धि गरिदै लगिएको उहाँको भनाई छ ।

घरबास सञ्चालिका इन्द्रा थापाका अनुसार प्राकृतिक रुपमा सुन्दर भकुण्डेमा विदेशी पर्यटकका लागि आवश्यक घरबासको मापदण्ड पुरा गरेपछि विदेशी पर्यटकहरु लालायित हुन् थालेका छन् ।

विदेशी पर्यटकहरु सोझै आउने अवस्था नरहने भन्दै पहिलोपटक चार वर्ष अघि आएका विदेशी पर्यटकहरुले यहाँको वातावरण, दृश्य, खानपान र आतिथ्यताबाट प्रभावित बनेपछि विदेशी पर्यटकहरुले निरन्तरता पाएको थापाको भनाई छ । घरबासमा स्थानीय आलु, भटमास, मकै, मुला, कोदोको ढिँडो, सिस्नो, गुन्द्रुक तथा खसी र कुखुराको परिकार चाख्न सकिन्छ । १५ घर रहेको अतिथि सत्कार घरबासमा एक रातमा १०० पर्यटक बस्न सक्ने क्षमता रहेको छ ।

यहाँको मगर संस्कृति, अर्गानिक खानाका परिकार, आतिथ्यता, आरामदायी बस्ने व्यवस्था, पर्यटकीय उद्यान, भ्युटावर र बराह तालका कारण विदेशी पर्यटकहरु लालायित भएपछि घरबास आउने विदेशी पर्यटकहरुले निरन्तरता पाएको पर्यटन व्यवसायी महादेव शर्माले जानकारी दिनुभयो ।

शर्माकै च्यानलबाट घरबासमा विदेशी पर्यटकको आठौं समूह आइसकेको छ ।“हामीले विश्व भेगन अर्गनाइजेशनमा आबद्ध संसारभरका पर्यटकहरुलाई यहाँ ल्याउने अवसर पाइरहेका छौं, परीक्षणका लागि ल्याइएका पर्यटकहरुले यहाँको घरबास मनपराएपछि विदेशी पर्यटकहरुले निरन्तरता पाएको छ” शर्माले भन्नुभयो “बाह्य पर्यटक पाहुना भएर त्यहाँ पुग्छन् र सहयोगी भएर फर्कने गर्दछन्, उनीहरु घरबासका सञ्चालकसँगै काममा समेत सघाउने गर्दछन् ।”
भकुण्डे जिल्ला सदरमुकाम बागलुङ बजारबाट नजिकै रहेको, भौगोलिक रुपमा रमणीय, आखै अघि देखिने हिमालहरु, मगर संस्कृति, सुविधा सम्पन्न बसाई लगायतले विदेशी पर्यटकहरु लोभिदै आएका छन् ।

यहाँको पाहुँना स्वागत तथा विदाई गर्ने शैली निकै फरक रहेको शर्माको भनाई छ । यो सिजनमा घरबास पुगेका पाहुँनालाई लागि गुराँसको फुल तथा माला लगाएर नौमती बाजा बजाएर स्वागत गर्ने गरेका छन् ।

घरबासमा अमेरिकासँगै कोरिया, चीन, जर्मन र क्यानडा लगायतका देशबाट धेरैजसो पर्यटकहरु आउने गरेका छन् । बाह्य पर्यटकले घरबासमा अर्गानिक खानाका परिकारको स्वाद लिने, पर्यटकीयस्थलको भ्रमण गर्ने र घरबास सञ्चालकलाई काममा सघाउने समेत गर्दै आएका छन् ।

घरबास पुग्ने पर्यटकहरु अधिकांश पदमार्ग मार्फत बागलुङ बजारबाट भकुण्डे पुग्ने गरेका छन् ।विदेशी पर्यटकलाई लक्षित गरी बागलुङ बजारदेखि भकुण्डे र भकुण्डेबाटबाट बौडैचौर हुँदै बौरसम्मको दुईदिने पदयात्रा मार्ग पहिचान र भकुण्डेदेखि बोडैचौरसम्म विदेशी पर्यटक पु¥याउन नसकिएको उहाँको भनाई छ ।

स्थानीय सरकारले पर्यटक भित्राउन पर्यटन पूर्वाधारमा ध्यान नदिएको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्