२० बैशाख २०८१, बिहीबार

 

बागलुङ समाज कल्याण केन्द्र, काठमाडौंले धौलागिरि अस्पतालमा चैत्र २३ र २४ स्वास्थ्य शिविर गर्ने

बागलुङ । बागलुङ समाज कल्याण केन्द्र काठमाडौंको आयोजनामा धौलागिरि अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । समाजले गण्डकी मेडिकल कलेज पोखरा, बागलुङ नगरपालिका र धौलागिरि अस्पतालसँगको समन्वयमा यही चैत्र २३ र २४ गते स्वास्थ्य शिविर आयोजना गरेको हो ।

बुधबार बागलुङमा पत्रकार भेटघाटको आयोजना गरि शिविरको बारेमा जानकारी गराइएको थियो । शिविरको बारेमा जानकारी दिदै बागलुङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद खनालले विभिन्न प्रकारका शारीरिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुको विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क स्वास्थ्य परीक्षण गरिने बताउनु भयो।

विपन्न, असाहय बिरामीहरूलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको हो । शिविरमा स्त्रीरोग, हाडजोर्नी तथा नशा रोग, क्यान्सर, मुटुरोग, पिसाव रोग, लगायत विभिन्न रोगको निःशुल्क उपचार गरिने बताउनु भयो । दुई दिन सञ्चालन हुने उक्त स्वास्थ्य शिविरमा गण्डकी मेडिकल कलेज पोखराबाट १५ जना विशेषज्ञ डाक्टरहरु बागलुङ आउने भएका छन् ।

ग्रामीण भेगमा स्वास्थ्य सेवाको पहुँच अझै विस्तार हुन नसक्दा विभिन्न रोगको समस्या जटिल रहेकाले शिविर सञ्चालन गर्न लागेको बागलुङ समाज कल्याण केन्द्र काठमाडौंकी अध्यक्ष रसुमिला श्रेष्ठले बताउनु भयो ।

विभिन्न स्वास्थ्य समस्याबाट ग्रस्त रहेका स्थानीयवासीले स्वास्थ्य परीक्षण तथा औषधि निःशुल्क रुपमा प्राप्त गर्न सक्ने श्रेष्ठको भनाई थियो । सो कार्यक्रमको संचालन समाजका सचिव किस्मत मणि श्रेष्ठले गर्नु भएको थियो ।

विसं २०३९ सालमा स्थापना भएको समाजले लामो समयदेखि शिक्षा, स्वास्थ्य, मावनता र धार्मिक क्षेत्रमा सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्