१८ बैशाख २०८१, मंगलवार

 

गलकोटदेखि निसीखोलाको भल्कोटसम्म नगर बस सञ्चालन हुँदै

गुल्मी । बागलुङ पश्चिमका ४ पालिकाहरुले संयुक्त रुपमा नगर बस सेवा सञ्चालन गर्ने भएका छन् ।

आइतबार बडिगाड गाउँपालिकाका सम्पन्न ४ पालिकाको संयुक्त बैठकले मध्यपहाडी लोकमार्गको गलकोटको हटियादेखि निसिखोला गाउँपालिकाको भल्कोटसम्म नगर बस सेवा सञ्चालन गर्ने निणर्य गरेको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो ।

चार वटा पालिका मिलेर दुई वटा बस खरीद गर्ने निर्णय भएको छ । बसमा पोशाकमा कर्मचारीको व्यवस्था, डिजिटल वोर्डको प्रयोग, अनलाइन टिकटको व्यवस्था, वाइफाईको व्यवस्थादेखि बसले दैनिक रुपमा गरेको आम्दानीलार्ई डिजिटलाइज गर्ने काम पनि हुने अधिकारीले बताउनु भयो ।

नगर बस व्यवस्थित रुपमा सञ्चालन गर्न बस व्यवसायी समिति र ट्राफिक प्रहरीसँग पनि सहकार्य हुने भएको छ । परिचय पत्र लिएर आउने विद्यार्थीले बस यात्रामा पाँच प्रतिशत छुट पनि पाउने छन् ।

बैठकमा बडिगाड गाउँपालिका, ढोरपाटन नगरपालिका, गलकोट नगरपालिका र निसीखोला गाउँपालिकाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । बैठकले अन्तरपालिका साझेदारीमा नगर बस सञ्चालनका लागि सम्भावना अध्ययन गर्न गलकोट नगरपालिका – ३ का वडाध्यक्ष फम बहादुर खत्रीको संयोजकत्वमा सम्भाव्यता अध्ययन समिति समेत गठन गरेको छ ।

जसको सदस्यहरुमा ढोरपाटन नगरपालिका-१ का वडाध्यक्ष वान बहादुर छन्त्याल, निसीखोला गाउँपालिकाका वडाध्यक्ष चन्द्र सिंह सिंजाली, बडिगाड गाउँपालिका-५ का वडाध्यक्ष विष्णु प्रसाद आचार्य र बडिगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर घर्ती रहनुभएको छ ।

त्यस्तै सोही बैठकले ४ पालिकाका मुख्य बजार क्षेत्रबाट निस्कने फोहोर व्यवस्थापनका लागि समेत सम्भाव्यता खोजी गर्ने र जसका लागि अर्को बैठकमा निणर्य गर्ने सहमती भएको छ । छिमेकी पालिकासँग समेत समन्वय र सहकार्यमा फोहोर व्यवस्थापनको क्षेत्रमा काम गर्ने निणर्य भएको छ ।

बैठकमा बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी, गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरे, निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती, ढोरपाटन नगरपालिकाका कार्यवहाक नगरप्रमुख धनबहादुर कायत कल्याण, बडिगाड गाउँपालिकाका उपाध्यक्ष भिमसेन वन, गलकोट नगरपालिकाका वडाध्यक्षहरु फम बहादुर खत्री, हिम बहादुर भण्डारी, बडिगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर घर्ती र निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलिप कुमार चन्दको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्