४ श्रावण २०८३, सोमबार

 

नेपाली सेनाले जीर्णोद्धार गरेको कोतघर गलकोट नगरपालिकालाई हस्तान्तरण

गलकोट । नेपाली सेनाको शिघ्र प्रभावी परियोजना (क्विक ईम्प्याक्ट प्रोजेक्ट) अन्तर्गत जीर्णोद्धार  गरिएको गलकोट नगरपालिका -३ स्थित ऐतिहासिक गलकोट कोत घर नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

कोतघर प्राङगणमा आयोजित कार्यक्रममा श्री नं.२३ बाहिनी अड्डा बागलुङका सहायक रथी जगत बहादुर पौडेलले गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेलाई हस्तान्तरण गर्नु भएको हो । नेपाली सेनाको शीघ्र प्रभावी परियोजनाबाट प्राप्त स्रोत, श्री पश्चिम पृतना हेडक्वाटरको निर्देशन, श्री नं. २३ बाहिनी अड्डाको सुपरीवेक्षण, श्री मेहर गण घोडावाधेको संयोजनमा जनशक्ति परिचालन, स्थानीयको आर्थिक सहयोग र व्यवस्थापन समितिको सहयोगमा कोतघरको जीर्णोद्धार गरी गरिएको थियो ।

कार्यक्रममा गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले कोत घरको जिर्णोद्धार गरेर गलकोटको पुरातात्विक क्षेत्र तथा पर्यटकिय क्षेत्रको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । गैरेले नेपाली सेना र नेपाली जनता बिचको अन्तरघुलन सम्बन्धलाई अझ प्रगाढ बनाउन महत्वपुर्ण भूमिका खेलेको बताउनु भयो ।

उहाँले नेपाली सेनाका विभिन्न गणहरुले गलकोट क्षेत्रलाई एकदमै चासो दिएर सामाजिक र सामुदायिक हितमा विभिन्न कार्यहरु गरेको बताउँदै यस्ता किसिमका कार्यक्रमहरु आगामी दिनमा नेपाली सेनासँग सहकार्य गरेर नागरिक जनमानसमा राष्ट्रप्रेमको भावना जगाई सञ्चालन गर्ने समेत प्रतिवद्धता जनाउनुभएको थियो ।

कार्यक्रममा श्री नं.२३ बाहिनी अड्डा बागलुङका सहायक रथी जगत बहादुर पौडेलले ऐतिहासिक र पर्यटकीय स्थल गलकोट क्षेत्रबाट प्राप्त सहकार्य, सहयोग, समन्वय, सहजिकरण तथा विशेष योगदानको कदर गर्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

उहाँले नेपाली सेना र स्थानीय समुदायको सम्बन्धलाई प्रगाढ गराउनको लागि नेपाल सरकार र स्थानीय सरकार तथा नागरिकसँग सहकार्य गरी क्विक ईम्प्याक्ट प्रोजेक्ट मार्फत पुरातात्विक तथा सार्वजनिक स्थलको संरक्षण, विश्राम स्थल निर्माण, सचेतनासम्बन्धि कार्यक्रम सञ्चालन, विद्यालयमा स्टेशनरी वितरण, विपन्न परिवारलाई खाद्यान्न वितरण लगायतका विभिन्न कार्यहरु गर्दै आईरहेको जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा गलकोट नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष फम बहादुर खत्रीले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम श्री मेहर गण घोडाबाँधेका प्रमुख सेनानी गणपती धन राना मगरको स्वागत र उप सेनानी सुभद्रा कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।

उक्त कोतघर नेपाली सेनाको शीघ्र प्रभावी परियोजना (क्विक ईम्प्याक्ट प्रोजेक्ट) अन्तर्गतको ९ लाख र स्थानीयको ५ लाख सहयोगमा जिर्णोद्धार गरिएको थियो । उक्त कोतघरको जीर्णोद्धार गत वैशाख २४ गतेबाट सुरु भई असार ४ गते निर्माण सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung