४ श्रावण २०८३, सोमबार

 

साना र मझौला उद्यम व्यवसाय बचाउन सरकारले ध्यान दिनु पर्छ : महासचिव पराजुली

बागलुङ। नेपाल उद्योग व्यापार महासंघका महासचिव खेम नारायण पराजुलीले यस पटकको बजेट र मौद्रिक नीतिले साना तथा मझौला उद्योगी र व्यवसायीको हितमा परिणाम आउने गरी काम हुनु पर्ने बताउनु भयो ।

नेपाल उद्योग व्यापार महासंघले सबै निजी क्षेत्रको तर्फबाट सरकार र सरोकारवालाहरुमा साझा सुझाव पेस गर्दा पनि सिमित उद्योगी व्यवसायीको हितमा मात्र सरकार केन्द्रीत भएको भनि असन्तुष्टि व्यक्त गरेका छन्।

शनिबार बागलुङ बजारका उद्योगी र व्यवसायीहरुसँगको अन्तरक्रियामा महासचिव पराजुलीले उक्त विचार व्यक्त गर्नु भएको हो ।

यस्तो आर्थिक संकटको बेला सरकारले देशको अर्थतन्त्रलाई महत्वपूर्ण योगदान दिएको साना र मझौला उद्यम व्यवसाय बचाउन आफनो ध्यान केन्द्रीत गर्नु पर्ने बताउनु भयो ।

कठिन अवस्थामा रहको अर्थतन्त्र र समस्यामा परेका आम उद्योगी र व्यवसायीहरुको मनोबल उच्च हुने गरी सरकारले सेवा र सुरक्षा दिनुका साथै सहज आर्थिक नीति तथा कार्यक्रम ल्याउन सके मात्र बजार फेरि आफनो लयमा फर्किने बताउनु भयो ।

जिल्ला र गाउँमा रहेका साना तथा मझौला व्यवसायीहरुले अहिले सरकारबाट थोरै मात्र भए पनि प्रोत्साहन र राहत चाहेका छन्।

त्यसैले उद्योग व्यवसाय गर्न कठिन हुने कानुनी अड्चन हटाउन, बैंकले दिने कर्जा नीतिमा सुधार गर्न, व्याज दर सन्तुलित बनाउन र कर र राजस्व तिरेपछि व्यवसायीहरुले तिनै तहको सरकारबाट विभिन्न छुटको व्यवस्था गर्न उहाँले माग गर्नु भयो ।

कोभिडदेखि सुस्ताएको अर्थतन्त्रको रोग पहिचान गरेर त्यसको निदान लागि उपयुक्त नीति ल्याउन सके मात्र बजारको माग बढ्ने, कलकारखानाको उत्पादन क्षमता बढ्ने र व्यापार व्यवसायमा सुधार आएर सरकारको राजस्वको लक्ष्य पनि प्राप्त हुने बताउनु भयो ।

यस्तो कठिन बेला व्यवसायीहरुले धैर्यता नगुमाएर इमान्दार भएर व्यापार गर्न र आम उद्योगी व्यवसायीहरुको हकहितमा सबै केन्द्रीत हुन आव्हान गर्नु भयो ।

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङ नेपाल उद्योग व्यापार महासंघको संस्थापक सदस्य भएकोले उद्यमशीलताको विकास गर्न, उद्योगी व्यवसायीहरुलाई आफनो क्षेत्रको पेशागत कानुनी ज्ञान दिन, गुणस्तर सुधार गर्न, उपभोक्ता मैत्री व्यापार नीति फैलाउन जरुरी रहेको बताउनु भयो ।

साथै स्थानीय वस्तुको बजारीकरणको लागि र उद्योगी व्यवसायीको हितमा स्थानीय सरकार, प्रहरी, प्रशासन र सरोकारवालाहरुसँग सहकार्य गर्न व्यापार संगठनको नेतृत्व सक्रिय हुनु पर्ने बताउनु भयो ।

यसबाट मात्र राष्ट्रको आर्थिक विकास संम्भव भएको उहाँको भनाई थियो ।

नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष अर्जुन चोखालले सरकारको आर्थिक नीति उदार हुनुका साथै निजी क्षेत्रले दिएका सल्लाह सुझावलाई कार्यान्वयन  गर्नु पर्ने बताउनु भयो । जलविद्युत र पर्यटन क्षेत्र बाहेक अन्य व्यवसायीक क्षेत्र शिथिल रहेकोले सरकारले निजी क्षेत्रलाई संरक्षण गर्ने नीति ल्याउनु पर्ने बताउनु भयो ।

कार्यक्रमा प्रदेश सदस्य तथा महिला उद्यमी संयोजक ललिता थापा, बागलुङ नगरपालिकाका उपमेयर राजु खड्का, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका उपाध्यक्ष प्रकाश पौडेल, कार्यसमिति सदस्यहरु हेमलाल पौडेल, भुमिश्वर सापकोटा, राजन सापकोटा, भुपेन्द्र केसी, नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य चन्द्रबहादुर थापा, अखिल नेपाल महिला संघ क्रान्तिकारी जिल्ला समिति बागलुङ दिलकुमारी पुन, नेकपा माओवादी केन्द्र बागलुङ नगर समितिका सहसचिव जिवन शर्माले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीको अध्यक्षता र महासचिव गोकुल कँडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung