२१ जेष्ठ २०८३, बिहीबार

 

ग्रीन डेभलपमेन्ट बैंकको १२ औँ वार्षिकोत्सवको उपलक्ष्यमा आश्रमलाई खाद्यान्न सहयोग

बागलुङ । बागलुङका व्यवसायीहरूको सक्रियतामा स्थापित ग्रीन डेभलपमेन्ट बैंक आइतबार बाह्रौं वर्षमा प्रवेश गरेको छ ।

२०७० सालमा खुलेको बैंकले बागलुङ नगरपालिका-३ किनारा टोलमा रहेको मानव सेवा आश्रमलाई २० हजार रुपैयाँको खाद्यान्न सहयोग गरी स्थापना दिवस मनाएको छ ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत आश्रमलाई खाद्यान्न सहयोग गरेको बैंकमा अध्यक्ष गणेश कुमार श्रेष्ठले बताउनु भयो ।

कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य मनोविज्ञान श्रेष्ठ, बैंकका क्षेत्रीय प्रबन्धक हरि अधिकारी, बागलुङ शाखाका प्रबन्धक हेमराज शर्मा र कर्मचारीहरु निशा थापा, आदर्श शाक्यको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन आश्रमकी सञ्चालिका विपना तामाङले गर्नु भएको थियो ।

वार्षिकोत्सवको अवसरमा बैंकले ग्रीन समृद्धि वचत खाता सञ्चालनमा ल्याएको छ । यो खाता खोल्ने ग्राहकहरुले लकर सेवामा ७५ प्रतिशत छुट पाउने बैंकले जनाएको छ ।

वार्षिकोत्सव उपलक्ष्यमा पारेर पोखराको न्युरोडस्थित बैंकको मुख्यालय परिसरमा रक्तदान, कावासोति शाखाले समता विद्यालयलाई दस्विन, दलदले शाखाले सकला देवी विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

बैंकले विभिन्न किसिमका आधुनिक बैंकिङ सुविधा प्रदान गर्नुका साथै स्थानीय स्तरमा छरिएको पुँजीलाई एकीकृत गर्नुका साथै उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखी विभिन्न कर्जा उपलब्ध गराउँदै आएको प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकीले जानकारी दिनु भयो ।

बैंकले उद्योग, व्यापार, पशुपालन, कृषि, पर्यटनजस्ता उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखी कर्जा प्रवाह गर्दै आएको छ ।

२०७० भदौ ९ गते ‘ख’ श्रेणीको विकास बैंकका रूपमा बागलुङमा केन्द्रीय कार्यालय बनाएर सञ्चालनमा आएको बैंकले १५ शाखाबाट सेवा दिइरहेको छ ।

अहिले बैंकको केन्द्रीय कार्यालय पोखरा लेखनाथ महानगरपालिका-८ न्युरोडमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung