बागलुङ । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङको आसन्न दोस्रो साधारणसभा यही कार्तिक २४ गते बागलुङ बजारमा हुने भएको छ।
बुधबार बागलुङ बजारमा बसेको कार्यसमितिको बैठकले साधारण सभाको मिति तय गरेको हो । नेपाल उद्योग व्यापार महासंघका वरिष्ठ उपाध्यक्ष श्याम प्रसाद श्रेष्ठ र गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष अर्जुन चोखालको प्रमुख आथित्यतामा बैठक आयोजना गरिएको थियो ।
बैठकले साधारण सभाको लागि प्रगति प्रतिवेदन महासचिव गोकुल कँडेललाई र आर्थिक प्रतिवेदनको लागि कोषाध्यक्ष मनकाजि विश्वकर्मालाई जिम्मेवारी दिएको छ ।
बैठकले सदस्यता वितरण अभियान सञ्चालन गर्ने, गलकोट नगरपालिका बाहेक अन्य सबै पालिकाहरुमा साधारण सभा आयोजन गरेर नयाँ कार्यसमिति निर्माण गर्ने, कर, भ्यात, वस्तुको गुणस्तर संम्बन्धी अभिमुखीकरण, वित्तीय संस्था र तीन तहको सरकारबाट उद्योगी व्यवसायीहरुले पाउने सेवा सुविधाको बारे जानकारी दिन तालिम आयोजना गर्ने निर्णय गरेको छ ।
साथै व्यापार संगठनले जिल्ला प्रशासन कार्यालय बागलुङ, जिल्ला प्रहरी कार्यालय बागलुङ , आन्तरिक राजस्व कार्यालय बागलुङ, गुणस्तर नापतौल कार्यालय बागलुङ तथा सबै पालिकाहरुसँग समन्वय र सहकार्यको लागि भेटवार्ता गर्ने भएको छ ।
महासंघका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले बैठकलाई सम्वोधन गर्दै व्यापार संगठनको नेतृत्व मुख्यत साना, मझौला उद्योगी र व्यवसायीको हितमा क्रियाशिल हुनु पर्ने बताउनु भयो ।
अर्थतन्त्र सुस्त भएको बेला बजारलाई चलायमान गराउन संघर्ष गरि रहेका उद्योगी व्यवसायीहरुलाई प्रोत्साहित गर्न सरकारले राहतको कार्यक्रम ल्याउनु पर्ने उहाँको भनाई थियो ।
यसको लागि व्यवसायीलाई हतोत्साहि बनाउने कानुनी अड्चन हटाउन, बैंकको कर्जा नीतिमा सुधार गर्न र उद्योगी व्यवसायीहरुले तिनै तहको सरकारबाट विभिन्न छुटको व्यवस्था गर्न उहाँले माग गर्नु भयो ।
नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष चोखालले व्यापार सगठनको नेतृत्वले बागलुङको उद्योगी व्यवसायीको मनोबल उच्च हुने गरि कार्य गर्नु पर्ने बताउनु भयो ।
बजार र गाउँका व्यवसायीहरुले विभिन्न तरीकाले खेप्नु परेको हैरानी र दुखलाई हटाउन सबै एकतावद्ध भएर त्यसको समाधान लागि लाग्नु पर्ने बताउनु भयो ।
बैठक नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङ अध्यक्ष मुकेशचन्द्र राजभण्डारीको अध्यक्षता, उपाध्यक्ष प्रकाश पौडेलको स्वागत र महासचिव गोकुल कँडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।














































































































































































































