बागलुङ । जनताको सुरक्षामा खटिएको प्रहरी नै छ महिनादेखि खुदुर्के घाटको सत्तलमा रात बिताइरहेको छ ।
बागलुङ जिल्लाको मुख्य प्रवेशद्वार मालढुङ्गा चेकपोष्टमा खटिएका नौ जना प्रहरीको रात अहिले मसानघाटको सत्तलमा बित्ने गरेको छ ।
बागलुङ नगरपालिका–१ मालढुङगामा जिल्ला प्रवेश गर्ने बाक्लो सवारीसाधनको सुरक्षा चेकजाँच तथा सिमा नाकाको संवेदनशिलताको विषयमा त्यहाँ राखिएको प्रहरी चौकीको भवन नहुँदा समस्या छ ।
जनताको सुरक्षाको लागि खटिएको नेपाल प्रहरी पछिल्लो छ महिनादेखि मसानघाटको सत्तलमा आश्रय लिइरहेको छ ।
१५ मिटर भित्रको सडक खालीगर्ने सन्दर्भमा प्रहरीचौकी भत्काइएपछि प्रहरी आश्रय लिनका लागि कालीगण्डकी किनाराको खुदर्के मसानघाटको सत्तलमा आश्रय लिएर बसेको छ ।
बागलुङ जिल्लाको प्रवेशद्वारबाट सडक विस्तारको काम थाल्नका लागि त्यहाँको प्रहरी चौकीको अस्थायी छाप्रो भत्काइएपछि प्रहरी मसानघाटमा पुगेको बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताउनुभयो ।
पहिलाको अस्थायी छाप्रोमा समेत प्रहरीहरु भुइमा सुत्ने गरेका थिए ।
“जनताको जिउधन र सवारी सुरक्षामा खटिएको प्रहरी मसानखाटको सत्तलमा रात बिताइरहेको छ, नौ जना प्रहरी अहिले खुदर्के मसानघाटमा बनाएको सत्तलमा बसेर प्रवेशद्वारको सुरक्षामा खटिएका छन्, मुख्य नाका भएकाले मालढुङ्गामा सवारीसाधनको समेत सबै तथ्याङ्क राखिन्छ” प्रहरी उपरीक्षक कँडेलले भन्नुभयो “बागलुङ नगरपालिका सहित स्थानीय तहमा भवन निर्माणका लागि बजेट माग गरेका छौं, हाल चौकी भइरहेको स्थानभन्दा केही तल भवन बनाउन सकिन्छ, प्रहरी चौकी संगै सूचना केन्द्र समेत बनाउन आवश्यक छ, सिमा नाका भएकाले प्रहरी हाइ अलर्टमा बस्नुपर्ने हुन्छ तर प्रहरी नै असुरक्षित छ ।”
जिल्लामा सुविधा सम्पन्न प्रहरीका भवन बन्ने क्रम रहेपनि जिल्लाको प्रवेशद्वारमै सुरक्षामा खटिएका प्रहरी मसानघाटको सत्तलमा बस्नुपर्ने अवस्थाको अन्त्यका लागि भवन मिर्नाण गर्न बागलुङका १० पालिका संग बजेट माग गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ८ जना प्रहरी र एक जना ट्राफिक प्रहरी खुदुर्के मसानघाटमा मलामी बस्नका लागि बनाइएको भवनमा जस्ताले बारेर बस्दै आउनुभएको छ ।
बागलुङ नगरपालिकाले गत वर्षनै मालढुङ्गा प्रहरी चौकी निर्माण गर्नका लागि रु. १५ लाख बिनियोजन गरेपनि सडक मापदण्डका कारण भवन बनाउन नसक्दा बजेट फ्रिज भएको थियो ।
जिल्लाकै प्रवेशद्वारमा सुविधा सम्पन्न प्रहरी चौकीको भवन आवश्यक रहेको बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले बताउनुभयो ।
“जिल्लाको मुख्य प्रवेशद्वारमा रहेको प्रहरीहरुको चौकी र आवास दुबैको समस्या छ, हामीले गत वर्षपनि भवन बनाउन बजेट बिनियोजन गरेका थियौ, सडकको मापदण्ड टुङ्गो नलाउदा समस्या भयो, अहिले पुन रु.१० लाख बिनियोजन गरेका छौं” नगरप्रमुख श्रेष्ठले भन्नुभयो “सिमा नाकाको सुरक्षामा खटिएका प्रहरी असुरक्षित तरीकाले बसेको देख्दा हामी भवन बनाउन आतुर छौं, जिल्लाको अन्य पालिकाले समेत सहयोग गर्ने कुरा छ, प्रहरीलाई व्यवस्थापन गर्ने जिम्मा हाम्रो पनि हो, छिट्टै भवन बनाउन समन्वय हुन्छ ।”
प्रहरी चौकी मालढुङ्गामा सूचना डेक्स समेत राख्न आवश्यक भएपनि जग्गा अभाव भइरहेको छ । बागलुङको मालढुङ्गा प्रहरी चौकी र निसीखोला प्रहरी चौकी जिल्लाकै सबैभन्दा दुराअवस्थाको रहेको छ ।













































































































































































































