४ श्रावण २०८३, सोमबार

 

बागलुङ नगरले लियो बागलुङ बसपार्क नियमित सञ्चालनको लागि सुझाव

बागलुङ । बागलुङ नगरपालिका-४ दाबगरामा संचालनमा आएको बागलुङ बसपार्कलाई प्रभावकारी ढंङ्गबाट संचालन गर्नका लागि बाँकी रहेका पूर्वाधार निर्माण गर्नु पर्ने सरोकारवालाले बताएका छन् ।

बसपार्क सञ्चालनको विषयमा बागलुङ नगरपालिकाले सोमबार आयोजना गरेको अन्तरक्रिर्याका सहभागीले सडक लगायतका सबै पूर्वाधार द्रुतमार्गबाट निर्माण गर्न सुझाव दिएका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले सवारी साधनको बढ्दो चाँपले बजारमा सुरक्षा चुनौती बढेको भन्दै नवनिर्मित बसपार्कलाई प्रभावकारी तरीकाले संचालनमा ल्याउनुपर्ने बताउनुभयो ।

उहाँले आवश्यकता अनुसार बानपा-३ को चिप्लेटी र दाबगरा दुबै बसपार्क समानुपातिक तरकिाले सञ्चालन गर्नु पर्ने धारणा व्यक्त गर्नुभयो ।

निवर्तमान नगरप्रमुख जनकराज पौडेलले बसपार्कमा जाने पहुँच मार्गलाई तत्काल पिच गरेर दिगो हिसाबले सञ्चालन गर्न र ससाना समस्याहरु तत्काल समाधान गर्न नगरपालिकाले पहल गर्न आग्रह गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले सागुरा सडकले बजारमा ट्राफिक जाम हुने गरेको भन्दै ठूला सवारी साधनलाई नवनिर्मित बसपार्कमै व्यवस्थापन गर्न र साना सार्वजनिक सवारी साधनलाई चिप्लेटी बसपार्कमार्फत व्यवस्थापन गर्न सुझाव दिनु भयो ।

बागलुङ बसपार्कलाई सुरक्षित गराउन प्रहरीको एक युनिटको व्यवस्था गरी सकेको उहाँले बताउनु भयो । सुरुमा बसपार्क पूर्ण रुपमा सञ्चालनमा आउन गाह्रो हुने भएकोले नियमित सञ्चालनको लागि सबैले सकरात्मक ढंगले सहयोग गर्नु पर्ने उहाँको भनाई थियो ।

धौलागिरि गण्डकी यातायात सेवा प्रालिका अध्यक्ष उमेश केसीले नयाँ ठाँउ बसपार्क सुरु गर्दा चुनौती हुन्छन तर यसको लागि समितिले प्रयत्न गरी रहेको र अब छिटटै बसपार्क पूर्ण रुपमा नियमित सञ्चालनमा आउने बताउनु भयो ।

चिप्लेटी बसपार्कबाट जिप, टाक्सी र पिकअप भ्यान चलाउन आग्रह गर्नु भयो ।

बागलुङ बसपार्कभित्र इभि गाडिहरुको लागि ठूलो लगानीमा चार्जिङ स्टेसन पनि निर्माण गरेकोले अब इभि गाडीहरुलाई धेरै सहज हुने केसीले बताउनु भयो ।

अहिले चलिरहेको बसपार्कमा साना सवारी राख्ने, दुवै बसपार्क समानुपातिक हिसाबले सञ्चालन गर्ने, बसपार्कभित्र चाहिने पूर्वाधार तत्काल बनाउन, मापदण्डभन्दा बाहिर बनेका संरचना भत्काएर सडक विस्तार गर्ने, बसपार्कमा जाने बाटो पक्कि बनाउन र जग्गा धनीलाई जग्गा फिर्ताको प्रक्रिया अगाडि बढाउन, ट्राफिक व्यवस्थालाई चुस्त बनाउन, स्कुल बसलाई व्यवस्थित गर्नु पर्ने लगायतका सुझावहरु सरोकारवालाले प्रस्तुत गरेका थिए ।

जग्गादाता हरिबहादुर जिसी सन्तोषले निशुल्क जग्गादान गरेको २३ वर्षसम्म पनि आफूहरुले फिर्ता नपाएकाले बसपार्कलाई नियमित संचालन गरेर जग्गा फिर्ता गर्न माग गर्नुभयो ।

कार्यक्रममा पत्रकारहरु मुकेशचन्द्र राजभण्डारी, किरण आचार्य, विजय राना, तारानाथ आचार्य, राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।

सबै सरोकारवालाको जिज्ञासाको जवाफ दिदै नगरप्रमुख बसन्त कुमार श्रेष्ठले बसपार्क सञ्चालनका लागि सबै सरोकारवालाहरुले सकरात्मक सहयोग गर्नु भएको बताउनु भयो ।

बसपार्कलाई दिगो रुपमा नियमित सञ्चालन गर्न राजनीतिक दल, पूर्वजनप्रतिनिधि, सञ्चार जगत, यातायात व्यवसायी, सुरक्षा निकाय, नागरिक समाज, सबै संघसंस्थाहरु, उपभोक्ता, जग्गाधनी र अन्य सबै निकायबाट राम्रो सल्लाह र सुझाव आएको उहाँको भनाई थियो ।

यसैको जगमा टेकेर नगरपालिकाले बसपार्क र चिप्लेटी बसपार्कलाई व्यवस्थित रुपमा सञ्चालन गर्न अगाडि बढ्ने बताउनु भयो ।

उहाँले बागलुङ बसपार्क बागलुबासीको साझा सपना भएको र यसबाट सबै वर्गले लाभ पाउने तथा जग्गादातासँग भएका सम्झौता पुरा गर्न आफू प्रतिवद्ध भएर लागेको बताउनु भयो ।

नगर उपप्रमुमुख राजु खड्काले बसपार्क सञ्चालनका लागि सबैको सल्लाह र सहयोग आवश्यक भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung